बिपीकाे अन्तिम सन्देश—‘देशको सामर्थ्यलाई बुझेर मैले आफ्नो कुरा भनेको छु’
म अब आज जाँदै छु दिल्ली, इलाजको निम्ति । हुन सक्छ मलाई बाहिर पनि नपरोस । चाँडै फर्किन्छु कि कुन अवस्थामा फर्किन्छु, त्यो मलाई थाहा छैन । म तपाईंहरू सबैसँग अहिलेका लागि बिदा लिएर जाँदै छु । मैले भन्ने कुराहरू पाँच वर्ष र त्योभन्दा पहिलेको अवधिमा पनि धेरै भनिसकेको छु । विशेष गरेर जब हिन्दुस्तानबाट हामीहरू फर्कियौं त्यसपछि पनि मैले पाँच वर्षदेखि भन्दै आएको छु । त्यही हो मेरो गाइड लाइन, म मोटामोटी २/३ कुरा भन्न चाहन्छु ।
यौटा के भनेदेखि हामीहरू बडो अप्ठ्यारो परिस्थितिमा छौं । हाम्रो देश, हाम्रो जाति, हाम्रो राष्ट्र बडो अप्ठ्यारो परिस्थितिमा छ र त्यसलाई जोगाउनुपरेको छ । त्यसको निम्ति मेरो एउटा प्रयत्न रहेको छ । त्यस्ता संस्थाहरू, त्यस्ता शक्तिहरू जसले जोगाउन सक्छन्, तीसँग हामीले वैमनस्यको सम्बन्ध राख्नुहुँदैन, जस्तो राजतन्त्रको बारेमा । मलाई लाग्दछ, त्यो त्यस्तो संस्था छ हाम्रो नेपालका लागि, नेपालको राष्ट्रियताका लागि, अहिले जो विपत्ति परेको छ, बाहिरियाबाट त्यसलाई बचाउनका लागि बडो ठूलो योगदान त्यसले दिन सक्छ ।
त्यसो हुनाले त्यसको खिलाफ हामीले बडो सजग भएर मात्र कारबाही गर्नुपर्छ । नत्र भनेदेखि जुन तत्त्वले हाम्रो राष्ट्रलाई सिध्याउन लागेको छ, त्यही तत्त्व हाम्रो पछाडि लागेर हामीलाई समर्थन गरेर त्यो गराउन सक्छ । त्यसो हुनाले तपाईंहरू सबैले भन्ठान्नुस् पानीमा शिशु वा भनिठान्नुस् एउटा आँधीमा दियो बलिरहेछ, त्यसलाई बचाउनुपर्ने कर्तव्य परिरहेछ, राष्ट्रको दियोलाई बचाउनका लागि । त्यसमा जति तत्त्वहरू छन्, बचाउने, बचाउन लाग्ने र बचाउन चाहने, ती सबैसँग हाम्रो राम्रो सम्बन्ध हुनुपर्छ । मैले राजाका सम्बन्धमा भन्दा त्यही दृष्टिबाट भनेको हुँ ।
राजतन्त्रका सम्बन्धमा अहिले हामीहरूको राजतन्त्रसँग अरु मुलुकमा जस्तो फ्रान्समा, इङ्ल्याण्डमा, राजतन्त्रसँग लडाइँहरू भए । हाम्रो ठाउँमा, नेपालमा पनि त्यस्ता लडाइँहरू हुन्छन् अधिकारको निम्ति । जब मानिसहरू एउटा परम्परागत समाजबाट नयाँ-नयाँ समाजमा जानुपर्दछ तब त्यो बेला निश्चय नै जनता चाहन्छ अधिकार आफ्ना हातमा लिऊँ भनेर । हामीहरूको त्यो अवस्थाचाहिँ कायमै रहन्छ । तर, त्यसको साथसाथै हामीले पनि विचार गर्नुपरेको छ । मैले भन्दथे कि गन्दा पानी छ भनेर टबको पानी फँ्याक्दा त्यहाँ नुहाउन थालेको बालकलाई फ्याँकिँदैन ? त्यसो हुनाले राजतन्त्रसँग हाम्रो झगडा छ भनेर त्यो राजतन्त्रलाई नै फ्याँक्ने उद्यम हामीले गर्नुहुँदैन ।
