समाचार

नेपाल बारको केन्द्रीय कार्यसमिति निर्वाचनको मनोनयन तालिका सार्वजनिक

काठमाडौँः नेपाल बार एशोसिएसनको २५औँ केन्द्रीय कार्य समिति निर्वाचनका मनोनयन तालिका सार्वजनिक भएको छ । निर्वाचन समितिले आइतबार सार्वजनिक सूचना जारी गर्दै लागि फागुन ६ गते मनोनयन हुने जनाएको छ। चैत १६ मा निर्वाचन गर्ने मिति भने यसअघि नै सार्वजनिक भैसकेको थियो ।

समावेशी रुपमा चयन हुने कार्य समितिमा बारमा एक अध्यक्ष, आठ उपाध्यक्ष रहनेछन्। खुलातर्फ एक महिला र सबै प्रदेशबाट एक–एक उपाध्यक्ष चयन हुनेछन् ।

यस्तै महासचिव एक, सचिव तथा कोषाध्यक्ष एक–एक रहनेछन्। खुला सातसहित १४ सदस्य रहनेछन्। जसमा महिला दुई, आदिवासी जनजाति दुई, मधेशीरमुस्लिम दुई, र दलित एक रहनेछन्।

निर्वाचन समितिका अनुसार मतदाता नामावली माघ २९ गते प्रकाशित गरिनेछ । फागुन ६ गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेद्वारको मनोनयन हुनेछ ।

तयारीमा कानुन ब्यवसायी
२५ सदस्यीय बारको केन्द्रीय समितिमा नेपाल कम्युनिस्ट पार्टी (ने क पा) र कांग्रेस निकट कानुन व्यवसायी दुबै प्यानल बनाएर चुनावको तयारीमा जुटेका छन् । नेकपाबाट वरिष्ठ अधिवक्ताद्वय विजयकान्त मैनाली र रमनकुमार श्रेष्ठले अध्यक्षका लागि
टिकटमा दाबी गरेको श्रोतले बताएको छ ।

कांग्रेस निकट कानुन व्यवसायीमध्ये माघव बास्कोटा, यदुनाथ खनाल र सुनीलकुमार पोखरेलले अध्यक्षमा दाबी प्रस्तुत गरेका छन्।

nema
Show More

Related Articles

Back to top button