breakingसमाचारनेपाली कांग्रेस

कांग्रेस कमजाेर बनाउनेहरूलाई पार्टीमा बस्ने अधिकार छैनः कुलबहादुर गुरुङ (अन्तर्वार्ता)

कुलबहादुर गुरुङ, केन्द्रीय सदस्य, नेपाली कांग्रेस
नेपाली कांग्रेसभित्र विवाद चरम उत्कर्षमा देखिएको छ । सभापति शेरबहादुर देउवालाई असफल बनाउन असन्तुष्ट पक्षको नेतृत्व गरिररहेका वरिष्ठ नेता रामचन्द्र पौडेल समूह जोडतोडले लागेको छ । आवश्यक पर्‍यो भने महासमिति बैठक बोलाएर देउवालाई सबक सिकाउने पक्षमा पौडेल समूह देखिएको छ ।
देउवाले असन्तुष्ट पौडल समूहलाई मिलाउन प्रयास गरिरहेका छन् । तर, कुरा मिलेको छैन । झन् गुटका भेला, बैठक र परामर्शहरू बाक्लिएका छन् । यसैसन्दर्भमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री, पूर्वमन्त्री समेत रहेका वरिष्ठ नेता एवम् केन्द्रीय सदस्य कुलबहादुर गुरुङ (केबी)सँग हाम्रा सहकर्मीले गर्नुभएको कुराकानीको सम्पादित अंश –
नेपाली कांग्रेस मिल्ने बेला नेताहरू किन झगडा गरेका होलान् ?
कांग्रेसका नेताहरू किन झगडा गरेका होलान् भन्ने त यसको उत्तर नै छैन । झगडा किन गर्छन् । केको निम्ति गर्छन् ? त्यसको पनि खास उदेश्य पनि छैन । खाली आफूमाथिबाट पर्ने, आफू ठूलो हुने । अथवा सभापतिको निम्ति लड्ने । अथवा आफूमात्रै अगाडि बढ्ने जुनखालको कुरा छ, हो त्यो नै सबैभन्दा ठूलो मूल कुरा र जड बन्दै गएको हो ।
म जति बेला महामन्त्री थिएँ । त्यस बेला मैले एउटा प्रस्ताव राखेको थिएँ । नेपाली कांग्रेसमा क्रियाशील सदस्य बनाउनेहरूको एउटा होड छ । त्यो क्रियाशील सदस्यता प्रत्येक महिनामा बनाउनुपर्छ । प्रत्येक महिनामा बनेर पुस महिनाभित्र क्रियाशील सदस्य कति बनिन्छ ? जिल्ला जिल्लामा बनेको क्रियाशील सदस्यता पुस महिनाभरिमा बनेको आधारसहित जिल्लाले रेकर्ड राख्नुपर्छ । त्यो रेकर्ड केन्द्रमा पठाउनुपर्छ । क्रियाशील बनाउने आधारहरू पनि छन् ।
अबफेरि माघ महिनामा पुस महिना भनेर लेख्न पाइँदैन । माघ महिनामा भएको कुरा माघ महिनामा नै लेखिनुपर्छ । महिनाको अन्तिममा बुझाएर केन्द्रमा पठाउनुपर्छ । यदि त्यसो गरेको भए अन्तिम समयमा जब अधिवेशन हुन्छ । अधिवेशन हुने समय अर्थात तीन वर्षमा महाधिवेशन हुन्छ । महाधिवेशन हुनुभन्दा छ महिना अगाडिदेखि बन्द हुनुपर्छ । छ महिना अगाडिदेखि बन्द भएपछि अधिवेशन भएन भनेपनि खोल्नु हुँदैन ।
अहिलेको नेपाली कांग्रेसभित्रको झगडा सिद्धान्तको हो कि व्यक्तिवादी चरित्रको हो ?
मैले भन्नुपर्दा यो व्यक्तिवादी व्यक्तिवादी चरित्र हो । सिद्धान्त होइन ।
यसमा दोषी कसलाई ठान्नु हुन्छ ? सभापति शेरबहादुर देउवा वा असन्तुष्ट पक्षको नेतृत्व गर्नुभएका वरिष्ठ नेता रामचन्द्र पौडेल या कृष्णप्रसाद सिटौला कसलाई दोषी मान्नुहुन्छ ?