त्यो गन्दा कुरो छ भनेदेखि फ्याँकिदिनुपर्छ र अर्को पानी राख्नुपर्छ । तर, त्यो शिशु जो नुहाइराखेको छ, त्यसलाई हामीले बचाउनुपर्छ । त्यसो हुनाले एउटा कुरा त राजतन्त्रका सम्बन्धमा हामीहरू बडो सतर्क हुनुपर्छ कि कहाँ राजतन्त्रसँग हाम्रो झगडा छ रु कहाँ राजतन्त्रलाई जोगाउनुपर्ने हाम्रो कर्तव्य छ रु त्यो बुझ्नुपर्या छ । दोस्रो कुरो के छ भने, पञ्चायती व्यवस्थाको खिलाफमा हामी छौं । अचेलको युगमा यो जनताको आकाङ्क्षा र खासगरी जसले राजनीति गर्न भनी तयार छ तिनको आकाङ्क्षालाई मिचेर यो देशलाई कसैले जोगाउन खोज्छ भने त्यो मूर्खता हुनेछ । त्यही कुरो २००७ सालमा भयो । त्यो पनि मैले भन्दै आएको छु । त्यो कुरोमा चाहिँ हामीले सम्झौता गर्नुहुँदैन । पञ्चायतवादीहरू भन्छन् कि राजतन्त्रलाई बलियो पारे सब ठीक हुन्छ, तर हामीहरू भन्छौं राजतन्त्रलाई बलियो पार्ने पनि तरिका छ । राजा ठूलो हो भनेर मात्र राजतन्त्र बलियो हुँदैन ।
त्यसलाई, राजतन्त्रलाई बलियो पार्नलाई पनि प्रजातन्त्रको संस्थागत विकास हुनुपरेको छ । संस्थागत प्रजातन्त्रको एउटा ठूलो भूमिका पूरा गर्ने तत्त्व राजतन्त्र पनि हुन सक्छ । त्यस परिप्रेक्ष्यमा हामीले राजतन्त्रलाई सोच्नुपर्छ । दोस्रो कुरो, प्रजातन्त्रमा त्यसो हुनाले नै हाम्रो जोड छ । पञ्चायतवादीसँग हाम्रो विरोध राजतन्त्रका निम्ति होइन कि त्यो राजतन्त्रलाई कसरी जोगाउने भन्ने तरिकामा पनि मतभेद भएको हो । तेस्रो कुरोचाहिँ अहिलेको परिप्रेक्ष्यमा प्रजातन्त्र केवल प्रजातन्त्र, प्रजातन्त्र भनेर मात्र हुँदैन । त्यसो हुनाले हामीहरूले आर्थिक विकासको पनि कुरा गर्या छौं ।
अब आर्थिक विकासका बारेमा पनि मैले स्पष्ट भनेको छु । आर्थिक विकास भनेको नै हामी नेपालको विकास भन्दछौं भने त्यो गाउँको विकास हो । शहर काठमाडौं र विराटनगरको मात्र विकास नेपालको विकास होइन । गाउँको विकास गर्ने भनेको मतलब के हो भनेदेखि ठूला-ठूला उद्योगधन्दाको विकास मात्र गर्ने होइन , गाउँलाई चाहिने आवश्यकताको कुरो गाउँमा नै उपलब्ध हुन सकोस् । त्यसो हुनाले यहाँको नेपालको विकासको अर्थ हुन्छ । गाउँको विकास भनेको मतलब गाउँले जनतालाई चाहिने उपभोगका कुरा गाउँमै या गाउँको समूहबाटै उपलब्ध होस् । त्यसैलाई म समाजवादु भन्ने गर्दछु । अहिले आर्थिक समानताको धेरै महत्त्व छैन ।
विकासको प्राथमिकता र विकासको मोडेलको उचित छनोट पनि समाजवादको ठूलो लक्षण हो । त्योचाहिँ गलत छनोट भइदियो भने जस्तोसुकै समाजवादको कुरा गरे पनि त्यसको कुनै अर्थ हुँदैन । जस्तो म भारतलाई देख्छु अरू पनि विकासोन्मुख मुलुकहरूलाई देख्छु । गरिब-गरिब नै भए, झन् गरिब भएर गए । हिन्दुस्तानमा जस्तोसुकै विकास भए तापनि ५० प्रतिशत मानिसचाहिँ हमेसा-हमेसा निरपेक्ष गरिबीको रेखाभन्दा तलै बस्दछन् । यद्यपि ५० प्रतिशतभन्दा माथिकाहरू बढ्लान्, झन् धेरै धनी होलान् । तर, त्योचाहिँ विकास मानिँदैन । समाजवादको अर्थमा पनि विकासको मोडेलको छनोट धेरै महत्त्वपूर्ण हुन्छ जस्तो मलाई लाग्छ । यी तीन कुरा हामीले मान्नुपर्या छ । मैले आफ्ना साथीहरूलाई के भन्न थालेको छु भने, यो हतार गरेर हामीलाई छिटो पुग्नु छ भनेर यात्रालाई छोट्याउन प्रयत्न गर्न थाल्यौं भने हामी झन् खाडलमा गाडिन्छौं ।
