२०७५ असोज ३० गते

काठमाडौं । गोरखाबाट ल्याइएको दडादशैंको फूलपाती पञ्चबाजा र सैनिक वैण्ड बाजासहित विशेष उत्सवका साथ हर्षबढाईं गर्दै हनुमानढोका दरबारमा भित्र्याइएको छ ।
गोरखा दरबारबाट विहानै फूलपाती पठाइएको थियो । दरबारबाट बोकेर ल्याइएको फूलपाती सतीपिपलको फूलपाती चौताराबाट जिपमा राखेर काठमाडौं पठाइएको थियो ।
उखु, अदुवा, तथा केराको बोट, धानको वाला, वेलपत्र, दारिम, हलेदो, अशोकको पातसहित फलफूल र अन्य पालुवासमेतको फूलपातीलाई धादिङको जीवनपुरबाट बोकेर जमल ल्याइएको थियो ।
फूलपातीलाई डोलीमा राखेर गुरुजुको पल्टन, पञ्चेबाजा, मंगलसेनी, कलसेनी, हवलाको सामान (चन्द्र, सूर्य, घण्टा र चामर बोकेको टोली), ब्याण्डबाजा, समरजंगको टोली र नेपाली सेनाको पल्टनले हनुमान ढोकादरबार पुर्याएको थियो ।
मूलचोक पुगेपछि फूलपातीलाई कुभिन्डो र बोका बलिसहित पूजा गरिसकेपछि दशैंघरमा राखिएको थियो ।
