वैदेशिक रोजगारीमा जाने कामदारको उडान १ हप्ताका लागि ठप्प
काठमाडौं÷ वैदेशिक रोजगारीमा जाने कामदारहरुको उडान शुक्रबार देखि एक हप्ताका लागि बन्द हुने भएको छ । वैदेशिक रोजगार व्यवसाय संघले जेठ ३ गतेको बृहत व्यवसायी भेलाले गरेको निर्णयानुसार वैदेशिक रोजगारीमा जाने कामदारको टिकट काट्न बन्द गरेपछि उडान प्रभावित भएको हो ।
उक्त भेलाले आफूहरुले अगाडि सारेका ६ बुँदे माग सम्बोधन नभए जेठ १७ देखि २३ गतेसम्म वैदेशिक रोजगारमा जाने श्रमिकको उडान बन्द गर्ने निर्णय गरेको थियो ।
सरकारले आफ्ना ६ बुँदे माग सम्बोधन नगरेपछि नेपाल संघले शुक्रबारदेखि वैदेशिक रोजगारीमा जाने कामदारको हवाई टिकक नकाट्न व्यवसायीमाझ सर्कुलर जारी गरेको छ ।
संघका प्रथम उपाध्यक्ष रामप्रसाद भान्तनाले सबै वैदेशिक रोजगार व्यवसायीलाई आजदेखि वैदेशिक रोजगारीमा जाने कामदारको हवाई टिकट नकाट्न सर्कुलर जारी गरिएको बताए ।
उडान ठप्प पार्दा पनि सरकारले वेवास्ता गरे विरोध, संघर्ष र असहयोगका थप कार्यक्रम मार्फत अनिश्चित कालका लागि वैदेशिक रोजगार बन्द बन्द गर्ने संघले चेतावनी दिएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आफ्ना मागबारे बेवास्ता गरेको भन्दै वैदेशिक रोजगार व्यवसायीहरुले आफ्ना मागबारे प्रधानमन्त्रीलाई समेत लिखित निवेदन बुझाइसकेको जनाएका छन् ।
संघका प्रतिनिधिले प्रधानमन्त्री कार्यालयलाई श्रममन्त्री विष्टले आफ्ना मागको वेवास्ता गरेको र व्यवसायीलाई धरापमा परेको भन्दै माग सम्बोधन गर्ने आग्रह गरेका थिए ।
वैदेशिक रोजगार व्यवसायी संघले व्यवसाय गर्नका लागि इजाजत लिँदा राख्ने धरौटी रकमको व्याज पाउने व्यवस्था गर्नुपर्ने, मर्जर हुने संस्थाहरुलाई उपयुक्त छुट, सुविधा र सहुलियत दिनुपर्ने, मन्त्रालयमा सूचीकृत मेडिकल संस्थामार्फत मलेसियामा नेपाली कामदार पठाउने व्यवस्था गर्नुपर्ने लगायतका ६ बुँदे माग अगाडि सारको छ । सरकारी तथ्याङ्कअनुसार दैनिक ७ सय नेपाली रोजगारीका लागि विदेश जाने गर्छन् ।