breakingविचार

एकीकृत नेपालको मियो

श्रीहरि अर्याल
पृथ्वीनारायण शाह थिए र नै विश्वको नक्सामा सार्वभौमसत्तासम्पन्न नेपाल राष्ट्र जन्मिन सक्यो। नेपाल राज्य भएकैले नेपालको माटो, जल, जंगल र यहाँका मानिसका कणकणमा, मनमनमा, भौतिक शरीरविना पनि उनी बाँचिरहेका छन्। पृथ्वीनारायण भनेकै नेपाली राष्ट्रियताको कहिल्यै ननिभ्ने ज्योतिको अखण्ड स्वरूप हो। नेपाल भएकै कारण नेमुनीदेखिका अनेक प्रसंग आउँछन्। उनकै कारण नेपाली भाषा, धर्म र संस्कृतिका साथै नेपाली राष्ट्रियताको श्रीवृद्धि भएको हो। अनेक जातजाति र अन्य भाषा एवं भेषभूषाको संरक्षण र संवद्र्धन यहाँ हुन पाएको छ। नेपाल भएकै कारण हामी आफूलाई नेपाली भएकोमा गर्व गर्छौं। र भावी पुस्ताले पनि यसमा गर्व गर्ने ठाउँ पाएको छ। नेपाल भएकै कारण हिमवत्खण्डअन्तर्गत नेपालमहात्म्यले महत्व पाएको छ।
कूल पुरुष अर्थात् आआफ्नो कूल गोत्रका ऋषि भएकाले हामी तिनकै वंश विस्तारका क्रममा अस्तित्वमा भएका हौं भनेजस्तै नेपाल राज्यको कूल पुरुष पृथ्वीनाराण भएकैले उनका सन्तान-दरसन्तानका रूपमा हामी आफूलाई नेपाली हुनुमा गर्व गर्छौं। त्यसबेला पृथ्वीनारायण गोर्खा धरतीमा उदाएका भएर आज हामी छौं। तसर्थ जो जहाँ रहे पनि र जो जहाँबाट आएका भए पनि सबै नेपालीमा अन्तरमनदेखि पृथ्वीनारायणप्रति जनस्तरमा भावभक्ति छ। आफूलाई नेपाली हुँ भन्ने प्रत्येक व्यक्तिले पृथ्वीनारायणप्रति नतमस्तक हुनुपर्ने कारण पनि त्यही हो। नेपाली हुनका लागि सर्वप्रथम उसले पृथ्वीनारायणलाई नेपाल राज्यको स्थापनाको आधारशिला राख्ने सर्वोच्च शिखर पुरुषका रूपमा अभिवादन गर्नैपर्छ।
पृथ्वीनारायणका बारेमा सिद्धहस्त धेरै इतिहासकारले धेरै पुस्तक लेखेका छन्। उनको जीवनी लेखेका छन्। विभिन्न कोणबाट भविष्यमा अरू लेखिँदै पनि जालान्। तर जसले उनका बारेमा जे लेखे पनि वर्तमान नेपालको आधारशिला उनैले राखेका हुन् भन्न भने कसैले पनि छुटाउन सक्दैनन्। त्यसैले नेपालको इतिहासका उनी असाधारण युगद्रष्टा कूल पुरुष हुन्। त्यसैले आफ्नो जीवनकालको अन्तिम अवस्थामा उनले भावी सन्ततिका लागि दिएको उपदेशलाई मात्र मनन गर्ने हो भने पनि उनमा भएको विलक्षण प्रतिभाको बोध हुने गर्छ। एकीकृत नेपालको रचनाको उनी मियो नै हुन् भन्ने कुरा यसको अध्ययनबाट पनि प्रस्ट हुन्छ।
२०१० सालमा द्वितीय संस्करणका रूपमा पृथ्वीजयन्ती समारोह समितिका तर्फबाट प्रकाशित एवं योगी नरहरिनाथ तथा इतिहासशिरोमणि बाबुराम आचार्यद्वारा सम्पादित राष्ट्रपिता श्री ५ बडामहाराजा पृथ्वीनारायणको दिव्योपदेश नामक पुस्तिकाको पीठिकामा सम्पादकद्वयको भनाइ छापिएको छ, जसमा भनिएको छ, ‘पृथ्वीनारायणले कुन सिद्धान्तको भर परेर नयाँ राज्यस्थापना गरेका र बढाएका थिए भन्ने कुरा यस उपदेशमालाबाट स्पष्ट हुन्छ। उनका उत्तराधिकारीहरूले पनि २० वर्षसम्म यी सिद्धान्तको पालना गरी राज्य विस्तार गरेको प्रमाण इतिहासमा पाइन्छ। १८५० सालदेखि यिनका सिद्धान्तको क्रमशः शिथिलता हुँदै आएको र त्यसको परिणाम पनि त्यस्तै हुँदै आएकाले यस उपदेशमालाबाट पाठकहरूले पनि केही नयाँ पाठ सिक्नु अनुचित होवैन’ नेपालको इतिहासका महान् अन्वेषक एवं लेखकहरूका यी भनाइ पनि त्यत्तिकै मननीय छन्।

राष्ट्रनिर्माताको व्यक्तित्व र उपदेशलाई सम्झाउने-बुझाउने सारभूत काममा राज्य पछि परेको छ।

