गोविन्दराज जोशीलाई नेपाली कांग्रेसले पाँच वर्ष साधारण सदस्यसमेत नरहने गरी गरेको कारबाही फिर्ता लिन जोशीनिकट नेता/कार्यकर्ताले माग गरेका छन्।
तनहुँमा सोमबार पत्रकार सम्मेलन गर्दै उनीहरूले जोशीमाथि कारबाही फिर्ता नलिए आफूहरूले पनि सामूहिक रूपमा राजीनामा दिने बताए।
जोशी निकट नेता परशुराम गिरीले पार्टीले पूर्वाग्रही हिसाबले जोशीलाई कारबाहीको निर्णय गरेको आरोप लगाएका थिए।
‘यस्ता पूर्वाग्रही निर्णयले कांग्रेसको संगठन ध्वस्त हुन सक्छ। यसको जिम्मेवारी रामचन्द्र पौडेलले लिनुपर्छ,’ उनले भने।
२०७४ सालमा भएको निर्वाचनमा तनहुँ १ मा पौडेललाई हराउन भूमिका खेलेको उजुरीको आधारमा जोशीलाई शनिबार बसेको कांग्रेस अनुशासन समितिले कारबाही गरेको थियो।
जोशी निकट बीपी समाज तनहुँ अध्यक्ष डिल्लीराम अधिकारीले पार्टीमा जीवन दिएका नेताहरूलाई कारबाही गरिएकोमा आपत्ति जनाए।
‘यो कारबाही फिर्ता भएन भने पौडेलको पनि यही हालत हुनेछ,’ उनले भने।
तनहुँमा जोशी निकटले पार्टीको बेग्लै कार्यसमिति नै बनाएका छन्।