यसमा सबै दोषी छन् । रामचन्द्रजी पनि दूधले धोएको मान्छे होइन । शेरबहादुर देउवा पनि दूधले धोएर आएको होइन । कृष्णप्रसाद सिटौलाजीको कुरा भएन । उहाँ पछाडि आउनु भएको छ । उहाँले के–के गर्नुभएको छ त्यो कुरो मलाई राम्रोसँग थाहा पनि छैन । तर, चाहे सिटौलाजी हो । चाहे डा.शेखर कोइराला होस् । कोही पनि चोखो छैनन् । सुरुवातमा कुरा राख्दा सबैले मान्नुपर्ने थियो । मानेनन् । आफूलाई मन लाग्यो केन्द्रीय कार्यसमितिमा सदस्य बन्न पाइन्छ । आफूलाई मन लाग्यो जिल्लामा अधिवेशन हुन लाग्यो अब यो–यो चाहिँ क्रियाशील सदस्य भनेर बनाउन लगाउँछन् ।
नेपाली कांग्रेसभित्रको यो विवादलाई कसरी समाधान गर्न सकिन्छ ?
सिद्धान्त, दर्शन र आदर्शलाई अगाडि राखेर हामी सबैले कांग्रेसलाई अगाडि बढाउनुपर्छ । कांग्रेस मात्रै हाम्रो हो भन्ने खालको कुराहरू सबैले सोँच्यो भने मिलिहाल्छ । नमिल्ने कुरा केही पनि छैन । रामचन्द्रजीलाई सभापति नै बन्नुपर्ने कुरा के नै छ र ? नेता भइहाल्नुभएको छ । कोइराला परिवारको नताले गर्दा डा.शेखर कोइराला या डा.शशांक कोइराला हामी नै हुनुपर्छ भन्ने खालको कुरा नराखे पनि हुनुपर्ने हो । जनताले चाहने हो भने उहाँहरूले राम्रो काम गर्नुभयो भने त सहयोग गरिहाल्छन् नि । ठूलो कुरा त केही भएन । मलाई सभापति हुन्छु । मलाई राख भन्न जरुरी छ र ? छैन नि ।
वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको असन्तुष्ट समूहले नेपाली कांग्रेसमा समानान्तर गतिविधि चलाउँछौँ भन्नुभएको छ । यसले झन् पार्टीलाई असर पर्दैन र ?
समानान्तर कांग्रेस चलाउने अभ्यास अगाडि जमानामा १–२ चोटी भएका थिए । त्यो चलेन, गएन । अब चाहिँ शेरबहादुर देउवा, रामचन्द्र पौडेलमा यी सबै समानान्तर चलाएका हुन् । देउवाले समानान्तर रामचन्द्रविरुद्धमा गर्ने हो भने समानान्तर पार्टी चलाउने होइन । बेग्लै–बेग्लै भएर गए भइहाल्यो नि । यिनीहरूले एकचोटी छोडेर जान आँटेकै हुन् सबैजना नै । गिरिजाप्रसाद कोइरालाको पालामा जति बेला पञ्चायतमाथि पुगेको थियो सबैजना जान आँटेकै त हो नि । अहिले के फरक पर्छ र ?
असन्तुष्ट समूहले सभापति देउवाले एकलौटी रुपमा गरेको निर्णय फिर्ता लिनुपर्छ भनेका छन् । त्यो निर्णय कार्यान्वयनमा लैजानुपर्छ कि फिर्ता गर्नुपर्छ तपाईको विचारमा ?
