समाचार

बाढी र पहिरोको कारण मृत्यु हुनेको संख्या ६७ पुग्यो, ३२ अझै बेपत्ता

काठमाडौं– लगातारको वर्षासँगैको बाढी र पहिरोका कारण देशका विभिन्न ठाउँमा गरी मृत्यु हुनेको संख्या ६७ पुगेको छ ।
बाढी र पहिरोका कारण सोमवार दिउँसोसम्म ४३ जना घाइते भएका छन् भने ३२ जना अझै बेपत्ता छन् ।
नेपाल प्रहरीको केन्द्रीय कार्यालयका अनुसार बाढी र पहिरोका कारण काठमाडौंमा ३ जना, मकवानपुरमा ६ जना, ललितपुर, रौतहट र भोजपुरमा ५–५ जना, ओखलढुंगा, सिराहा र सिन्धुलीमा ४–४ जना, खोटाङ, धनुषा र काभ्रेमा ३–३ जना, झापा, उदयपुर, पर्सा, बारा, महोत्तरी, धादिङ र डोल्पामा २–२ जनाको मृत्यु भएको छ ।
यस्तै, इलाम, पाँचथर, मोरङ, सुनसरी, रामेछाप, चितवन, पाल्पा र दाङमा १–१ जना गरी कूल ६७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बाढी पहिरोमा परेका काठमाडौंमा २ सय ८५ जना, ललितपुरमा ६१ जना, उदयपुर १० जना, रौतहटमा २ सय जना, महोत्तरीमा ५ सय जना, सिराहामा २ जना, सर्लाहीमा १ सय जना, सप्तरीमा २५ जना, सिन्धुलीमा ७० जना, धादिङमा १७ जना, चितवन १ सय ७० जना तथा भक्तपुर, सुनसरी, मकवानपुर, खोटाङ र डोल्पामा १–१ जना गरी १ हजार ४ सय ४५ को उद्दार गरिएको प्रहरीले जनाएको छ ।
बाढी पहिरोमा परी अझै पनि डोल्पामा ९ जना, सिन्धुलीमा ४ जना, इलाम र मोरङमा ३–३ जना, महोत्तरी र मकवानपुरमा २–२ जना तथा काठमाडौं, ललितपुर, झापा, सुनसरी, पर्सा, रौतहट, धनुषा, धादिङ र दाङमा १–१ जना गरी ३२ जना वेपत्ता छन् ।
बाढी र पहिरोका कारण धनकुटामा ८ जना, मकवानपुरमा ५ जना, ललितपुर र सिराहामा ३–३ जना, झापा, भोजपुर, सुनसरी, महोत्तरी, काभ्रे र सिन्धुलीमा २–२ जना तथा काठमाडौं, भक्तपुर, खोटाङ, उदयपुर, रामेछाप, धादिङ, दोलखा र चितवन १–१ जना लगायत गरी ४३ जना घाइते भएका छन् ।
पहिरो तथा बाढीको कारण बन्द भएकामध्ये केही ठाउँका सडक तथा बाटोहरु खुलाइएको छ । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीय समेतको पहलमा बाढीबाट अवरुद्ध भएका सडक तथा बाटो खुलाइएको छ ।
यद्यपि धेरै ठाउँमा अहिले पनि बाढी र पहिरोका कारण बाटो तथा सडकहरुमा अवरोध पुगेको छ ।

nema
Show More

Related Articles

Back to top button