त्यसो हुनाले यो संस्थागत प्रजातन्त्रको विकास गर्नुपर्ने, हाम्रो विकासको निम्ति नयाँ जुन मोडलमा विकास गर्नुपर्ने, त्यो सब गर्नलाई त्यति सजिलो र चाँडो हुन्छ भन्ने लाग्दैन मलाई । तर, त्यसो चाँडै भएन, हामीले खान पाएनौं, अब हामीले सहन सक्दैनौं भनेर हामीले त्यो छोट्याउने कोशिस गर्याैँ भने विदेशीहरूले, जो मैले यहाँ देशलाई बचाउनुपर्छ भन्ने छ उनीहरू आई ठूलो-ठूलो सद्भाव देखाउलान्, केही गर्लान्, त्यसमा हामी अल्मलिन थाल्छौं, त्यसो गर्नुहुँदैन । त्यसो हुनाले मैले साथीहरूलाई भनें कि कुनै पनि हालतमा हामीहरूले असंयम गर्नुहुँदैन र कुनै पनि हालतमा तातै खाऊँ जलेर मरौं जस्तो गर्नुहुँदैन । अबेरै हुन सक्यो विकासको कुरो, प्रजातन्त्रको संस्थागत विकासको कुरो या राजासँगको मेलको कुरो पनि छ । हुन त राजाले मानेनन् भन्ने हामीलाई लाग्दो हो, राजालाई लाग्दो हो हामीहरूले मानेनौं, त्यो सम्बन्ध पनि यत्रो २००९ देखिको झगडाको सम्बन्धलाई तत्कालै समाधान होला र राजा र हामी मिल्नासाथै परिस्थिति ठीक होला भन्ने पनि ठान्नुहुँदैन । राजाले पनि हामीहरूको इमानदारीमा शङ्का गर्नुहुँदैन ।
हामीले पनि राजाको इमानदारीमा शङ्का गर्नुहुँदैन । त्यसो हुनाले साथीहरूलाई मेरो यही आग्रह छ कि कुनै उग्र किसिमबाट पनि काम गर्नुहुँदैन । तर, आफ्नो आदर्शलाई छोड्नुहुँदैन । मलाई यसै सन्दर्भमा एउटा अर्को कुरो पनि भन्नुपस्या छ । मेरो दृष्टिमा राजनीतिक लचकता, त्योचाहिँ के छ भने, आफ्नो उद्देश्यलाई छोडेर व्यवहारको नामा जो गर्न खोज्छन् त्योचमहिँ हामीले गर्नुहुँदैन । हामीले दुईओटा कुरामा ध्यान दिनुपर्छ । एक, हामीहरूको समग्रमा उदेश्य केहोरु प्रजातन्त्र ल्याउने भन्या छौ भनेदेखि त्यसमा चाहिँ कार्य प्रणालीमा, उपायमा हामीहरु समावेश गर्न सक्छौ । त्यसमा हाम्रो सम्झौतामा हुन सक्छ ।
तर, सिद्धान्तका लागि चाहिँ हाम्रो सम्झौता हनु सक्दैन । बाटोको कुरामा चाहिँ हामी सम्झौतागर्न सक्छौँ । त्यसैले मलाई लाग्छ- व्यावहारिक राजनीति भनेको मतलब आफ्नो आदर्शलाई छोडेर आफ्नो दुनो सोझ्याउने काम गर्नेलाई कायम राखेर तत्कालमा समस्यालाई के गर्दा ठीक हुन्छ, व्यवहारको नाममा जो गर्न खोज्छन् त्योचाहिँ हामीले गर्नुहुँदैन ।
कि हामीहरूको समग्रमा उद्देश्य के हो र? प्रजातन्त्रमा ध्यान दिनुपर्छ । एक, हामीहरूको समग्रमा रहे। ल्याउने भन्या छौं भन्देखि त्यसमा चाहिँ कार्य प्रणालीमा, उपायमा गर्न सक्छौं । त्यसमा हाम्रो सम्झौतामा हुन सक्छ । तर, सिद्धान्तका लागि चाहिँ हाम्रो सम्झौता हुन सक्दैन । बाटोको कुरामा चाहिँ हामी सम्झौता गर्न सक्छौँ ।
त्यसैले मलाई लाग्छ । व्यावहारिक राजनीति भनेको मतलब आफ्नो आदर्शलाई छोडेर आफ्नो दुनो सोझ्याउने काम गर्नेलाई म व्यावहारिक भन्दिनँ । व्यावहारिक म केलाई भन्दछु भने आफ्नो आदर्शलाई कायम राखेर तत्कालमा समस्यालाई के गर्दा ठीक हुन्छ, त्यसलाई समावेश गर्न सक्नुपर्छजस्तो मलाई लाग्छ । अहिलेसम्म नेपाली काङ्ग्रेसमा यत्रो मान्छेको, आजसम्म पनि विश्वास छ, त्यही कारणले छ कि यसले आदर्शलाई छोड्दैन र व्यवहारको राजनीति पनि गर्छ भन्ने कुराले छ । त्यसलाई हामीले राम्ररी बुझ्नुपर्छ ।
We do not compromise on ideology. but we compromise on the means to achieve the idea.