होइन त्यो एकलौटी निर्णय भनेर भन्नु नै गलत कुरा हो । त्यो एकलौटी निर्णय गर्ने कुरा जुन उसले अगाडि बढायो र एकलौटी निर्णय गर्ने परिस्थिति भयो, त्यो गर्नको निम्ति अगाडिदेखि नै तयारी हुनुपर्छ । सभापतिको अधिकारको कुरा हो । जो पनि सभापति भयो आफ्नो ढंगले चलाउने । वीपी कोइरालाले आफ्नो ढंगले चलाउनुभयो तर, वीपीले चलाउँदा गणेशमान सिंहले विरोध गर्नुभयो, न सुवर्णजीले गर्नुभयो । कसैले पनि विरोध गरेनन् । उहाँले पनि अरुलाई नसोधिकन गर्नुभएकै थिएन । अब अहिले शेरबहादुरले रामचन्द्रजीलाई सोध्न जरुरी छैन ।
१–२ जना रामचन्द्रजीले भनेको मान्छे राखिदिए हुन्छ । संसदमा ल्याउँदाखेरि पनि त्यही कुरा हुन्छ । केन्द्रीय कार्यसमितिमा ल्याउँदापनि त्यही कुरा भएको छ । केन्द्रीय कार्यसमितिमा आफूले मनोनीत गरेका मान्छेहरू धेरै हुन्छन् । त्यसले गर्दा उस (सभापति)को जित हुन्छ । त्यो नभएर प्रजातान्त्रिक पद्धतिअनुसार हामी अगाडि बढ्नुपर्छ भनेर राखियो भने कसैले पनि काम गर्न सक्छ । जो सभापति हुन्छ । उ प्रजातान्त्रिक पद्धतिअनुसार आइसकेपछि उसलाई स्वीकार गर्नुपर्छ ।
सभापति शेरबहादुर देउवा पार्टीमा निरंकुश बन्नुभयो भन्ने आरोप लागेको छ । तपाई पुरानो र वरिष्ठ नेता हुनुहुन्छ । आरोप सत्य हो ?
होइन । शेरबहादुर देउवाजीले जुन ढंगले काम गरिरहनुभएको छ । त्यो उहाँले जान्नुपर्छ । उहाँले वीपी कोइरालालाई पनि देखेर आउनुभएको हो । वीपी कोइरालाले पार्टी चलाएर आएको पनि देखेको छ नि । त्यसपछि सुवर्णजीले पनि पार्टी सभापति भएर केही दिन चलाउनुभयो । सुवर्णजी, वीपी गणेशमान, गिरिजाप्रसाद यी सबैले चलाएपछि विस्तारै विकृति हुँदै आएपछि त्यो विकृतिलाई चाहिँ विकृति हुन नदिन युवा नेताहरूको काम थियो । तर, शेरबहादुर देउवाजीले गर्न सक्नुभएन । गर्नुभएन । बरु फुटेर जानुभयो । उहाँलाई दोष त लागेको छ नि । फुटेर जानुभएको हो ।
त्यस बेला शेरबहादुर देउवाले पार्टी फुटाएर गल्ती गर्नुभएको थियो ?
एकदमै गल्ती गर्नुभएको हो । अहिले पनि फुटेर जानको निम्ति सबै जनाको तयारी पनि भइरहेको छ । यो पनि गल्ती हो । सबैले गल्ती गरिरहेका छन् । फुटेर नजानका लागि सिद्धान्त, दर्शन, आदर्श र पार्टीमा मरिमेट्दा खेरी मूल्यांकन गर्नुपर्छ भन्ने कुरा त कसैले गरेको छैन । व्यक्तिवादी चरित्रमा गएको छ । चाहे रामचन्द्र भन्नुस् । चाहे कृष्णप्रसाद सिटौला भन्नुस् । चाहे शेरबहादुर देउवा भन्नुस् । तर, यो अनुसार हामी सबै मिलेर जाऔँ है भन्ने कुराहरू हुनुपर्छ । केन्द्रीय कार्यसमितिमा ल्याउँदा पनि उन (देउवा)ले आफूलाई मन परेका मान्छे मात्रै मनोनीत गरेर ल्याएका छन् ।
नेपाली कांग्रेसमा कोइराला परिवारको खोजी भएको हो ?
कोइराला परिवारको खोजी भएको छ वा छैन भन्ने कुराहरू म अहिले भन्न सक्दैन । तर, वीपी कोइरालालाई हेर्दा उनको परिवारका सम्बन्धमा खोजी गर्नुपर्ने हो । खोजी गरी माग्नु परिस्थिति उनीहरूले सिर्जना गर्ने होइन । कांग्रेसभित्र सोँच्नुपर्छ । वीपी कोइरालाका परिवारलाई हामीले खोजी गर्नुपर्छ भन्ने वातावरण कोइराला परिवारबाट मात्रै बनाउने होइन, कोइराला परिवार सिद्धान्त, दर्शन, आदर्शमा रहिरहेको छ कि छैन भन्ने कुरा पनि हुनुपर्छ ।
हामी कोइराला परिवारको हो र हामी बर्चश्व रहनुपर्छ भन्ने कुराहरू हो भने त्यो हुँदैन । त्यो हुनुपनि हुँदैन । पार्टीमा परिवारवाद भयो भने राम्रो हुँदैन । वीपीले जुन सिद्धान्त, दर्शन र आदर्शमा देशलाई एउटा बाटो बनाएर गएका थिए, त्यससम्बन्धमा कोइराला परिवारहरूको देन कति छ त ? देन दिन कति तयारी छन् ? सभापति भएर मात्रै कोइराला परिवारको लिगेसीको तयारी मात्रै गर्ने भन्ने यदि हो भने त केही अर्थ छैन । वीपी कोइरालाले भनेको ठाउँमा मर्न जाने मान्छेहरू पनि छन् नि ।
सभापति शेरबहादुर देउवा र असन्तुष्ट समूहको नेतृत्व गर्नुभएका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पार्टीभित्रको विवाद मिलाउनका लागि तपाईको सुझाव के छ ?
