कांग्रेसको १४ औं महाधिवेशनको तयारी सुरु, पुसको पहिलो हप्ता बस्ने बैठकले महाधिवेशनको मिति र कार्यतालिका तोक्ने
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको तयारी सुरु भएको छ । यसको प्रारम्भिक चरण अन्तर्गत आगामी मंसिरभित्र अन्तरिम संरचना सक्ने गरी काम भइरहेको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।
उनले अन्तरिम संरचनासंगै मंसिरभित्र क्रियाशील कार्यकर्ताहरुको काम सकेर पुसको पहिलो हप्ता बस्ने बैठकले महाधिवेशनको मिति र कार्यतालिका तोक्ने स्पष्ट पारे ।
क्रियाशील सदस्यको हकमा नयाँ वितरण नभए पनि पहिले जो छन् तिनीहरुको भेरिफाइ हुने, को मर्यो, कसले पार्टी छोड्यो, अरु दलबाट आएकालाई कसलाई दिने लगायतका कामहरु हुने प्रवक्ता शर्माले बताए ।
संरचना ‘रिलोकेट’ गर्दा समय लाग्ने प्रवक्ता शर्माले बताए । उनले पहिले चार हजार गाउँमा गर्नुपर्ने संरचना अहिले ७५३ मा र पहिले ३६ हजार वार्ड रहेकामा अहिले ७ हजार वार्डमा छुट्टाउनु पर्ने भएकाले समय लागेको उनले बताए ।
केन्द्रीय समितिले उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्धय डा शशांक कोइराला र पूर्णबहादुर खड्का सम्मिलित एक समितिलाई महाधिवेशनको मिति यकिन गर्ने र त्यसअघि अन्य प्रक्रिया सम्पन्न गर्ने कार्यतालिका बनाउने जिम्मा दिएको थियो ।
उक्त समितिले २०७७ को फागुन २० भित्रै महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ । शेरबहादुर देउवा नेतृत्वको वर्तमान कार्यसमितिको नियमित म्याद २०७६ फागुन २० गते सकिदै छ ।
देउवाले आफ्नो कार्यकाल लम्ब्याउने क्रममा एक वर्ष समय थप्न लागेका हुन् । जानीजानी समय थप्न लागिएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र कृष्णप्रसाद सिटौला पक्षले विरोध गरेका छन् ।
काँग्रेस केन्द्रीय समितिको बैठक साउन २२ गते पनि बस्दैछ ।