समाचार

भोलि नै एमाले-माओवादी पार्टी एकता घोषणा ! निर्वाचन आयोगमा जानुअघि दुवै पार्टीका अन्तिम बैठक बस्दै

२ जेठ, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्र पार्टी एकता गर्न सहमत भएका छन् ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार भएको वार्तामा एकता सहमति जुटेको हो । सम्भवत भोलि नै एकता घोषणा हुनेछ ।
एकीकरणअघि दुवै पार्टीका केन्द्रीय कमिटी बैठक बसेर मान्युट गरेपछि मात्र निर्वाचन आयोगमा जानकारी दिनुपर्छ ।
माओवादीको केन्द्रीय सचिवालयको विस्तारित बैठक बस्दैछ भने एमालेले केन्द्रीय कमिटीको बैठक बिहीबार ११ बजे बोलाएको छ ।
एमाले केन्द्रीय कमिटी बैठकअघि पार्टी एकता संयोजन समितिको बैठकले पार्टी एकीकरणको घोषणा गर्ने सम्भावना छ ।
बैठकपछि पत्रकार सम्मेलन गरेर पार्टी एकता भएको घोषणा हुन सक्ने माओवादी उच्च स्रोतले बताएको छ ।
सकेसम्म बिहीबार नै एकीकृत पार्टी ‘नेकपा कम्युनिष्ट पार्टी’ निर्वाचन आयोगमा दर्ता गर्ने दुई दलको तयारी छ । यद्यपि एमाले उपमहासचिव बिष्णु पौडेलले भने संयोजन समितिको बैठकपछिमात्र टुंगो लाग्ने बताए । उनले दुवै अध्यक्षको भनाइ उधृत गर्दै भने-एकता ‘अन प्र्रोग्रेस’मा छ ।
पौडेलले अनलाइनखबरसँग भने, ‘मैले दुबै अध्यक्षलाई सोधेँ । उहाँहरुले एकीकरणको बारेमा वर्क अन प्रोग्रेस भन्नु भएको छ । भोलि संयोजन समितिको बैठकले टुंगो लगाउनेछ ।’
एमालेको स्थायी कमिटी बैठक आजै साँझ बस्दैछ । माओवादी केन्द्रीय कार्यालयको बिस्तारित बैठक पनि बस्दैछ । दुई अध्यक्षबीच के सहमति भयो भन्ने अझै बाहिर आएको छैन ।
स्रोतका अनुसार केन्द्रीय कमिटीमा प्रतिशतको आधारमा हुने छैन । माओवादीले समानतामा आधारित एकता हुनुपर्ने भनेको छ । एमालेका २५/३० जना बढी केन्द्रीय सदस्य रहनेछन् ।
पोलिटव्यूरो र स्थायी कमिटी पनि सोही अनुसार बन्नेछ । पार्टीमा दुई अध्यक्ष बाहेक अरु पदाधिकारी हुने छैनन् ।
मदन आश्रति स्मृति दिवसमा माओवादी सहभागी हुने
भोलि मदन भण्डारी र जीवराज आश्रति स्मृति दिवस हो । एमालेका तत्कालीन महासचिव भण्डारी र जीवराज आश्रतिको जेठ ३ गते दासढुंगामा भएको सवारी दुर्घटनामा निधन भएको थियो ।
मदन आश्रति स्मृति दिवसको अवसरमा एमालेले गर्ने कार्यक्रममा माओवादी शीर्ष नेताहरुलाई बोलाइएको छ ।
एमाले र माओवादीले १७ असोजमा गठबन्धन बनाएर चुनाव लड्ने सहमति गरेका थिए । त्यसअनुसार प्रदेश र प्रतिनिधिसभा चुनावमा ६०/४० को भागवण्डाका आधारमा उम्मेदवार उठाए । प्रतिनिधिसभामा बहुमत पाएको वाम गठबन्धनले ६ वटा प्रदेशमा पनि सरकार बनाए ।
केन्द्रमा एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार गठन गरे लगतै ७ फागुनले दुई दलका शीर्ष नेताहरुले पार्टी एकतासम्वन्धी सातबुँदे सहमति गरे । एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी र निर्देशक सिद्धान्त ‘माक्र्सवाद-लेलिनवाद’ हुने सहमाति छ ।
दुई दलले कार्यदल बनाएर अन्तरिम राजनीतिक प्रतिवेदन र विधान पनि बनाएका छन् । तर, केन्द्रीय समितिको भागवण्डा लगायतमा सहमति हुन सकेन ।
बरु बेलाबेला दुई दलबीच खटपट देखियो । दुई अध्यक्ष ओली र प्रचण्डबीच थुप्रै वान टु वान वार्ता भएपछि एकअर्काप्रति विश्वासको वातावरण नबन्दा एकता हुन सकेको थिएन ।
यही कारण वैशाख ९ मा गर्ने भनिएको एकता हुन सकेन । तर, बुधबारको बैठकमा ब्रेक थ्रू भएको छ ।
 

२०७५ जेठ २ गते १४:४५ मा प्रकाशित

 साभार  अनलाइनखबर
nema
Show More

Related Articles

Back to top button