अर्को, तेस्रो कुरो मलाई के भन्नु छ भने, जब म भन्छु, बाहिरियाबाट हाम्रो देशमा यो खतरा छ, तब ती मेरा वाक्यहरूमा कहिले हिन्दुस्तानको कुरा आउँछ कहिले रूसको आउँछ । कसैले यो अनभिज्ञ भएर भनोस्, यी शक्तिहरू बडो इमानदार भएर हाम्रो निम्ति गर्छन् । त्योचाहिँ हाम्रो निम्ति पत्याउने कुरा छैन । हिन्दुस्तानको बारेमा मैले भन्दाखेरि मान्छेहरू के भन्छन् भने देखिन् यो हिन्दुस्तान विरोधी छ । मेरो के भनाइ छ भने, हिन्दुस्तानसँग हाम्रो सबभन्दा नजिकको सम्बन्ध रहनुपर्छ । हिन्दुस्तानसँग हाम्रो धेरै कुरामा मतभेद छ, तर मतभेदले चाहिँ मनोवैज्ञानिक आधार लियो भने जुनसुकै कुरामा पनि मतभेद देखिन्छ । त्यसो हुनाले, त्यसलाई मनोवैज्ञानिक आधारबाट, राजनीतिक बूंदाबाट हे(यौं भने त्यो कुरो मिल्छ भन्ने लाग्छ । त्यसो हुँदा मैले यो कुँदामा चाहिँ भारतसँग सङ्घर्षको बुँदा अलग पारेर राजनीतिक रूपमा राख्न खोजेको हुँ । मचाहिँ भारतविरोधी भएको होइन ।
मलाई लाग्छ, हामीहरू हाम्रो भूगोलले गर्दा या अरू कारणले गर्दा हिन्दुस्तानसँग धेरै कुरामा निर्भर हुनुपर्या छ र हिन्दुस्तानले पनि हामीमाथि निर्भर हुनुपर्या छ । त्यसो हुनाले अरू मुलुकको तुलनामा हिन्दुस्तानसँग हाम्रो नजिकको सम्बन्ध रहन्छ । त्यस्तै चीनसँग हाम्रो नजिकको सम्बन्ध रहन्छ । अमेरिका र रुससँग पनि हाम्रो सम्बन्ध रहन्छ । तर, तिनीहरू टाढाका हुन् । यी दुईओटा राष्ट्रसँग हाम्रो नजिकको सम्बन्ध हुन्छ ।
त्यसो हुनाले एउटा कुरा के भने यहाँ एउटा कस्तो धारणा बन्न गएको छ भने यहाँको राष्ट्रियता भनेको हिन्दुस्तानको विरूद्ध बोल्नेबित्तिकै हुन्छ भनिन्छ । यसरी एउटा मनोवैज्ञानिक वैमनस्यको वातावरण बनेको छ, हिन्दुस्तानको खिलाफमा, त्यो हामीले राख्नुहुँदैन । हामीले याद गर्नुपर्छ हिन्दुस्तानसँग मिल्दैमा चीनविरोधी हुनैपर्छ भन्ने जरूरी पनि छैन र चीनले हामीलाई केही सुविधा पारिदियो भने हामीले भारतविरोधी हुनुपर्ने हुँदैन । यो सब कुरो हाम्रो नेतृत्व वर्गले विचार गर्नुपरेको छ जस्तो लाग्छ ।
म आज धेरै बोल्न पनि सक्दिनँ, म निको भएर आएँ भने फेरि भेटौंला । मैले नयाँ कुरो केही भन्न खोजेको होइन, ५० वर्षदेखि भन्दै आएको हुँ राजतन्त्रको बारेमा, प्रजातन्त्रको बारेमा, यहाँको विकासको नमूनाको बारेमा, यी तीनओटा मौलिक कुराहरू छन् । मैले भन्न खोजेका र त्यसमा यो सब गर्नलाई । हामीहरू विरोधी छौं, तर मलाई के लाग्छ भने यस परिप्रेक्ष्यमा विरोधीहरूको ठूलो भूमिका छ । विरोधीहरू गैरजिम्मेवार भए भने त सरकारमा बसेका मानिसहरू झन् सजिलैसँग गैरजिम्मेवार हुन्छन् । किनभने, उनीहरूको हातमा हतियार छ, पल्टन छ, बन्दुक छ, पुलिस छ, सबै कुरा छन् । त्यसो हुनाले उनीहरू त छाडा पनि हुन सक्छन् । तसर्थ हाम्रो तर्फबाट संयम मात्र होइन, इमानदारीवाला राजनीति हामीले गर्नुपर्छ । त्यो केवल मान्छेहरू उचाल्ने र भड्काउने सस्तो लोकप्रियताको राजनीतिले धेरै काम गर्दैन । मैले धेरै ठाउँमा रोकेको पनि छु ।