मैले व्यक्तिगत रुपमा भेटेर भन्ने कुरा छैन । मैले सर्वसाधारणहरूले बुझ्ने गरेर भन्ने गरेको छु । चाहे रामचन्द्रलाई होस् । चाहे शेरबहादुरलाई होस् । मैले केन्द्रीय कार्यसमितिको बैठकमा लेखेर दिएको छु । तिमीहरूले यो–यो गल्ती गरेका छौँ भनेर लेखेर दिएको हुँ । केन्द्रीय कार्यसमितिको बैठक हुँदा हुँदै सञ्चालन कसरी गर्ने भन्ने खालको कुराहरू हुँदै गर्दा निर्वाचनको समय आयो । ११ जनाको निर्वाचित सदस्यहरू हुनुहुन्छ । यतिले नै निर्णय गर्नुहोस् । उनीहरूले २५ जना पुर्‍याए । निर्णय गराउनलाई ।
२५ जनामा सबै जना गए । त्यस बेला मलाई शेरबहादुरजीले राति १२ बजेसम्म पनि बैठक बस्नुपर्ने भएको हुनाले तपाईलाई राखिएन भनेर मलाई भने । ठीक छ । बिहान उज्यालो भएदेखि साँझ छ बजेसम्म बैठक गर्दा हुँदैन थियो र ? बैठक राति नै गर्नुपर्छ र ? राति १२ बजे बैठक गर्दा के हुने ? नगर्दा के हुने ? मैले ठीक छ भने । ती २५ जनाले आ–आफ्नो मान्छे राखे । अनि उनीहरू हारे । हारिसकेपछि अहिले फुट्यौ भनेर मैले भनिदिएको छु । यसको औषधि भनेको के हो भने, महाविधेशन । महाविधेशन गरियो भने यसको निर्णय हुन्छ ।
नेपाली कांग्रेसमा तपाई यति वरिष्ठ नेता हुनुहुन्छ । पार्टीमा सधै किन पछाडि पर्नुभएको छ । कि तपाईलाई अगाडि बढ्न दिएनन् ?
म असन्तुष्ट भएर पनि हो । त्यहाँ अहिलेको व्यवस्था नै कस्तो छ भने । म निर्वाचनमा जितेर आएँ । तर, एक्लै नै भएँ । उनीहरूले आफ्नो आफ्नो गुट बनाए । म जतिसुकै राम्रो भनुँ । निर्णय त गुटको हुन्छ । मैले भन्ने कुरा पार्टीमा सबै भनेको छु । तर, त्यो निर्णय गर्दा मैले भनेको लाग्दैन । मलाई थाहा छ । पार्टीमा यसरी हुँदैन है भनेको छु । सिद्धान्त, दर्शन र आदर्शमा यो–यो कुराहरूको कमी छ । यो गरौँ भनेको छु ।
पार्टीमा विवाद भइरहेका बेला तपाईले सभापति शेरबहादुर देउवा वा असन्तुष्ट समूहको नेतृत्व गर्नुभएका वरिष्ठ नेता रामचन्द्र पौडेल कसलाई समर्थन गर्नु हुन्छ ?
मैले सकैलाई पनि समर्थन गर्दैन । तिनीहरू मिलेर नआएसम्म कसैलाई पनि समर्थन गर्दैन ।
नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा तपाईको सक्रियता कत्तिको हुन्छ ?
