समाचार

कम्युनिस्ट अधिनायकवाद : देउवाले जस्केलामै देखे, प्रदीप गिरीले देखेनन् सर्पको मणि खोज्न हिड्ने कि प्रतिपक्षीय भूमिकामा खरो उत्रिने ?

प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरु ।

कम्युनिस्ट पार्टी सहित आफ्ना विरोधीलाई प्रतिबन्ध लगाएर सिंगो परिवार भ्रष्टाचारमा संलग्न भएपछि रेजा पलवी त सत्ताच्यूत भए,उनीसँगै इरानको राजतन्त्र पनि समाप्त भयो ।हेटौंडामा तीन दिन चलेको कांग्रेस जिल्ला सभापति भेलामा कालिकोटका सभापति हर्ष बमले पार्टी सभापति शेरबहादुर देउवाको तुलना इरानका अन्तिम राजा,तानाशाह मोहम्मद रेजा पलवीसँग गरे ।
तत्कालिन प्रजातन्त्र र हालको लोकतन्त्रका लागि जेलनेल सहेका देउवालाई इरानका अधिनायकवादी शासकसँग तुलना गर्नु कांग्रेस जिल्ला सभापतिको तत्कालिन गुनासो वा आक्रोशमात्र हुनसक्छ । तर पत्नी आरजुको बढ्दो प्रभावका कारण देउवा गुटमै समस्या आइरहेका बेला,देउवाले जस्केलोमै आइसक्यो भनेको कम्युनिस्ट अधिनायकवाद रोक्न कांग्रेेस समर्थ होला ? जिल्ला भेलाको माइन्युट नभएको निष्कर्ष यही हो ।
जस्केलाको अधिनायकवाद
प्रमुख विपक्षी नेपाली कांग्रेसले अधिनायकवाद आउँदैछ भनेको आज होइन, चुनावकै बेला हो । सम्वत ०७४ असोज १७ गते सिंगो देश दशैंको माहौलमा भुलिरहेका बेला केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले चुनावमा वाम गठबन्धन र चुनावपछि एउटै कम्युनिस्ट पार्टी बनाउने सहमति गरेका थिए ।

यो भन्दा चर्को अधिनायकवादको अभ्यास नेपाली कांग्रेसले पटक पटक आफ्नै पार्टीभित्र र देशबासीसँग गरिसकेको छ । दलहरुबाट हुने यस्ता अधिनायवादी अभ्याससँग नेपाली जनता अभ्यस्त भइसकेका छन् ।

आफ्नै नेतृत्वको सरकारमा प्रमुख साझेदार रहेको तत्कालीन माओवादी केन्द्रले छापामार शैलीमा तत्कालिन एमालेसँग गठबन्धन बनाएपछि देउवाको नाकमा अधिनायकवादको गन्ध आएको थियो । उनले आफ्नो सरकारका गृहमन्त्री जनार्दन शर्मालाई तत्कालै फोन गरेर सोधेका थिए-एमालेले दिएको भन्दा बढी सिट त मै दिन्थेँ नि, किन उता लाग्या ?
जनार्दन शर्मालाई वाम गठबन्धनका बारेमा तत्कालीन प्रधानमन्त्रीलाई बुझाउन निकै समस्या परेको थियो । जुनबेला ओली र प्रचण्ड मिले त्यसपछि देउवाले माओवादी मन्त्रीहरुलाई विनाविभागीय बनाएर अधिनायकवाद विरुद्धको पहिलो लडाइ शुरु गरेका थिए । चुनावमा मेचीदेखि महाकाली जहाँ पुगे देउवाले अधिनायकवाद आउँदैछ भनेर जनतालाई चेतावनी दिएकै हुन् ।
अहिले त देउवाले सिंहदरवारको जस्केलामै अधिनायकवादले खुट्टा घुसाएको झल्झल्ती देखिसकेका छन् ।
देउवाले देखे, प्रदीप गिरीले देखेनन्
देउवाले देखेको अधिनायकवाद सिंगो नेपाली कांग्रेसले त देखेन भने, भूइँमान्छेहरुले देख्ने कुरै भएन । चुनावकै एक सातअघि बस्तीपुरमा भेटिएका प्रदिप गिरीले यो पंक्तिकारसँगै भनेका थिए-ओली र प्रचण्डले अधिनायकवाद ल्याउन सक्दैनन् । यिनीहरुले कम्युनिस्ट अधिनायकत्व छाडिसके । शेरबहादुरजीले नबिक्ने एजेण्डा बोकेर हिँडेका छन् ।

