समाचारविचारनेपाली कांग्रेस

चक्र बाँस्तोलालाई कसरी बुझ्ने ?

विनोदकुमार भट्टराई
नेपाली कांग्रेसका नेता चक्रप्रसाद बाँस्तोलाको सक्रिय राजनीतिक यात्रा १४ पुस २०६९ सम्म रह्यो। जतिबेला उनी विराटनगरको एउटा सार्वजनिक कार्यक्रममा अचानक मस्तिष्कघातबाट अचेत भएर ढले। त्यतिखेर उनी ६४ वर्षका थिए। त्यसपछिका पाँच वर्ष उनी अचेतावस्थामा नै रहे र २७ असोज २०७४ को राति उनले अन्तिम श्वास लिए।
ओछ्यानमा अचेतावस्थामा रहे पनि जोकोहीले हेर्दा उनी स्वस्थ स्थितिमा सुतिरहेको भान हुन्थ्यो। बेलाबेलामा उनी अर्धचेतनको लक्षण पनि देखाउने गर्थे, अनवरत सेवामा जुटेकी पत्नी कुसुमले पनि अर्धचेतनबाट अवचेतन स्थितितिर फर्कने हुन् कि भन्ने आशा पाँच वर्षसम्म नै गरिरहिन्।
चक्र नेपाली कांग्रेसमा अहिले नेतृत्व तहमा रहेका कुनै पनि समकालीन नेताहरूभन्दा फरक थिए। चक्रजीसँग कुरा गर्नुपर्दा ती नेताहरू हच्किन्थे। उनको अगाडि बौद्धिक रूपमा आफूलाई निकै होचो सम्झन्थे, लघुताभास देखिन्थ्यो उनीहरूका हाउभाउमा। चक्रजी नेताहरूको इच्छालाई आदेश मान्ने कार्यकर्ताको भीडभन्दा बेग्लै हिँड्न सक्ने सामथ्र्य राख्दथे, तर पार्टीको आधिकारिक निर्णयको अवज्ञा पनि गर्दैनथे।
अर्थ–राजनीतिका नयाँनयाँ प्रयोगबारे खोजमूलक चासो राख्ने, विचारमूलक पुस्तकहरू खोजीखोजी पढ्ने र तिनीहरूका गाँठी कुराका बारेमा विभिन्न दृष्टिकोणबाट छलफल चलाउन खप्पिस थिए। राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको सूक्ष्म मूल्यांकन गरेर आफ्नो राय निर्धारण गर्दथे, आफ्नो विचार तर्कपूर्ण ढंगबाट अकाट्य हुने गरी गणेशमानजी, कृष्णप्रसाद भट्टराई ९किसुनजी० र गिरिजाप्रसाद कोइरालासमक्ष राख्ने क्षमता राख्थे। यी नेताहरूले पनि पार्टीका बारेमा कुनै निर्णय गर्नुभन्दा पहिले चक्रजीका विश्लेषण र निष्कर्षलाई विशेष ध्यान दिने गर्दथे।
पंक्तिकारले चक्रजीको बारेमा २०३० सालमा भएको आरएनएसीको विमान अपहरण काण्डका नायकमध्ये २८ वर्षका उनी पनि एक थिए भन्ने त्यतिखेरका समाचारबाट थाहा पाएको थियो। त्यतिखेर उनी बनारसमा स्वनिर्वासनमा रहेका नेपाली कांग्रेसका शीर्षनेता बीपी कोइरालाको सान्निध्यमा थिए र २०३६ सालको जनमत संग्रह घोषणापछिको आममाफीपछि मात्रै स्वदेश फर्के।
चक्रजीसँग पंक्तिकारको प्रत्यक्ष भेट २०४३ जेठतिर कृषि विकास बैंकको साना किसान विकास कार्यक्रमको नीति तथा कार्यान्वयन शाखामा भएको थियो। चक्रजी कार्यक्रमका बारेमा खोजीनीति गर्दै त्यहाँ आइपुग्दा उक्त शाखाको प्रमुख रहेको पंक्तिकारसँग जम्काभेट भएको थियो। गरिब किसानहरूको सानोसानो समूह बनाएर कुनै धितो नलिएर सदस्यहरूकै सामूहिक जमानीमा समूह सदस्यहरूलाई नै पालैपालो उत्पादनमूलक ऋण उपलब्ध गराउने साना किसान विकास कार्यक्रमको प्रक्रियाबाट उनी निकै प्रभावित भएका थिए।