त्यसलाई हाम्रा साथीहरूले बुझ्नुपर्छ । किनभने, विरोधी राजनीति नेपालमा, नेपालको जस्तो परिस्थितिमा, सरकारमा बसेका मान्छेहरूले भन्दा बेसी जवाफदेहीको भूमिका विरोधी पक्षले गर्नुपर्छ जस्तो मलाई लाग्छ । त्यसकारण मैले नचाहिँदो किसिमबाट सरकारको कहीं विरोध गर्दिनँ, गरेको छैन या सरकारको खिलाफमा आन्दोलन भयो भन्दैमा नचाहिँदो किसिमबाट समर्थन पनि गरेको छैन । म आफ्ना साथीहरूलाई र विरोधीहरूलाई बताउन चाहन्छु कि हामीहरूलाई ज्यादा जवाफदेही छ सरकारमा बसेका मान्छेहरूभन्दा आफ्नो राजनीति गर्नलाई । त्यो जवाफदेहीपनले नै हामीहरूमा तागत आउँछ, जवाफदेहीले नै हामीहरूमाथि मान्छेको विश्वास हुन्छ । किनभने, हामीहरू त पल्टनलाई परिचालन गर्न सक्दैनौं या सरकारी साधनलाई हामी प्रयोग गर्न सक्दैनौं । तसर्थ मलाई के लाग्छ भने, विरोधीको जिम्मेदार राजनीति हाम्रो जस्तो परिस्थिति भएका जुनसुकै विरोधीहरूले पनि खेल्नुपर्छ । सरकारको त हुन्छ(हुन्छ, विरोधीहरूको पनि एउटा जिम्मेदारी हुन्छ भन्ने मलाई लाग्छ । नेपालमा त मलाई यो झन् लाग्छ ।
अर्को कुरो, पार्टीका सम्बन्धमा केवल यही कुरो, मैले भनेको कुरालाई पार्टीले मान्यो भने हाम्रो पार्टीको पनि भविष्य छ र नेपालको पनि भविष्य छ । यसलाई मानेन, मैले जुन मेलमिलापको कुरा बताएँ, त्यसलाई मानेनन् भने रस लिए भने या कुनै विदेशीको मद्दत नभई हुँदैन भन्ने बाटो लिए या राजासँग गर्ने बाटो लिए, राजासँग झगडा छ, मैले भन्याछ, छैन भन्या छैन तर मेलमिलापको जुन सैद्धान्तिक व्याख्या मैले गच्या छु त्यसलाई छाड्यो भने हाम्रो पार्टीको भविष्य छैन र देशको पनि कुनै भविष्य छैन । अहिले मलाई त्यस्तो विश्वास छ, सरकारले भन्दा बेसी विरोधी पक्ष हामीहरूले राष्ट्रलाई बचाएका छौं जस्तो लाग्छ । पञ्चायतमा बसेकाहरू त बडो गैरजिम्मेदारीका कुरा गरिरहेछन । पञ्चभेला गर्छन्, के-के कुरा गर्छन् के-के देशलाई बचाउने केही कुरा गरेका छौं भने हामीले गरेका छौं भन्ने मलाई लाग्छ ।
त्यो लाइनलाई हामीले छाड्यौं भने जुन जवाफदेही हामीमाथि छ, त्यो पनि हट्दछ । त्यसो हुनाले पार्टीका साथीहरूलाई मेरो यही भन्नु छ । मेलमिलापको नीति, विकासको अवधारणा र प्रजातन्त्रको संस्थागत विकास, यी तत्कालै फल्ने फुल्ने कुरा होइनन् । हामीहरूलाई हतार पार्ने पनि कोशिस गर्नेछन् । यो त भएन, चाँडै भएन भनेर । त्यसमा चाहिँ हामीहरूले विचलित हुनुहुँदैन । मलाई साथीहरूलाई त्यही कुरो भन्नु पर्या छ । जुन एउटा बाटो मैले बताएको छु, त्यो बाटोमा हिँड्यौं