breakingसमाचार

नेपाली काँगे्रसको पदाधिकारी बैठक निश्कर्ष बिहिन

काडमाडौं, कात्तिक ५ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको पदाधिकारी बैठकमा समसामयिक लगायत विभिन्न विषयमा छलफल केन्द्रीत भएको छ ।
पार्टीभित्र र बाहिरको विषयमा छलफल भएपनि नेताहरु कुनै निष्कर्षमा भने पुग्न सकेका छैनन् ।
मंगलबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकमा आसन्न उपनिर्वाचनबारे नेताहरुले छलफल गरेपनि कुनै निर्णय भने हुन नसकेको नेताहरुले बताएका छन् ।
तर बिहीबारदेखि बस्ने केन्द्रीय कार्यसमिति बैठकका एजेन्डाबारे भने छलफल भएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।
भ्रातृसंस्था तरूण दललाई पूर्णता दिने र नेविसंघको महाधिवेशन गराउन तदर्थ समिति गठन गर्नेबारे छलफल भएपनि कुनै निर्णय नभएको उनको भनाई छ ।
बैठकमा सभापति देउवाले हालै प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग द्वन्द्वकालीन मुद्दा टुंग्याउने विषयमा भएको छलफलबारे जानकारी गराएका थिए ।
देउवा, ओली र दाहालबीच सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगलाई नेतृत्व प्रदान गर्नेबारे छलफल भएको थियो ।
सभापति देउवाले मंगलबार बिहान नै प्रधानमन्त्री ओलीलाई टेलिफोन गरी द्वन्द्वकालीन मुद्दाहरू सत्ता र प्रतिपक्षको सहमतिमै हल गर्ने र ऐन निर्माणमा टुंगोमा पुग्नुपर्ने आग्रह गरेका थिए ।
बैठकमा पछिल्ला दिनमा कांग्रेसका नेताहरुमाथि विभिन्न कान्डमा भइरहेको छानबिन र अनुसन्धानकाबारेमा पनि सामान्य छलफल भएको बताइएको छ ।
सांसद देवेन्द्रराज कँडेलको भारतीय नागरिकता रहेको भन्ने विषयमा आएको समाचारकाबारेमा पनि छलफल भएको एक नेताले जानकारी दिए ।
पदाधिकारी बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्री डा. शशांक कोइरालालगायत नेता उपस्थित भएका थिए ।

nema
Show More

Related Articles

Back to top button