त्यसले हेर्नुपर्छ । कुन–कुन, को–को साथीहरू सक्रिय भएर आउँछन् । साँच्चो नेपाली कांग्रेसलाई अब जगाउनुपर्छ भन्ने खालको धारणा मान्छेहरू पनि पार्टीमा छन् । म जुन ठाउँमा बसेको छु त्यो ठाउँमा एकजना कर्णेलले के भनेका छन् ? भारतमा बसेर कर्णेलको जागिर खाएर आएर नेपालमा बसेकाले के भन्छन् भने, मेरो बाजे कांग्रेस, मेरो बाउ कांग्रेस, म पनि कांग्रेस, तर मैले यसपालि शेरबहादुर देउवालाई भोट दिइन भन्छ ।
उसको क्षेत्रमा शेरबहादुर देउवा उठेको होइन नि । तर, उसले कांग्रेसलाई भोट दिएन भनेको हो नि । किन कांग्रेसलाई भोट दिएन त ? हो यो प्रश्न उसले राखेको छ, त्यो त समाधान गर्नुपर्‍यो । सोध्नुपर्‍यो । खोज्नुपर्‍यो । यो पट्टि चाहे रामचन्द्र जाओस्, चाहे शेरबहादुर होस्, शेखर कोइराला होस्, चाहे शशांक होस् । उनीहरू कसैले पनि सोँचेको छैन । आफ्नो आफ्नो गुटको तयारी गर्‍यो गयो । यो गुट तयारी गर्नु कांग्रेसको सिद्धान्त, दर्शन र आदर्शको विपरित हो ।

तपाई पार्टी कार्यालय नगएको कति समय भयो ?
म पार्टी कार्यालय जान्छु । केन्द्रीय कार्यसमितिको बैठकमा पनि जान्छु । बैठक बिहान ११ बजे बोलाउँछन् । पाँच बजे बैठक हुन्छ । अनि म के गरेर बस्नु ? कति चोटी म त्यो सहि गर्ने कागज ल्याउ त भनेर सहि गरेर हिँडेको छु । समयमा बैठक बसाल्ने परम्परा गर्नुपर्छ । समयको महत्वलाई बुझ्नुपर्छ ।
सभापति शेरबहादुर देउवासँग तपाईको व्यक्तिगत कुराकानी हुन्छ कि हुँदैन ?
हुँदैन । म पहिल जाने गर्थे । आजकाल जाँदैन ।
वरिष्ठ नेता रामचन्द्र पौडेलसँग कुरा भएको छ कि छैन ?
रामचन्द्रजीसँग विरोधको अलिकति कुरा गरिदिने हो भने उठेर हिँडिदिनु हुन्छ ।
केन्द्रीय कार्यसमितिको बैठकमा तपाईको कुराको सुनुवाई हुँदैन ?
मेरो कुराको सुनुवाई पनि हुँदैन । व्यक्तिगत रुपमा सुनाउँदैन पनि । वीपी समाजबाट के भन्छौँ भने तिमीहरू सिद्धान्तहीन हुनुहुँदैन है भनिरहेका छौँ । सिद्धान्त विहीन भएपछि कांग्रेस हुँदैन ।
अहिलेकै अवस्थामा झण्डै दुईतिहाइको बहुमत पाएका कम्युनिस्टहरूसँग लड्न नेपाली कांग्रेसका नेताहरू सक्छन् ?
कांग्रेस चाहिँ छ । कांग्रेस लड्नको लागि तयार भयो भने कम्युनिस्टसँग लड्न सक्छ । तर, नेतृत्वबाट यो खालको कुराहरू भएको छैन । नेतृत्व जबसम्म तयार हुँदैन । तबसम्म केही पनि हुँदैन ।
देशमा अहिले अधिनायकवाद छ ?
एकदम छ । केपी ओलीले जुन ढंगले कुरा गर्दैछन् त्यो सबैले मान्दिनुपर्छ भनिरहेका छन् । यहाँसम्म कि प्रचण्डले पनि त्यो कुरा ठीकै छ भनेर मान्नुपर्छ भनेका छन् । उनीहरूले त गर्ने नै त्यही हो । उनीहरूमा असन्तुष्टि छ भन्ने कुरा सुनिरहनुभएको छ नि ? असन्तुष्ट भएपनि फुट हुने गरेर केही गरेका छैनन् । असन्तुष्ट भएपनि पेल्दै जान्छन् कम्युनिस्टहरू । यो चाहिँ अधिनायकवद वा कम्युनिस्टहरूको सिद्धान्त दर्शन र आदर्श यसैमा निहीत हुन्छ ।
https://www.republicadainik.com बाट साभार 

nema
Show More

Related Articles

Back to top button