भने हामीहरूलाई लामो होला । तर, यसमा केही आपत्ति छैन, तर आफ्नो जवाफदेही हामीले पूरा गर्नुपरेको छ । मैले यो भन्न खोजेको छु । आजको परिस्थितिमा, हामीले जुन जवाफदेहीको राजनीति गरेका छौं, त्यो सरकारमा बसेका पक्षहरूले पनि गरेको छैनन्, त्यो त सबैले देख्ने कुरा छ । त्यति जवाफदेही हामीहरूले बेहोरेका छौं । त्यो बाटो हामीले छोड्नुहुँदैन भन्ने मलाई लाग्छ ।
मैले अहिले खाली मेरो पार्टीको मात्र चाख राखेको छैन । अहिलेको समस्या केवल पार्टीका मानिसले मात्र बुझ्ने भन्ने छैन । यो जुन समस्या देशको अगाडि छ, त्यो केवल पार्टीलाई मात्र नभएर पूरै देशवासीलाई सम्बोधन गरिराखेको छु । यद्यपि, मेरो प्राथमिक जिम्मेवारी त पार्टीको प्रतिष्ठा नै हो र, जुन प्रजातन्त्रमा हामीले पार्टी चाहिन्छ भनेका छौं भने मैले पार्टीलाई छोड्ने भन्ने कुरै आउँदैन । किनभने, मेरो विचारको औजारचाहिँ पार्टी नै हुन्छ । तर, अहिले मैले के सोचेको छु भने, पार्टीभन्दा पनि बाहिर गएर सम्पर्क राखौं भनेर । मैले पूर्ण रूपमा पार्टीगत राजनीति गया छैन । मेरो पार्टी चलाउने मानिस गणेशमानजी हुनुभो, किसूनजी हुनुभो, गिरिजा भए यिनीहरूको जिम्मा लगाएर मचाहिँ अलि छुट्टै भएर गरौं जस्तो लाग्यो । त्यसबाट फाइदै भएजस्तो लागेको छ । पार्टीको दृष्टिले मात्र हेरेको छैन ।
अर्को कुरो, मलाई के लाग्दछ भने मेरा विचारहरू मौलिक हुन् । म जब ५ वर्षपहिले आएँ, त्यस बखत जुन एउटा वातावरण थियो, त्यसमा वैचारिक परिवर्तन ल्याउन बडो गाह्राे थियो । हामीले १७ वर्षदेखि एउटै कुरो हेरिरहेका थियौं । राजा र हाम्रो सङ्घर्ष थियो । अबचाहिँ त्यो आक्रमणको लक्ष्यलाई अलिकति विचलित गरिदिएँ । त्यो हाम्रो पार्टीभित्र नै गराउन गाहो छ । वैमनस्य कम गराएँ, त्यो गराउन नै पार्टीभित्र हामीलाई गाह्रो थियो । पार्टीभन्दा बाहिर पनि त गाह्रो थियो, थियो । अब यहाँ विस्तार विस्तार मान्छेले बुझ्न लागेका छन् जस्तो मलाई लागेको छ । पार्टीलाई पनि मलाई लाग्यो । मैले मात्रै भन्दा वा मैले लादिनुको सट्टा उनीहरू स्वयम्ले पनि स्वीकार गर्न लागेका छन् । स्वयम् देखून् न परिस्थिति के छ भनेर, मैले धेरै दबाब नदिएको । मलाई लाग्छ, समग्र रूपमा मेरो रणनीति गलत थिएन ।
म जनतालाई व्यापक तवरले सम्बोधन गर्न चाहन्थे, आफ्नो पार्टी र समर्थकहरूलाई मात्र होइन । त्यसैले पार्टीका मानिसहरूले पनि मेरो विचार मात्र भनेर स्वीकार नगरून् । तिनीहरू आफैँले विचार गरून् कि परिस्थिति कस्तो छ भनेर । त्यो पनि अब उनीहरूले बुझिसकेका छन् जस्तो लाग्छ । अब आज, मेरै पार्टीका लिडरसिपले मलाई जति समर्थन दिएका छन्, बुझेर दिएका छन् । त्योचाहिँ मलाई ठीकै लागेको छ ।
