breakingसमाचारनेपाली कांग्रेस

कांग्रेसमा सभापति झन् बलियो बन्दै

काठमाडौं ÷ नेपाली कांग्रेसको प्रस्तावित विधानले सभापतिलाई झन् शक्तिशाली बनाउने प्रावधान ल्याएको छ। विधान मस्यौदा समितिले तयार पारेको प्रारम्भिक मस्यौदामा नौ पदाधिकारीमा सात जना मनोनित हुने व्यवस्था गरेको छ ।
नयाँ संविधानअनुसार पार्टी संरचना बनाउन महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वमा कांग्रेसले विधान मस्यौदा समिति गठन गरेको थियो। खड्का नेतृत्वको समितिले तयार पारेको प्रारम्भिक मस्यौदामा पार्टीको सभापतिसहित दुई उपसभापति, दुई महामन्त्री, तीन सहमहामन्त्री र एक कोषाध्यक्ष व्यवस्था गर्ने प्रस्ताव छ। पदाधिकारीमा सभापति र एक महामन्त्रीको मात्रै निर्वाचन गरिने उल्लेख छ ।
समिति सदस्य आनन्दप्रसाद ढुंगानाले केन्द्रदेखि तल्लो निकायसम्म कोषाध्यक्ष पनि मनोनित नै राख्ने प्रस्ताव गरिएको बताए। केन्द्रसँगै प्रदेश, जिल्ला, संघीय निर्वाचन क्षेत्र, प्रादेशिक निर्वाचन क्षेत्र र स्थानीय तहको गाउँटोल कमिटीसम्मको कांग्रेसको संरचना नयाँ संविधानअनुसार समानुपातिक समावेशिताको आधारमा हुने विधानमै उल्लेख छ। विधानको मस्यौदामा स्थायी अनुशासन समिति र निर्वाचन समितिको प्रस्ताव छ।
पार्टी सदस्यतालाई पनि चार भागमा वर्गीकरण गर्ने प्रस्ताव छ। त्यसअनुसार कांग्रेसले साधारण, क्रियाशील, सम्मानित र विशेष सदस्यता व्यवस्था गर्न लागेको छ। विद्यमान विधानमा साधारण र क्रियाशील सदस्यताको व्यवस्था छ। क्रियाशील सदस्यताको टुंगो लगाउने जिम्मा महामन्त्रीले पाउने भएका छन्। विधान मस्यौदामा संघीय निर्वाचन क्षेत्रको समिति सभापति नेतृत्वमा प्रदेश समितिलाई समेट्दै महासमिति र महाधिवेशन प्रतिनिधि टुंगो लगाउन प्रस्ताव गरिएको छ।
सोमबारदेखि सातै प्रदेशमा छलफल
संशोधन समितिले ७ प्रदेशका १२ ठाउँमा प्रस्तावित मस्यौदामाथि छलफल चलाउने भएको छ। ती छलफलबाट आएका सुझाव समेटेर मस्यौदालाई अन्तिम रुप दिई केन्द्रीय कार्यसमितिमा प्रस्तुत गर्ने तयारी छ। छलफल असोज ८ देखि १३ गतेसम्म हुनेछ।
छलफलमा सम्बन्धित प्रदेशका पार्टीबाट निर्वाचित सांसद, जिल्ला सभापति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि र भ्रातृसंस्थाका प्रमुख उपस्थित हुनेछन्। समितिले शनिबार पत्रकार सम्मेलन गरी सातै प्रदेशका १२ ठाउँमा हुने दुई दिने विधान मस्यौदामाथिको छलफलमा पार्टीका शीर्ष नेताहरू सहभागी हुने जानकारी दियो।
शीर्ष नेतासँगै समितिले विधान मस्यौदामाथि आउने सुझाव संकलनका लागि समितिका दुईजना सदस्य समेत खटिने पत्रकार सम्मेलनमा समिति संयोजक खड्काले जानकारी दिए।
सभापति शेरबहादुर देउवा काठमाडौंमा, गोपालमान श्रेष्ठ इलाममा, चित्रलेखा यादव वीरेन्द्रनगरमा, कृष्णप्रसाद सिटौला जनकपुरमा जानेछन्। त्यस्तै पोखरामा महामन्त्री डा।शशांक कोइराला, भैरहवामा विजय गच्छदार, विराटनगरमा महामन्त्री खड्का, धुलिखेलमा सीतादेवी यादव, धनगढीमा डा।प्रकाशशरण महत, विरगन्जमा रामचन्द्र पौडेल, बाग्लुङमा अर्जुननरसिंह केसी तथा घोराहीमा विमलेन्द्र निधिले छलफलको नेतृत्व गर्नेछन्।
पत्रकार सम्मेलनमा समिति प्रवक्ता रमेश लेखकले समितिले सर्वसम्मत तरिकाले मस्यौदा बनाएको बताए।
–केन्द्रीय समिति स् १०१ देखि १३३ सदस्यीय
–२ उपसभापति, २ महामन्त्री, ३ सहमहामन्त्री र १ कोषाध्यक्ष
–कोषध्यक्ष मनोनित
–अनुशासन र निर्वाचन समितिको स्थायी व्यवस्था
–साधारण, क्रियाशील, सम्मानित र विशेष सदस्यताको व्यस्था
यो समाचार आइतवारको अन्नपूर्ण पोष्टमा छापिएको छ ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button