यसलाई गरिबी निवारणका लागि उपलब्धिमूलक नयाँनयाँ प्रयोग गर्न सकिने भरपर्दो प्रक्रिया हुन सक्ने ठोकुवा गरेका थिए। पछि उनीसँग बेलामौकामा भेट भइरहन्थ्यो र अर्थराजनीतिका समसामयिक विषयहरूमा गफ केन्द्रित हुने गर्दथे। २०४८ सालमा पंक्तिकार स्थानीय विकास मन्त्रालयमा सल्लाहकारका रूपमा कार्यरत रहँदा तर्जुमा हुन लागेको नगरपालिका, गाउँ र जिल्ला विकास समिति ऐनहरूमा ती स्थानीय निकायहरूलाई बढीभन्दा बढी अधिकार विकेन्द्रित हुने गरी निर्माण गरिनुपर्ने धारणा चक्रजीले सख्तरूपमा तत्कालीन स्थानीय विकासमन्त्रीसमक्ष राखेका थिए।
यसै प्रसंगमा उनले पंक्तिकारलाई, सक्षम भएसम्म तल्लो निकायलाई नै निर्णय र कार्यान्वयनको स्वायत्तता दिनुपर्छ भन्ने विकेन्द्रीकरणको मूल सिद्धान्तका व्यख्याता डोनाल्ड कर्टिसद्वारा लिखित ‘बियोन्ड दि गभर्नमेन्ट’ र डेबिड ओसबोर्न र टेड ग्याब्लरद्वारा लिखित ‘रिइन्भेन्टिङ गभर्नमेन्ट’ नामक दुई पुस्तक उपलब्ध गराएका थिए।
भारतका लागि नेपाली राजदूत भएका बेला गिरिजाप्रसाद कोइरालाको प्रथम मन्त्रिमण्डलका गृहमन्त्रीको नेतृत्वमा भुटानी शरणार्थी समस्या समाधानका लागि भुटान गएको शक्तिशाली टोली नेतृत्वले वार्ताक्रममा भुटानी समकक्षीसमक्ष प्रदर्शन गरेको अयोग्यताको उनले सार्वजनिक रूपमा नै कटु आलोचना गरेका थिए। नेपाल पस्न बाध्य बनाइएका भुटानी शरणार्थीहरूको वर्गीकरण गर्नुपर्ने भुटान सरकारको प्रस्तावलाई भावी परिणामको आकलन नै नगरी उक्त टोली नेतृत्वले सीधै स्वीकार गरिदिएकोमा उनको चर्को आपत्ति थियो।
भारतका लागि छोटो अवधिसम्म मात्रै राजदूत रहे पनि चक्रजीले परम्पराभन्दा बेग्लै रहेर दुवै देशको सम्बन्धलाई जनस्तरमा बढी सुदृढ बनाउनुपर्ने कार्यलाई प्राथमिकतामा राखेर कार्य गरे। यसका लागि उनले ‘बीपी कोइराला इन्डिया नेपाल फाउन्डेसन’ को स्थापनामा प्रमुख भूमिका खेले। भारत र नेपालका राजनीतिक दलका दोस्रो तेस्रो तहका नेताहरूका बीचमा आपसी भेटघाट, छलफल र अन्तरक्रियाको नौलो चरणको सुरुवात गराए। नेपाल सरकार तथा राजनीतिक दलहरूले भारतको केन्द्रीय सरकार वा दलहरूसँग मात्रै नभई नेपालको सीमासँग जोडिएका भारतका प्रादेशिक सरकार र प्रादेशिक नेताहरूसँग पनि सम्बन्ध बलियो बनाउनुपर्ने धारणासहित यसका लागि पहल प्रारम्भ गरेका थिए।