पृथ्वीनारायणले काठमाडौं उपत्यकालाई एकीकरण गरेपछि नुवाकोटमा तीन दिनसम्म भारदारी सभाको बैठक बसाएर नेपाल एकीकरण अभियानका क्रममा भएका यावत् कामकुराको मूल्यांकन गरे गराए। मुलुकको स्थायित्व र समृद्धिका साथै भावी रणनीतिका विषयमा विषद् व्याख्या गरे। उनको त्यसै भाषणको टिपोटका रूपमा रहेको अभिलेखलाई पृथ्वीनारायणको दिव्योपदेशका रूपमा ग्रहण गरिएको कुरा इतिहासकार बताउँछन्। बडो दुःखसँग जोडेको, आधिराज्यलाई छोटा-बडा सबैले आफ्नै फूलबारी सम्झेर रक्षा गर्नु, भोगविलासतिर नलाग्नु, आपसमा मेलजोल गरिरहनु, यो देश दुई ढुंगाबीचको तरुलजस्तो छ। होस् गरेर राज्य सञ्चालन गर्नु, अन्याय मुलुकमा हुन नदिनु, घुस खाने र खुवाउने दुवै देशका शत्रु हुन् यी राजा (राज्य) का महाशत्रु हन् भन्ने कालजयी उपदेश यिनले दिएका छन्। यस्तो मार्गदर्शन गर्ने राष्ट्रका कूल पुरुषको उपदेशको पालनामा अहिले पनि नेपाल चुकेको छ। त्यसकारण जबसम्म मुलुकका कूल पुरुषले दिएको यस्ता आशीर्वचनलाई हामी ग्रहण गर्दैनौं, तबसम्म देशमा शान्ति सुव्यवस्था कायम हुन सक्दैन भन्ने सबैले बुझ्न जरुरी छ।
समयक्रममा धेरै कुरो बदलिन सक्छन्। समयको गतिसँग चल्नु व्यक्ति वा राज्य सबैको बाध्यता पनि हुन सक्छ। तर पनि कूलको रीतिस्थिति र परम्पराका साथै घरमूलीले दिएको मूल मन्त्रलाई कसैले पनि बिर्सनु हुँदैन। त्यसको चुरो कुरो वा मर्मलाई कसैले पनि तोड्न हँुदैन। आफ्नो रीतिस्थिति र परम्परालाई चटक्कै बिर्सिएमा आफ्नो मौलिकता वा आफ्नो पनको नामनिसान मेटिन्छ। हाम्रो देशको परिप्रेक्षमा उनले त्यसबेला निर्देशन गरेको कूटनीति, राजनीति, अर्थनीति, सदाचार, न्यायको सारभूत सिद्धान्त, धर्म, संस्कृतिलगायतका विषयमा दिएको उपदेश मननीय एवं अनुकरणीय छन्।
पृथ्वीनारायण राष्ट्रिय एकीकरणको काम नसकिँदै ५२ वर्षकै उमेरमा दिवंगत भए। तत्पश्चात् उनी पछि २३ वर्षका उनका जेठा छोरा प्रतापसिंह राजा भए तर उनको २६ वर्षकै उमेरमा निधन भयो। तत्पश्चात् पृथ्वीनारायणको अधुरो कामलाई पूर्णता दिन उनका अर्का छोरा बहादुर शाह अघि सरे। पश्चिम नेपालको एकीकरणमा उनले योगदान दिएका थिए। तर पनि उनीविरुद्ध षड्यन्त्र भए। त्यसपछिको अवस्थामा पृथ्वीनाराणको दिव्योपदेशको अनुसरण गर्ने कोही भएनन्। परिणामस्वरूप राजदरबारमा सधैं आपसी कलह हुन थाल्यो र अन्त्यमा गएर जंगबहादुर र उनका परिवारका हातमा मुलुकको शक्ति केन्द्रित हुन पुग्यो।
यसबाट के बुझिन्छ भने पुर्खाले देखाएको बाटोबाट कोही पनि विचलित हुनु हँुदैन। सृष्टिकर्ताको नियमलाई सबैले सधैं पालना गर्नुपर्छ। त्यसको अनुसरणबाट आफ्नो गन्तव्यमा पुग्न सहज हुन्छ। पृथ्वीनारायणको जन्मजयन्ती लोकलाजका कारण मनाएको जस्तो गरिन्छ। उनको व्यक्तित्व र उपदेशलाई सम्झाउने-बुझाउने सारभूत काममा राज्य पछि परेको छ। नेपालका मूल पुरुषको सम्मान गर्न हामी जति पछि पर्दै छौं, त्यतिनै हाम्रो राष्ट्रिया कमजोर हुँदै जानेछ। त्यसैले जनजनको मनमस्तिष्कमा निवास गरेका नेपाली राष्ट्रियताका उद्गम शिखर पुरुषको सम्मानका खातिर पुस २७ लाई राष्ट्रिय दिवसका रूपमा मनाउने परम्परा थालनी गर्नुपर्छ। साथै, नेपालका राष्ट्राध्यक्ष, प्रधानमन्त्री, संसद्, सर्वोच्च अदालत, मन्त्रालयलगायतका राज्यको सबै निकायका कार्यालयहरूको केन्द्रीय स्थानमा पृथ्वीनारायण शाहको भव्य एवं आकर्षक तस्बिर राख्ने कामको प्रारम्भ गर्न सके नेपाल र नेपालीप्रति उहाँले लगाउनुभएको गुनको सम्मान हुनेछ।
अन्नपूर्ण पोष्टबाट साभार

nema
Show More

Related Articles

Back to top button