समाचारनेपाली कांग्रेस

सरकारले सार्वजनिक स्थलमा प्रदर्शन र भेला हुने अधिकार कुण्ठित गरेर पूर्वराजा ज्ञानेन्द्र शाहकै बाटोमा लागेको

२० असार, काठमाडौं । नेपाली कांग्रेसले सरकार ज्ञानेन्द्रपथतिर लागेको आरोप लगाएको छ । राष्ट्रियसभा बैठकमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले सरकारले सार्वजनिक स्थलमा प्रदर्शन र भेला हुने अधिकार कुण्ठित गरेर पूर्वराजा ज्ञानेन्द्र शाहकै बाटोमा लागेको आरोप लगाएका हुन् ।
प्रधानमन्त्री केपी ओली आफै जनताको स्वतन्त्रताका लागि जेल नेल बसे पनि सत्तामा पुगेपछि त्यसलाई बिर्सेको पाण्डेले बताए । ‘निषेधित क्षेत्र नतोडेको भए केपी ओली प्रधानमन्त्री हुनुहुदैनथ्यो । अध्यक्ष महोदय पनि त्यो कुर्चीमा हुनुहुदैनथ्यो’ राष्ट्रियसभा बैठकको सुरुमा उनले भने ‘यो सरकार किन ज्ञानेन्द्रपथतिर अघि बढ्दैछ ? बहुमतको दम्भमा जनताको आवाज कुण्ठित गर्ने कोशिस गरिएको छ ।’
संविधानले कुनै पनि नेपाली नागरिकलाई विना हात हतियार शान्तिपूर्वक हिँडडुल गर्न पाउने अधिकार दिए पनि सरकारले कुण्ठित गरेको पाण्डेले बताए । ‘हिजो पञ्चायतमा पनि, ज्ञानेन्द्रको शासनकालमा पनि निषेधित क्षेत्र तोकिएको थियो । म स्मरण गराउन चाहन्छु । धेरै शाहहरु मात्र होइन धेरै तानाशाहहरु पनि जनताको अधिकार खेलवाड गर्दा आफ्नो शासन सत्ता छोडेर बाहिरिएका इतिहास छ, नेपालको इतिहास पनि छ’ उनले भने ।विगतमा निषेधाज्ञा नतोडेको भए संघीय लोकतान्त्रिक गणतन्त्रमा नजाने भन्दै उनले सरकारले सत्तामा हुँदा हिजोको इतिहास बिर्सेर जनतालाई दमन गरेको बताए ।
‘हामीले कुनै कुनाकाप्चामा गएर बोल्न आन्दोलन गरेका थिएनौं । सार्वजनिक ठाउँमा सबैले देख्ने ठाउँमा आन्दोलन गर्ने हो’ पाण्डेले भने ‘हिजो राजा ज्ञानेन्द्रले पनि कुनाकाप्चा देखाएका थिए । आज केपी ओलीजीले कुनाकाप्चा देखाएका छन्’ पाण्डेले भने ।
उनले सरकार अधिनायकवादी सोँचका साथ अघि बढेको आरोप लगाए । पाण्डेले डा. गोविन्द केसी चिकित्सा शिक्षा सुधारको माग राख्दै जुम्लामा अनशन बस्न जाँदा धरपकड गरेको भन्दै आपत्ति जनाए । त्यस्तै छोराको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै अनशनरत गंगामाया अधिकारीको माग पनि पूरा गर्न आग्रह गरे ।

२०७५ असार २० गते १४:२८ मा प्रकाशित

nema
Show More

Related Articles

Check Also
Close
Back to top button