breakingसमाचार

‘सात सालदेखि कांग्रेसको चारतारे झण्डा बोक्नेले के पायो, के पाएन ?’

काठमाडाैं । म एउटा कार्यक्रममा गएको बेला एकजना मानिस आएर भने- ‘बुझ्नुभयो केबी सर, मसँग सात सालको नेपाली कांग्रेसको चारतारे झण्डा छ । म त्यसलाई सधैं-सधैं पल्टाएर हेर्छु, अनि पट्याएर राख्छु नि !’  उनकाे कुरा सुनेर म बोल्न सकिन,  मेरो आखाबाट आसु आयो ।
मनमनै साेचेँ, त्यो सात सालको झण्डा उसले किन राखेको  छ ? उसले के पाउँछ ? अहिलेसम्म  के पायो ? अब के पाउँछ ? के हेर्दै राख्छ ?
सामान्य-सामान्य कार्यकर्ताको  झण्डाप्रति कति माया छ ।
अनि मन्थन गरेँ, त्यसले के ल्याएन ?
यो देशमा प्रजातन्त्र/लोकतन्त्र ल्यायो ।
हामीलाई दासत्वबाट मुक्त गरायो । रैतीबाट हामीलाई नागरिक बनायो ।
त्यसैले म विपीलाई सम्झिरहन्छु । उनले भनेका थिए कांग्रेस सकिदैन । ‘एउटा कांग्रेसले नै  कयाैँ कांग्रेस जन्माउँछ ।’
तर अब हामीले आत्ममूल्याँकन गर्ने भएको छ । पार्टीको सिद्धान्त, दर्शन, मूल्य मान्यता र आदर्शहरुलाई कति पालना गरेका छौं । कति हामीले ब्याख्या गरेर भनेका छौं त । सुनेका छौं, सुनाएका छौं ।
कांग्रेसप्रतिको माया जनतामा छ कि छैन ?
छ ।
एउटा बुझेको कार्यकर्ताले भन्छ- ‘मेराे बाजे कांग्रेस, बाउ कांग्रेस, र म पनि कांग्रस ।’
तर ऊ छाति फुलाएर भन्छ- ‘मैले यसपाली कांग्रेसलाई भोट दिइन् ।’
कांग्रेसमा यत्रो बितृष्णा किन आइराखेको छ ? हामीले के गर्न बाँकी छ ? हामी के गर्दैछौं ? हामीहरुले यसको समिक्षा गरेका छौं ?
यही पारा भयो भने सात सालदेखिको चारतारा झण्डा राख्ने मानिसको मन दुखाउँदैछाैं हामी । हामीले यही तरिका समय खेर फाल्ने हो भने नामोनिमेट भएर हामी सक्दैनाैं र ?
त्यसकारणले महासमितिमा आउने साथिहरुले के लिएर जाने भन्दा पनि के दिएर जानुहुन्छ ?  अनि के लिएर बस्नुहुन्छ भोली दिनमा ? के दिनुहुन्छ आफ्ना भावी सन्तति तथा साथिहरुलाई कांग्रेस भएको गर्व गरेर ? मेराे प्रश्न छ ।
म त डाँडामाथिको जूनघाम भइसकेको मान्छे । मबाट के आशा गर्नुहुन्छ र ! मैले जे भनेपनि तपाईँहरुलाई विश्वास लाग्दैनहोला र म गर्न पनि त सक्दिन होला । मैले जतिसुकै  काम गरेपनि विश्वास लाग्दैन होला ।
मैले विश्वास दिने ठाउँपनि त छैन ।
तर हामीले पार्टीप्रति इमानदारी देखाएनौं भने भविष्यका लागि हाम्रा सन्ततिका लागि साँच्चै राम्रो दिन, राम्रो समाज, राम्रो बाटो दिएर जान सक्छौं त ?
जुन कुरौ विपीले कहिल्यै आशा मारेर गएनन् र विपीको बाटोमा हिड्नको निमित्त एकपटक हामी सबैले प्रण गर्ने बेला आएको छ ।  ‘एउटा कांग्रेसले नै  कयाैँ कांग्रेस जन्माउँछ ।’
(केन्द्रीय सदस्य  तथा पूर्व महामन्त्री कुलबहादुर गुरुङले महासमिति उद्घाटन समारोहमा गरिएको सम्बोधन)

nema
Show More

Related Articles

Back to top button