शासन सञ्चालनका क्रममा आफू र आफ्नालाईमात्र फाइदा हुने तथा लोकको वास्ता नगर्ने प्रवृति नै अधिनायकवाद हो भने यो चाहिँ कांग्रेसको पालामा पनि भोगिएकै अभिशाप हो । यस्ता खाले अधिनायकवाद जनताको मतबाटै आवधिक निर्वाचनमार्फत परास्त हुन्छन् ।

प्रदीप गिरीले भनेजस्तै भयो, देउवाको अधिनायकवाद बिकेन । जनताले कांग्रेसलाई पराजित गरे र कम्युनिस्ट गठबन्धनलाई करिव दुई तिहाई बहुमतको भारी बोकाएर पठाए । कम्युनिस्टबाट अधिनायकवादको खतरा देखेका देउवाले सायद त्यही त्रासले होला चुनाव हारेको करिब चार महिनासम्म लोकतान्त्रिक सत्ता अधिनायकवादीलाई हस्तान्तरण गर्न चाहेनन् ।
जसरी अहिले कम्युनिस्ट पार्टीले संविधानको धारा टेकेर सभामुख र उपसभामुख दुबै दलविहीन भएकाले छाड्नुनपर्ने भनिरहेको छ, त्यस्तै धारा देउवाले समातेका थिए त्योबेला । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले फास्ट ट्रयाकबाट देउवाले समातेको धारा खोलिदिएपछि ओली प्रधानमन्त्री बने । जब कि कम्तिमा प्रजातन्त्र दिवस मनाएर मात्रै घर जाने देउवाको चाहना थियो ।
अधिनायकवादका काल्पनिक किस्ता
पछिल्लो समय अधिनायकवादको त्रास फेरि फैलिएको छ । संसदमा देउवादेखि कांग्रेसका प्रायः सांसदहरुले अधिनायकवाद आधा बाटोमा आइसकेको सुनाइरहेका छन् । एकजना मन्त्रीलाई प्रश्न सोधेको आरोपमा सरकारी टेलिभिजनको कार्यक्रम बन्द गरिएको भन्दै अधिनायकवादको पहिलो किस्ता प्राप्त भइसकेको आरोप कांग्रेसमात्र होइन, मूर्धन्य सम्पादकहरुले पनि लगाइसकेका छन् ।
सभामुख र उपसभामुखमध्ये एक पद छाड्न नमान्नु र कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिला सहभागिता नगराइनुलाई अधिनायकवादको दोस्रो किस्ता भनिँदैछ । ३३ प्रतिशत सहभागिता माग्ने महिला नेता र बजेटको बिरोध गर्ने सांसदलाई बोल्न रोक लगाएर अधिनायकवादको तेस्रो किस्ताको शुरुवात भएको आरोप पनि नेकपाको नेतृत्वमाथि लागेको छ ।
यदि माथि भनिएका किस्ताबन्दी आरोप नै अधिनायकवाद हुन् भने नेपाली जनताले धेरै डराउनुपर्दैन । यो भन्दा चर्को अधिनायकवादको अभ्यास नेपाली कांग्रेसले पटक पटक आफ्नै पार्टीभित्र र देशबासीसँग गरिसकेको छ । दलहरुबाट हुने यस्ता अधिनायवादी अभ्याससँग नेपाली जनता अभ्यस्त भइसकेका छन् ।
दलाल पुँजीवादले अधिनायकवाद स्वीकार्छ ?
के दुई तिहाई बहुमतसहितको शक्तिशाली कम्युनिस्ट सरकारले सर्वहारा वर्गको अधिनायकत्व नै स्थापना गर्छ ? यो प्रश्नचाहिँ महत्वपूर्ण हो । जुन कुरा नेपाल कम्युनिस्ट पार्टीको दस्तावेजले मात्र होइन, नेपाली कांग्रेसकै विद्वान नेताहरुले अस्वीकार गरिसकेका छन् ।

कम्युनिस्ट पार्टी र कम्युनिस्ट सरकारविरुद्ध जनतालाई संगठित गर्ने दर्जनौं एजेण्डा अलपत्र पारेर कांग्रेस अधिनायकवादको गन्ध सुँघ्दै हिँडेकोछ । यो भनेको सर्पको मणी खोजेजस्तै हो ।

