समाचार
आज धान दिवस मनाइदै
१५ आषाढ, काठमाडौैँ÷आज राष्ट्रिय धान दिवस, देशैभर मनाइदैछ । ‘मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिन धान दिवससँगै रोपाई जात्राका रुपमा मनाउने गरिन्छ । नेपालमा २०६२ सालदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउन थालिएको हो । आजको दिन खेतमा धान रोपाइसँगै आपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने तथा दही चिउरा खाने गरिन्छ । कामको चटारोले थकित भएका किसानलाई दही र चिउराले शक्ति र शीतलता प्राप्त हुने विश्वास छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसाय रहेकाहरुले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् ।