विजयी कृष्णप्रसाद भट्टराईभन्दा पराजित कृष्णप्रसाद भट्टराई तपाईंका लागि बढी खतरा हुनेछन् गिरिजाबाबु’ भन्ने चक्रजी, सनैसनै गिरिजाप्रसादको घेरामण्डलीभन्दा बाहिर एक्लो बृहस्पति हुन पुगे।
२०५० सालमा भएको काठमाडौं क्षेत्र नं १ को उपचुनावमा किसुनजीलाई उम्मेदवार बनाउने कुराको प्रारम्भमा उनी विपक्षमा थिए। बनारसमा रहँदा गिरिजाप्रसादको चिचिभुँडी पूर्णतया बुझेका चक्रजीले किसुनजीको उम्मेदवारीले पार्टीमा हुन्डरी भित्र्याउने आशंका गरेका थिए। तर कोइरालासहितको पार्टीको केन्द्रीय समितिले नै आफ्नै सभापति किसुनजीलाई उम्मेदवार बनाउने निर्णय गरेपछि भने उनी किसुनजीलाई जिताउने पक्षमा खडा भए।
शैलजा आचार्यले पनि चक्रजीको यो निर्णयको पूर्ण समर्थन गरिन्। उपचुनावमा विजयी भएमा किसुनजीलाई आफ्नो प्रधानमन्त्रीत्वका लागि ठूलो खतरा देखेका गिरिजाप्रसादलाई उन्ले उपचुनावमा किसुनजीलाई हराउनका लागि पार्टीभित्रैबाट अन्तर्घात नगर्न दिल्लीमा राजदूत पदमा रहे पनि पटकपटक अनुरोध गरे। ‘विजयी कृष्णप्रसाद भट्टराईभन्दा पराजित कृष्णप्रसाद भट्टराई तपाईंका लागि बढी खतरा हुनेछन् गिरिजाबाबु’ भन्ने चक्रजी, सनैसनै गिरिजाप्रसादको घेरामण्डलीभन्दा बाहिर एक्लो बृहस्पति हुन पुगे।
चक्रजीको आशंका सही सावित भयो, पार्टीभित्रैबाट घोर अन्तर्घात गरेर किसुनजीलाई हराउन त हराइयो, तर पार्टीमा अन्तरघातको ९कु०संस्कार पनि ‘संस्थागत’ हुन पुग्यो। आफ्नंै पार्टी सभापतिलाई अन्तरघात गरी हराएपछि पार्टीमा हुन्डरीको शृंखला नै सुरु भयो। पार्टीको केन्द्रीय समिति वा शीर्षस्थ नेताहरू कसैसँग पनि कुनै सल्लाह नै नगरी प्रधानमन्त्री पनि भएका गिरिजाप्रसादले अचानक संसद् भंग गराई २०५१ कात्तिकमा मध्यावधि निर्वाचनको घोषणा गराए। गिरिजाप्रसादको निरंकुश कार्यशैलीबाट असन्तुष्ट भएका गणेशमानजीले पार्टी नै त्याग गर्नुपर्ने परिस्थिति सिर्जना हुन पुग्यो।
पार्टी परित्याग गरेपछि गणेशमानजीले जनजागरण अभियान नै सुरु गरे र नेपाली कांग्रेसका गिरिजाप्रसादनिकटका उम्मेदवारविरुद्ध प्रचार अभियानका साथै मध्यावधि आमनिर्वाचनमा आफ्ना बेग्लै उम्मेदवार खडा गरे। परिणामतः कांग्रेसले आफ्नो बहुमत गुमायो। एमाले सबैभन्दा ठूलो पार्टीको रूपमा विजयी भयो। कुनै पनि पार्टीको स्पष्ट बहुमत नआएपछि संसद त्रिशंकु हुन पुग्यो। २०५१ को मध्यावधिपछिको पाँच वर्षभित्र एकपछि अर्को गर्दै नेपालमा पाँचवटा सरकारहरू बने। नेपालको संसदीय व्यवस्थालाई अत्यन्त निकृष्ट र लज्जाजनक ढंगबाट सञ्चालन गरे यस अवधिका केही सरकार प्रमुखहरूले।