व्यक्तिगत सम्पत्तिका लागि हुरुक्क हुने कम्युनिस्टहरुबाट सर्वहारा वर्गको अधिनायकत्व शुरु हुने कुरा कम्तिमा यो शताव्दीमा कल्पना गर्न पनि सकिन्न ।
कम्तीमा पनि केपी ओली र प्रचण्डले नेतृत्व गरेको कम्युनिस्ट पार्टीबाट अधिनायकवाद आउँदैन भन्नेमा देशको दुईतिहाइ जनमत ढुक्क छ । शासन सञ्चालनका क्रममा आफू र आफ्नालाईमात्र फाइदा हुने तथा लोकको वास्ता नगर्ने प्रवृति नै अधिनायकवाद हो भने यो चाहिँ कांग्रेसको पालामा पनि भोगिएकै अभिशाप हो । यस्ता खाले अधिनायकवाद जनताको मतबाटै आवधिक निर्वाचनमार्फत परास्त हुन्छन् ।
कांग्रेसलाई शंकाको सुविधा हुन सक्छ भनेर नै कांग्रेसले ‘क्याम्पेन’ गरेको हो । कांग्रेसआवद्ध विश्लेषक पुरन्जन आचार्यको शब्द सापट लिने हो भने सर्वहारा अधिनायकत्वको कुरा त बर्लिनको पर्खाल ढलेपछि, रुसमा लेनिन र स्टालिनका शालिक ढलेपछि, चीनले पूँजीवादलाई भित्र्याएपछि सिद्धिसकेको कुरा हो । कांग्रेसले बासी एजेण्डा बोकेर हिँडेको छ ।
आफू सत्ताबाहिर पुगेपछि साविकको प्रजातन्त्र र हालको लोकतन्त्र खतरामा परेको देख्ने कांग्रेसको परम्परागत समस्या हो । अहिले पनि कम्युनिस्ट सरकारले जनजीविकाका सन्दर्भमा अनुभूत हुनेखालका कुनै काम गर्न सकेको छैन । मूल्यवृद्धि र बेथिति जस्ता जनसरोकारका विषयले कांग्रेसलाई छुँदैन । जुन विषय उठाएर जनतालाई सचेत गराउनुपर्ने हो, त्यो छाडेर कांग्रेस नेतृत्व अधिनायकवादको डंका पिट्दैछ ।
अधिनायकवाद कि सर्पको मणि ?
जनताले कम्युनिस्ट सरकारबाट कुशासन र भ्रष्टाचारजन्य कार्य भइरहेका छन् भन्दा पत्याउँछन् तर अधिनायवाद आउँदैछ भन्ने कुरा पत्याउँदैनन् । लोकतन्त्रमा अभ्यस्त भइसकेको नेपाली युवा पुस्ताले बोक्ने खालको नारा दिन नसक्नु फेरि पनि कांग्रेस नेतृत्वको कमजोरी हो ।
कम्युनिस्ट पार्टी र कम्युनिस्ट सरकारविरुद्ध जनतालाई संगठित गर्ने दर्जनौं एजेण्डा अलपत्र पारेर कांग्रेस अधिनायकवादको गन्ध सुँघ्दै हिँडेकोछ । यो भनेको सर्पको मणी खोजेजस्तै हो ।

दलाल पुँजीवादका पृष्ठपोषक र अगुवाहरु कम्युनिस्ट पार्टीमा बग्रेल्ती छन् । दलाल पुँजीवादले अधिनायकवाद स्वीकार गर्दैन । अहिले कम्युनिस्ट पार्टीका नेताहरु जुनखाले दलाल पुँजीवादको संरक्षकजस्ता बनेका छन्, त्यसले पनि यिनको नेतृत्वमा कम्युनिस्ट अधिनायकवाद सम्भव छैन ।

