राजनीतिक केन्द्रबिन्दूबाट बाहिरियो कांग्रेस
नेपालको लोकतान्त्रिक इतिहासमा सबैभन्दा पुरानो पार्टी भए पनि बीपी कोइराला पुस्तापछि दोस्रो र तेस्रो पुस्ताको छवि पछिल्लो पुस्ताले बचाउन नसकेको निष्कर्ष निकाल्दा अनुपयुक्त नहोला ।
बीपी कोइराला, गणेशमान सिंह, सुवर्ण शम्शेर राणा, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र शुशील कोइराला हुँदै शेरबहादुर देउवाको हातसम्म नेतृत्व आउँदा कांग्रेसको अवस्था झन नाजुक भएको देखिन्छ । वीपी कोइरालाको छुट्टै उचाइ भएका कारण त्यसबेला कांग्रेसको इज्जत विश्व मानचित्रमा बेग्लै थियो । तर, पछिल्ला कालखण्डमा कांग्रेसले कम्युनिष्टहरु फुटाउ र राज गर भन्ने रणनीतिलाई अवलम्वन गरेका कारण कांग्रेसले आफूलाई दीर्घकालका लागि मुलुकको लोकतान्त्रिक शक्ति निर्माण गर्न सकेन ।
१३ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि सभापति शेरबहादुर देउवा आफू शक्तिशाली त भए । तर, न पार्टीलाई बलियो बनाउन सके न जनताका माझ आफ्नो छविलाई स्वच्छ बनाउन सके । यो प्रश्न हरेक नेपालीले सभापति देउवासँग प्रश्न गर्ने गरेका छन् ।
अर्कातिर कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल सभापति देउवाको विरोध गर्ने बाहेक राजनीतिक निर्णय र कार्यान्वयन गर्न नसक्ने नेताका रुपमा देखिएका छन् । कांग्रेसका ७७ जिल्लाका जिल्ला सभापतिहरुको भर्खरै सम्पन्न भेलामा सभापति देउवाको बिरोध नगर्ने बताए पनि उनले सभापति देउवाको विरोध गर्न नछाडेको पौडेल निकट नेताहकै ठम्याइ छ ।
सभापति देउवा पक्ष र पौडेल पक्ष दुबै कांग्रेस बलियो बनाउने भन्दा पनि आफ्नो गुट बलियो बनाउने ध्याउन्नमा रहेको उनीहरुको दैनिक भएका राजनीतिक क्रियाकलापले प्रमाणित गर्छ । सभापति देउवाले कांग्रेसको उपसभापति, महामन्त्री तथा सहमहामन्त्रीमा क्रमसः बिमलेन्द्र निधि, पूर्णबहादुर खड्का र डा.प्रकाशशरण महतलाई नियुक्त गरेका छन् । सभापतिमा निर्बाचित भएको दुई बर्षपछि देउवाले उनीहरुलाई पदाधिकारीमा नियुक्त गरेका हुन् । कांग्रेस केन्द्रीय सदस्यमा लगभग सभापति देउवाले मनोनित गरिसके पनि पार्टीको महत्वपूर्ण देखिने विभागहरु अझै गठन गरेका छैनन् ।
सभापति देउवाको कार्यकाल झण्डै २० महिना बाँकी छ । यसको मतलब कांग्रेस १४ औं महाधिवेशन आउन २० महिना बाँकी भए पनि उनले पार्टीलाई पूर्णता दिन नसक्नु सभापति देउवाको असक्षमता हो । सभापति देउवाले विगतमा गिरिजाप्रसाद कोइराला र शुशील कोइराला सभापति हुँदा संस्थापनसँग पार्टीभित्र प्रतिपक्षको भूमिका खेलेर वा संस्थापन पक्षको कृयाकलापको बिरोध गरेर पार्टीका दैनिक कार्यसञ्चालनसमेत गर्न नदिएको इतिहास ताजै छ ।
१३ औं महाधिवेशनमा देउवालाई ज्यान दिएर सभापति जिताउन सघाउने कृष्ण प्रसाद सिटौला, कुलबहादुर गुरुङ, अर्जुन नरसिंह केसीलगायतका केही समूहलाई सभापति देउवाले धोका दिइसकेका छन् ।
तर, पछिल्लो समयमा उनी पार्टी सभापति वा कांग्रेसका हजारौं कार्यकर्ताहरुको अभिभावक भए पनि बहुसंख्यक नेता कार्यकर्ताहरुको चित्त बुझाउन सकेका छैनन् । कांग्रेसको भातृसंस्था नेबिसंघले प्रभाबकारी भूमिका खेल्न सकेको छैन भने तण दलको पोखरा महाधिवेशन भएको बर्ष दिन बित्दा पनि कमिटीले अझै पूर्णता पाएको छैन ।
