समाचार

घरमै बसेर रमजान मनाउन राष्ट्रिय मुस्लिम आयोगको आग्रह

१२ बैशाख, काठमाडौैँ
राष्ट्रिय मुस्लिम आयोगले यो बर्षको रमजान घरभित्रै बसेर मनाउन आग्रह गरेको छ । आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिमका कारण मुस्लिम धर्मावलम्बीहरुको महान पर्व रमजान घरमै बसेर मनाउन आग्रह गर्नुभएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आज आयोजित नियमित पत्रकार सम्मेलनमा अध्यक्ष अन्सारीले मुस्लिम समुदायलाई रमजान महिनामा पनि घरमै नमाज पढ्न आग्रह गर्नुभएको हो । कोरोना भाइरसको महामारी कुनै धर्म र जात विशेषलाई हुने नभएकाले मुस्लिम समुदायलाई लकडाउनको पूर्ण पालना गर्न उहाँले सुझाव दिनुभयो ।
जमातीको ठूलो संख्यालाई उदयपुर र वीरगञ्जमा कोरोना भाइरसको संक्रमण देखिएको भन्दै उहाँले आफूहरु गम्भीर भएको बताउनुभयो । धर्म गुरु र केही कर्मचारी बसेको मस्जिद र मदरसामा सचेत गराएको उहाँको भनाई छ ।
भोलिदेखि मुस्लिम समदायको रमजान पर्व सुरु हुँदैछ । एक महीनासम्म चल्ने यो पर्वमा मुुसलमान दिनमा निराहार रोजा बस्ने गर्छन । रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समयतालिका पनि परिवर्तन हुने गरेको छ । रमजान महीनामा मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको विश्वास गरिन्छ ।
 
यो महीनामा अल्लाहको कृतज्ञता प्राप्त हुने मान्यता छ । दान दिनु, गरीब र दीन दुःखीलाई सेवा गर्नु तथा जकात निकाल्नु यो महीनाको ठूलो विशेषता हो । रमजान व्रत बस्न आज साँझ मुसलमानले चन्द्रमा हेर्न आकाशतिर दृष्यावलोकन गर्ने र चन्द्रमा हेरेर रमाउने प्रचलन छ ।

nema
Show More

Related Articles

Back to top button