समाचार

गुठी विधेयक फिर्ता लिन प्रतिपक्षी कांग्रेसको माग

काठमाडौं, असार २ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गुठी विधेयकविरुद्ध जारी सडक आन्दोलनमा समर्थन जनाउँदै विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।
प्रतिनिधिसभाको सोमवार बसेको बैठकमा बोल्दै कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले गुठी विधेयकको विरुद्धमा सडकमा जारी आन्दोलनलाई कांग्रेसले समर्थन गर्ने भन्दै विधेयक फिर्ता लिन माग गरेका हुन ।
दमनको बाटोबाट नभइ वार्ता र संवादबाट समाधान खोज्न उनले सरकारलाई आग्रह गरे । उनले सरकारले ल्याएको विधेयक नेपाली समाजको धार्मिक, सांस्कृतिक र सामाजिक मूल्य–मान्यताविरुद्ध रहेको जिकिर गरे ।
विधेयक फिर्ता नलिए गम्भीर परिस्थिति उत्पन्न हुनेतर्फ सचेत रहन सरकारलाई आग्रह गर्दै उनले त्यस्तो परिस्थितिको जिम्मेवारी स्वयं सरकारले लिनुपर्ने चेतावनीसमेत दिए ।
बैठक प्रारम्भ भएको जानकारी गराए लगत्तै नेपाली कांग्रेस र राजपाका सांसदहरुले उभिएर सभामुखको ध्यानाकर्षण गराएका थिए । यसपछि सभामुखले सांसद बडू र राजपाका सांसद लक्ष्मण लाल कर्णलाई बोल्नका लागि समय दिएका थिए ।

nema
Show More

Related Articles

Back to top button