समाचार

नेपालमा पनि बोइङ ७३७ म्याक्सलाई ‘नो इन्ट्री’

२९ फागुन, काठमाडौं । भारतले बोइङ ७३७ म्याक्सलाई आफ्नो हवाई क्षेत्रमा प्रवेश गर्न रोक लगाएसँगै बोइङ ७३७ म्याक्स नेपाल आउने बाटो बन्द भएको छ ।

इथियोपियन एयरलाइन्सको विमान दुर्घटनामा १५७ जनाको ज्यान गएपछि बोइङ ७३७ म्याक्समाथि विभिन्न देशले प्रतिबन्ध लगाएका छन् । पछिल्लो पटक बुधबार भारतको नागर विमान मन्त्रालयले साँझ ४ बजेबाट भारतीय हवाई क्षेत्रमा कुनै पनि बोइङ ७३७ म्याक्स मोडललाई प्रवेश नदिने बताएको छ ।

भारतले बोइङ ७३७ म्याक्सलाई आफ्नो हवाई क्षेत्र प्रवेश गरेर एक देशबाट अर्को देशमा जान रोक लगाएपछि नेपालमा पनि म्याक्स आउने बाटो बन्द भएको हो ।

नागरिक उड्डयन प्रधिकरणका अनुसार नेपालमा हाल बोइङ ७३७ म्याक्सले उडान भरेका छैनन् ।

त्रिभुवन विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार इथियोपियन एयरलाइन्सको दुर्घटना अघिसम्म सिल्क एयरको एउटा बोइङ ७३७ म्याक्स विमान नेपाल आउने गरेको थियो । तर, सिंगापुरले बोइङ ७३७ म्याक्समा रोक लगाएपछि सो विमान नेपालमा आएको छैन ।
अब भारतको नयाँ निर्णयले बोइङ ७३७ म्याक्सलाई नेपाल आउने सबै बाटो बन्द भएको छ । किनभने नेपाल आउन भारत वा चीनको एयर रुट प्रयोग गर्नैपर्छ । चीनले पनि यो विमानमाथि प्रतिवन्ध लगाइसकेको छ ।

nema
Show More

Related Articles

Back to top button