त्रिशंकु संसदमा सांसदहरूको समर्थनका लागि उनीहरूलाई होटेलहरूमा राख्नेदेखि, बैंककसम्म पनि पुर्‍याएर सुरा र सुन्दरीको छेलोखेलो गराउने, व्यापक सुन तस्करी, सांसदहरूको खरिदबिक्री, सांसदहरूलाई भन्सार र बिक्रीकर छुट गरी प्राडो र पोजेरो खरिदको सुविधा उपलब्ध गराई राजनीतिलाई ठेकेदार–व्यापारीको चंगुलमा पुर्‍याएर भ्रष्टाचारको नयाँ ‘पजेरो संस्कृति’ को प्रारम्भ त्यही बेला भयो।
राजनीतिक अस्थिरताले जन्माएको यस्तो फोहोरी शृंखलाको मूल जरोमा किसुनजीमाथि उपचुनावमा आफ्नै पार्टीबाट भएको अन्तरघात, कांग्रेस सभापति एवं प्रधानमन्त्री गिरिजाप्रसादद्वारा संसदमा पार्टीको बहुमत हुँदाहुँदै पनि हठात भएको संसद भंग र नयाँ निर्वाचनको घोषणा र गणेशमानजीको पार्टी परित्याग थियो। यी सबैबाट अवाक भएका नेपाली जनताले २०५६ सालको संसदीय आमनिर्वाचनमा गिरिजाप्रसादलाई नै पुनः प्रधानमन्त्री बनाउने गरी कांग्रेसलाई पुनः बहुमत दिने सम्भावना विल्कुलै थिएन।
यही बिन्दुको पहिचान गर्दै चक्र बाँस्तोलाले नयाँ भूमिका निर्वाह गरे, कांग्रेसका अहिलेका नेतृत्वपंक्तिमा रहेका नेताहरूभन्दा उनी एक कदम फेरि अगाडि नै रहेको प्रमाणित गरे। नेपाली जनताले कृष्णप्रसाद भट्टराईलाई उनको बेदाग छवि र विगतका उपलब्धिका कारण विश्वास र भरोसा गर्छन् भन्ने जनअनुभूति बुझेका चक्रजीले यही चेतलाई भजाएर मात्रै कांग्रेसलाई आमनिर्वाचनबाट पुनर्जागृत गराउन सकिन्छ भन्ने बुझेका थिए।
आफूले बुझेको यो कुरा गिरिजाप्रसादलाई पनि बुझाउन सक्ने क्षमता चक्रजीमा मात्रै थियो। चक्रजी यस कार्यमा सफल भए र गिरिजाप्रसादलाई निर्वाचनपछिको देशको प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई हुने कुराको घोषणा गर्न लगाए। नभन्दै किसुनजीकै नाममा पार्टीलाई २०५६ को आमनिर्वाचनमा पूर्ण बहुमत प्राप्त भयो, किसुनजी नै प्रधानमन्त्री पनि भए।
पार्टीभित्र सधैं नयाँ विचारसहित विकल्पको खोजीमा रहने चक्रजीले २०६७ असोजमा भएको पार्टीको बाह्रौं महाधिवेशनमा सुशील कोइराला र शेरबहादुर देउवाका सनातनी धारको विपरीत वैकल्पिक नयाँ धारको वकालत गरे र पार्टीका इमानदार नेता भीमबहादुर तामाङका पक्षमा आफूलाई उभ्याए। सनातनी धारबाट एक्काईसौं शताब्दीको नयाँ पुस्तामा पार्टीलाई पुस्तान्तरण गर्न सकिँदैन भन्ने दृढता बोकेका चक्रजी दुई वर्षपछि मस्तिष्कघातबाट सधैंका लागि अचेत नै भए। र, गए पनि।
अन्नपूर्णपोष्टबाट साभार

nema
Show More

Related Articles

Check Also
Close
Back to top button