अर्कोतिर १३ औं महाधिवेशनमा देउवालाई ज्यान दिएर सभापति जिताउन सघाउने कृष्ण प्रसाद सिटौला, कुलबहादुर गुरुङ, अर्जुन नरसिंह केसीलगायतका केही समूहलाई सभापति देउवाले धोका दिइसकेका छन् । उनीहरु पछिल्लो समयमा १४ अाैं महाधिवेशनमा कुनै पनि हालतमा देउवालाई सभापति बनाउन नहुने रणनीतिमा लागेका छन् ।
रामचन्द्र पौडेलको पक्षबाट १३ औं महाधिवेशनमा महामन्त्री हात पारे पनि महामानव बीपी कोइरालाका कान्छा सुपुत्र डा. शशांक कोइराला पछिल्लो समय कुनै पनि गुटमा देखिएका छैनन् । पौडेल पक्षले देउवा गुटमा लागेको आरोप लगाएको छ भने डा. कोइरालाले यसको उत्तर दिएका छैनन् । उनी पौडेल पक्षका महत्वपूर्ण बैठकहरुमा सहभागी भने भइरहेका छन् ।
पहिले शुशील कोइराला पक्षमा लागेर राजनीतिक उचाइ बनाएका कृष्ण प्रसाद सिटौला र अर्जुननरसिंह केसी कोईरालाको निधनपश्चात १३ आँैं महाधिवेशनबाट उक्त समूहमा रहेका थिएनन् । केसी आफैं देउवा समूहबाट महामन्त्रीमा निर्वाचन लडेका थिए भने सिटौलाले गगन थापा र उमाकान्त चौधरी लगायतलाई समावेश गरी आफ्नै समूह बनाएर सभापतिमा निर्वाचन लडेका थिए ।
कांग्रेस को सिद्धान्त, वीपी कोइरालाको समाजवादलाई लत्याएर एकअर्काप्रतिको इगोलाई ध्यान दिई पार्टीलाई भद्रगोल बनाएकोमा कांग्रेसका इमान्दार नेता कार्यकर्ता चिन्तित छन् । तर, पार्टी यो अवस्था आउँदा समेत नेताहरु चिन्तित नभएकोमा नेताहरुसँग उनीहरु आक्रोशित छन् ।
अन्तराष्ट्रिय समुदायले समेत विश्वास गरेको पार्टी कांग्रेस भएपनि पछिल्लो समयमा कांग्रेससँग भारत, चीन, अमेरिका लगायतका मुलुकहरु सशंकित देखिएको राजनीतिक वृत्तमा चर्चा सुनिन्छ ।
संसदमा कांग्रेसको आवाज मलीन हुनुमात्र नभएर सडकमा कांग्रेसले सरकारको गलत कृयाकलापको बिरोध गर्न सकेको छैन । पेट्रोलियम पदार्थको मूल्यवृद्धि ५ पटक हुँदासमेत कांग्रेसका भातृसंस्थाले गरेको सडक बिरोधले प्रभावकारी भूमिका खेल्न सकेन । मूल्यवृद्धिमा कुनै जनता पनि सहमत नभए पनि त्यसको भावनात्मक जनताको समर्थन कांग्रेले लिन सकेन । यो त एउटा उदाहरण मात्र हो ।
१० बर्षे सशस्त्र जनयुद्ध गरेर शान्तिपूर्ण राजनीतिमा आएको माओवादी र शान्तिपूर्ण राजनीतिलाई विश्वास गरेर राजनीतिक उचाई बनाएको नेकपा एमाले लगायतका कम्युनिष्ट पार्टीहरु एक भएर नेपाल कम्युनिष्ट पार्टी बनेको छ । कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमात्रै नभएर शक्तिशाली प्रधानमन्त्री देखिएका छन् । विदेशी हस्तक्षेपबिना मुलुकका ठूला निर्णयहरु नहुने हल्ला सुनिने मुलुक नेपालमा यति ठूला कम्युनिष्ट पार्टीहरु एकीकरण हुनुलाई विदेशी हस्तक्षेप भन्नु खासै विज्ञान सम्मत अभिव्यक्ति होइन ।
यी सबै कुराहरुलाई दृष्टिगत गर्दै कांग्रेसले कम्युनिष्टहरुको एकतालाई अवसरका रुपमा लिई चाकरी, चाप्लुसी गर्ने कार्यकर्तालाई भन्दा ईमान्दार, नेतृत्व क्षमता भएको लोकतन्त्रको अर्थ बुझेका युवालाई नेतृत्वमा ल्याउने परम्पराको बिकास गरे कांग्रेसको भविश्य नभएको होइन ।
तर, कांग्रेसले पार्टी बलियो बनाउने दीर्घकालीन बाटो नखोजे ०१५ सालमा बहुमत प्राप्त पार्टीले पुनः साख जोगाउन झण्डै ३५ बर्ष कुर्नुपरेको र ०४६/४७ पछि ११४ को भारी बहुमत ल्याउदा तत्कालीन नेतृत्वले बुद्धि नपुर्याउँदा ठूलो पार्टी बन्न पुनः ०७० साल पर्खनुपरेको इतिहासलाई हेर्न जरुरी देखिन्छ ।
(आचार्य तरुण दलका नेता हुन् )
२०७५ असार १९ गते १५:५७ मा प्रकाशित
साभार अनलाषन खवर