त्यसो हुनाले अहिले त जरूरी के परेको छ भने नेपालमा, नागरिक एकता चाहियो । यो पार्टीभन्दा पनि महत्त्वपूर्ण के रहेछ भने, वैचारिक एकता । जस्तो भनौं, अब यदि वैचारिक एकता भएन भने कसैले के भन्ने कसैले के भन्ने हुन्छ । तसर्थ विचारको समानता हुनुपर्छ । त्यो ल्याउन जसरी पनि पर्याे । त्यो एउटा आधारभूत एकता हुनुपर्छ । पार्टीको त कार्यक्रम फरक हुन्छ(हुन्छ । राजतन्त्रको आवश्यकता छ कि छैन रु विदेशीहरूको प्रभाव बढेको छ कि छैन रु तिनीहरूसँग सामना गर्ने के उपाय छ रु यी सब मुख्य कुरा हुनु, पार्टीको कुरै होइन । यदि यो गलत छ भने मानिसले भनून्, गलत भनेर । यदि ठीक छ भने ठीक भनून् । यदि अहिलेको परिप्रेक्ष्यमा राजाको आवश्यकता छ भने त्यो नेपाली काङ्ग्रेसका लागि मात्रै होइन, यो नेपाली काङ्ग्रेसले रणनीति बनाएको मात्रै होइन । यदि बाहिरका शक्तिहरूको धेरै बोलवाला यहाँ भएको छ भने त्यसले नेपाली काङ्ग्रेसलाई मात्र असर गरेको होइन, यो त अरूलाई पनि असर गर्ने कुरो हो । तसर्थ म अहिले बढी इच्छुक छु पार्टीको दृष्टिकोणभन्दा पनि बेसी वास्तविकता, जो मैले बुझेको छु, त्यो सबैलाई बुझाऊँ । त्यसो हुनाले मैले आफूले त्यही जवाफदेही लिएको छु नत्र भने त म पार्टीको सभापति भएर बस्ने थिएँ ।
विचारका बारेमा विभिन्न तत्त्वहरूमा एकता हुनुपर्ने हो । अहिले नेपालमा राजतन्त्रको आवश्यकता छ भनेको राजासँग पल्टन छ, त्यसकारणले तारिफ गर भन्ने हिसाबमा होइन । किन आवश्यकता छ रु त्योचाहिं मला आवश्यकता छैन, हाम्रो पार्टीलाई मात्रै आवश्यकता छैन, देश राख्न खोज्ने का आवश्यक छ । त्यसैले जुनसुकै पार्टी भए तापनि त्यसले एकत्रित हुनुपर्छ भन्ने हो । विकासका कुरा होस्, संस्थागत राजनीतिका कुरा होस्, सबैका लागि चासो पर्ने कुरा हो । यी कुराहरू पार्टीका लागि मात्र आवश्यक होइनन्, पार्टीका लागि त भोलि चुनाव होला । त्यसका लागि के कार्यक्रम राख्नुपर्ने हो त्यो राखौँला, तर त्यो राजा रहन्छ कि रहँदैन भन्ने कार्यक्रम त रहँदैन । त्यसमा त आर्थिक कार्यक्रम र अरू कुराहरू रहन्छन् । त्यसो हुनाले एक त पार्टीका मान्छेले आफै बुझून् । अर्को, मैले दोहोर्याई तेहेर्याई पार्टी दृष्टिबाट मात्रै होइन, व्यापक राष्ट्रिय दृष्टिकोणबाट भनेको हुँ ।
म पटक्कै निराश छैन । मैले के देख्छु भने, समग्र ऐतिहासिक परिप्रेक्ष्यमा हेरेको छु नेपाललाई । ३०/३५ वर्षदेखि त म नै एउटा प्रत्यक्ष संलग्नताका साथ नेपालका लागि लागेको छु । मभन्दा पहिले टङ्कप्रसादहरू लागे, अरू पनि धेरै मान्छे लागे, कति मान्छे मरे । मेरै नेतृत्वमा कति मानिस मरे । धेरै यताको ओखलढुङ्गाकाण्डमा कति मरे । त्यसपछि पनि कति मान्छे मरे । मलाई के लाग्छ। भने, यत्रो ठूलो प्रेरणा दिने तत्त्व जसमा हजारौं मान्छे जेल जान तयार भए, हाम्रा कैयौं साथीहरू होलान्, जो १०/१० वर्षभन्दा कम जेल गएनन् होला । तिनले हरतरहबाट दुःख मात्र गरेनन्, आफ्नो प्राणसमेत दिए । यत्रो प्रेरणा दिने जुन देश छ, त्यो हत्तपत्त खत्तम होलाजस्तो मलाई लाग्दैन र कथंकदाचित खत्तम भयो भने यो तमाम त्याग, बलिदान, त्यो पनि त व्यर्थ भएर जानेछ । कति प्रतिभाशाली युवाहरू मारिए । म त्यो कल्पना पनि गर्न सक्दिनँ । यति मान्छेहरू निरर्थक मरेर गए, एउटा इतिहासले नमानेको बाटोमा हिँडेर यिनीहरूले आफूलाई आहति दिए भनेर । त्यसो हुनाले, मलाई यसले कहिल्यै पनि निराश हुन दिएन । जब मैलेभन्दा त्यति मान्छे जेलमा गए, एउटा आदर्शको कुराका लागि त्यतिका मान्छेले प्राण त्यागे भन्दाखेरि ठूलो शक्ति रहेछ यस देशमा त्यसलाई जीवित राख्ने । त्यसो हुनाले देर अबेर होस वा चाँडै होस्, जबसम्म हाम्रो देश रहन्छ, रहने सामर्थ्य छ भनेदेखि यो त्याग सबै सार्थक हुने भयो, नत्र भने यो सबै निरर्थक हुनेछ । यो मेरो आत्मगत धारणा हुन सक्छ ।
अक करा, म नरहेको खण्डमा कसले यो कुरा सम्झाउँछ पनि भन्छन् । त्यो पनि मलाई गलत कुरो हो जस्तो लाग्छ । के कारणले गलत भने, यदि एउटै व्यक्तिको आधारमा, जतिसुकै ठूलो व्यक्तिको आधारमा नै देश जीवित रहने हुन्छ भने त्यो देश रहँदैन । यदि भित्र कुनै अर्को तत्त्व छ, देशलाई बचाउने, सामर्थ्य छ देशभित्र भने र त्यो व्यक्तिले त्यो सामर्थ्यको पहिचान गरेर मात्रै बोलेको छ भनेदेखि त त्यो अर्को कुरा हो । तर, होइन एउटा मान्छेले सामर्थ्य नभएको कुरालाई बोलेर भ्रमात्मक पारिदिएको छ भने त्यो व्यक्ति रहेन भने देशको भविष्य छैन भनेजस्तो हुन्छ । मलाई यदि नेपाली जनताले श्रेय दिन खोज्छ भने यसकारण नदेओस् कि मैले आफ्नो बुताबाट एउटा मिथ्या धारणा सिर्जना गरें भनेर । मलाई श्रेय दिनु छ भने एउटै कुरामा देओस् कि मैले देशभित्र देशको सामर्थ्यलाई बुझेको रहेछु र देशको सामर्थ्यलाई मैले मुखरित गर्ने कोशिस गरेको रहेछु ।
त्यो श्रेयचाहिँ मलाई देओस्, न कि मैले मेरो आफ्नो बुताबाट गरें भनेर । कुनै एउटा व्यक्तिको बुताबाट देश बाँच्ने, संस्थाहरू विकसित हुने, देश विकास हुने, त्यो हुनै सक्दैन । हुने हो भने त राजाकै हुकुमबाट भइहाल्थ्यो नि । जस्तोसुकै बुद्धिमान्ले पनि त्यो गर्न सक्दैन । उसले केवल ऐतिहासिक, सामाजिक, राजनीतिक वा अरू आधारहरूलाई बुझेर त्यो विश्लेषण गर्न सक्छ । मैले त्यति मात्रै गरेको छु । यहाँको, नेपालभित्रको सामर्थ्यलाई मैले बुझे । त्यसैबाट मेरो कुरो इतिहासले मान्यता दियो भने त्यही कुरो मेरा लागि ठूलो सौभाग्यको हुनेछ । यो झुटो कुरा मलाई दिएर केही अर्थ हुँदैन । मेरो अगर देन केही छ भने यो देशको सामर्थ्यलाई बुझेर मैले आफ्नो कुरो भनेको छु । ८ ज्येष्ठ २०३९
साभार : राजा, राष्ट्रियता र राजनीतिबाट