कम्युनिस्ट पार्टीका शीर्षनेताहरुको वरिपरि ठूलाठूला बिचौलियाहरुको घेरा छ । दलाल पुँजीवादका पृष्ठपोषक र अगुवाहरु कम्युनिस्ट पार्टीमा बग्रेल्ती छन् । दलाल पुँजीवादले अधिनायकवाद स्वीकार गर्दैन । अहिले कम्युनिस्ट पार्टीका नेताहरु जुनखाले दलाल पुँजीवादको संरक्षकजस्ता बनेका छन्, त्यसले पनि यिनको नेतृत्वमा कम्युनिस्ट अधिनायकवाद सम्भव छैन ।
कांग्रेससँग कम्युनिस्ट सरकारको आलोचना गर्ने र भण्डाफोर गर्ने बग्रेल्ती विषय छन् । कम्युनिस्ट पार्टीका मन्त्रीले परिणाममुखी काम भन्दा प्रचारमुखी स्टन्टबाजी गरिरहेका छन् । आम मान्छेको जीवनमा परिवर्तन हुनेखालका कुनै पनि काम भएका छैनन् । यस्ता धेरै आरोप लगाउन सकिन्छ, तर कांग्रेस यी सबै छाडेर एउटा टीभी कार्यक्रम बन्द भएपछि अधिनायकवाद आयो भन्दै हिँडेको छ ।
यसरी अधिनायकवाद आउँछ ?
आफू अनुकुल फैसला नगरेवापत सर्वोच्च अदालतका प्रधानन्यायाधीशमाथि महाअभियोग लगाएर सिंगो न्यायालय तर्साउँदा नआएको अधिनायकवाद, सरकारी टेलिभिजनको एउटा कार्यक्रम हटाउँदैमा आउँदैन । कांग्रेसले समातेको अधिनायकवादको यो त्यान्द्रो पनि कमजोर देखियो ।
असाध्यै प्राविधिक विषयमा मन्त्रीलाई बकपत्र गराउने शैलीमा मन्त्रीकै भाषामा ‘नियोजित’ हिसाबले गरिएको प्रश्नलाई जसरी सामना गर्नुपथ्र्यो, त्यसमा बहस गर्न सकिन्छ । तर, हिजो मिनेन्द्र रिजालले सोही कार्यक्रम बन्द गराउँदा नआएको अधिनायवाद आज गोकुल बास्कोटाले बन्द गर्दा आउँदैन ।

नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व र कार्यकर्ता पंक्तिले लोकतन्त्रलाई आफ्नो जीवनपद्दति बनाइसकेको छ । अहिले पनि कांग्रेसमा शेरबहादुर देउवाले अधिनायकवादको जति अभ्यास गर्न सक्छ्न, नेपाल कम्युनिस्ट पार्टीमा ओली र प्रचण्डले त्यति पनि सक्दैनन् ।

के हो अधिनायकवाद ?
अधिनायकवाद भनेको बलपूर्वक सत्ता प्राप्ति हो । अधिनायकवादमा राजनीतिक शक्ति र सम्प्रभुता व्यक्तिमा निहीत हुन्छ । विधि विधानबाट होइन, व्यक्तिको आदेशबाट चल्ने शासन अधिनायकवाद हो । प्राचीन रोमन साम्राज्यबाट शुरु भएको अधिनायकवादको अभ्यास आधुनिक विश्वमा नभएको होइन । तर, नेपालको सन्दर्भमा कम्तिमा अहिलेका कम्युनिस्ट पार्टीबाट न त उत्तर कोरियाको जस्तो अधिनायकवाद सम्भव छ, न त चीनको जस्तो पनि ।
यदि केपी ओली वा प्रचण्डले अधिनायवादको अभ्यास मात्रै गर्न खोजे भने पनि सबैभन्दा पहिले त्यसको प्रतिरोध नेपाल कम्युनिस्ट पार्टीभित्रैबाट हुनेछ ।नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व र कार्यकर्ता पंक्तिले लोकतन्त्रलाई आफ्नो जीवनपद्दति बनाइसकेको छ । अहिले पनि कांग्रेसमा शेरबहादुर देउवाले अधिनायकवादको जति अभ्यास गर्न सक्छ्न, नेपाल कम्युनिस्ट पार्टीमा ओली र प्रचण्डले त्यति पनि सक्दैनन् ।
देउवामाथि कांग्रेस केन्द्रीय कार्य समिति बैठकमा अधिनायकवादी बनेको आरोप लाग्यो । डा. शेखर कोइरालाले सार्वजनिक रुपमा पनि भनिरहेका छन् । तर, आम जनताले यस्ता खाले अधिनायकवादलाई बेवास्ता गरेको धेरै वर्ष भइसकेको छ । त्यसैले कम्तीमा ५ वर्षका लागि विपक्षमा पुगेको कांग्रेसले अधिनायकवादको चिन्ता छाडेर सुशासन र जनजिविकामा खबरदारी गरे हुन्थ्यो ।
किनकी अधिनायकवादलाई रोक्ने क्षमता कम्युनिस्ट पार्टीकै नेता कार्यकर्ताले राख्छन् ।

२०७५ असार ७ गते १३:०९ मा प्रकाशित (२०७५ असार ८ गते १६:०४मा अद्यावधिक गरिएको)

nema
Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button