समाचारअन्तर्वार्तानेपाली कांग्रेस

देउवा र पौडेल कांग्रेस सिध्याउने षडयन्त्रको गोटी बने : गोविन्दराज जोशी (भिडियो)

रामचन्द्रले तनहुँमा चुनाव त हैन, बास समेत पाउँदैनन्

facebook sharing button
twitter sharing button
sharethis sharing button

 

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले महाधिवेशनको मुखमा प्रभावशाली नेता गोविन्दराज जोशीलाई कारबाही गरेको छ । अघिल्लो आम निर्वाचनमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजित गर्न अन्तर्घात गरेको आरोपमा गतसाता अनुशासन समितिले जोशीलाई कारबाही गरेको हो । एउटै जिल्ला तनहुँबाट राष्ट्रिय राजनीतिमा स्थापित पौडेल र जोशीबीच वैमनस्यता बढ्दै जाँदा आफू पौडेलको ब्यक्तिगत रिसईबीको शिकार बनेको आरोप जोशीले लगाँउदै आएका छन् । यसै सन्दर्भमा हामीले पूर्वमन्त्री एवं एकताकाका प्रभावशाली कांग्रेस नेता गोविन्दराज जोशीसंग कुराकानी गरेका छौं । प्रस्तुत छ टिभी अन्नपूर्णका लागि राजु सुवेदीले गर्नुभएको कुराकानीको सम्पादित अंश :
तपाईलाई अब के भनेर सम्बोधन गर्ने नेपाली कांग्रेसको पूर्व नेता भनौं वा राजनीतिज्ञ ? 
नेता वा राजनीतिज्ञ कहिल्यै पूर्व हुँदैन । पार्टीकौ कुनै पदमा हुनु वा नहुनु कुनै महत्वपूर्ण कुरा होइन । नेपाली कांग्रेस एउटा संस्कृति हो र त्यो संस्कृतिमा म अहिले पनि छु, भोलि पनि रहन्छु । मलाई कांग्रेस हुँ भन्नलाई कसैले रोक्न सक्दैन । काँग्रेसको कुरा गर्ने हो भने चाहिं २००७ साल, १६ साल, ३६ साल ४२ सालदेखिको आन्दोलनको इतिहास बोकेका मान्छेले भरिएको , खारिएको पार्टी हो । नेपाली कांग्रेस आफैंमा एउटा इतिहासको किताब हो, त्यो किताबमा बाहिरबाट नयाँ पाना ल्याएर थप्दैमा अस्वभाविक हुन्छ ।  तर अहिले आएर पार्टीमा ईमानदार मानिसहरु नअटाउने दिन आएको छ ।
अहिले कांग्रेसमा तपाईंहरुलाई कारबाही गर्ने अनि पूर्व पञ्चहरुलाई चाहिं फूलमाला लगाएर स्वागत गर्ने काम भयो नि, यो संयोग मात्रै हो ? 
यो नेपाली कांग्रेस सिध्याउँने र कांग्रेसरहित नेपाल बनाउने सुनियोजित षडयन्त्र हो । त्यो बाटोको लागि शेरबहादुर देउवाजी र रामचन्द्र पौडेलजी  उपयुक्त पात्र बन्नुभयो । नेपाली कांग्रेस केही गर्दा पनि नसिध्दिएपछि इमान्दार कार्यकर्ताहरुलाई पाखा लगाउँन खोजिएको छ । म आफैं पनि नेताहरुको श्रद्धाञ्जलीमा मात्र पार्टी कार्यालय जान थालेको थिएं । सानेपाको कार्यालय ईमान्दार, पुराना र निष्ठावान कार्यकर्ताहरुका लागि श्रद्धाको थलो बन्न छाडिसक्यो । पछिल्ला गतिविधिहरु हेर्दा नेपाली कांग्रेस मजस्ता मान्छेहरुको लागि उपयुक्त हैन भन्ने लाग्न थालेको छ । बिपी कोइरालाले खोलेको पार्टी भन्ने अवस्था अब रहेन । शेरबहादुर र रामचन्द्रजीहरुले पुराना कार्यकर्ताहरुलाई समाप्त पारेर ईमान्दार कार्यकर्ताहरुलाई मर्माहत पार्नुभएको छ । पञ्चहरुलाई पार्टी प्रवेश गराँउदै गर्दा उहाँहरुका मुहारमा पुरै खुसी देखिन्थ्यो, मानौं कि ईमान्दार कार्यकर्तालाई पाखा लगाउन सफल भएको खुसी हो । त्यसैले यो सञ्जोग होइन, पदीय हिसाबले शेरबहादुर देउवा र रामचन्द्र पौडेल सभापति बरिष्ठ नेता भने पनि कांग्रेसमा अहिले मभन्दा सिनियर नेता कोही पनि छैन । मलाई सबै नक्कली आरोप लगाएर गिरीजाबाबुको नेतृत्वमा मैले नै गरेको आन्दोलनको प्रतिफल खाएर ममाथि नै कारबाही गर्नु दुर्भाग्यको कुरा हो । अहिलेको कांग्रेसले सिद्धान्त छोडेर सत्तालाई प्राथमिकता दिने काम भैरहेको छ । बिपीले भन्नुभाछ कि जुन दिन कांग्रेसले सिद्धान्त छोडेर सत्तालाई प्राथमिकता दिन्छ, त्यो दिन नेपाली कांग्रेस निरर्थक हुन्छ भन्नुभएको छ, पार्टी बिस्तारै त्यही बाटोमा पुगेको छ ।
तपाईंलाई आफ्नै पार्टीका उम्मेद्वार पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई संसदीय निर्वाचनमा अन्तर्घात गरेर हराएको आरोप छ नि त ? किन त्यसो गर्नुभयो ?
हैन, चुनाव त लड्नेमान्छेले आफैं तागत लगाएर जित्नुपर्छ । मसंग त्यत्तिको तागत छ भन्ने लागेको भए शेरबहादुरजीले त मसंग बोलाएर सल्लाह गर्न सक्नुहुन्थ्यो नि त, मत पार्टीकै मान्छे हो नि त । तर मलाई भूमिका बीहिन बनाउने र पार्टीबाट निकाल्ने डिजाईन धेरै पहिलेदेखि नै थियो । जसका लागि रामन्द्रजी उपयुक्त पात्र हुनुभयो । शेरबहादुरजी पहिले पनि पार्टी फोडेर गएको मान्छे, रामचन्द्रजी पनि हातमा भाषण लिएर ठीक्क परेको बेलामा गिरीजाबाबुले फिर्ता ल्याउनुभएको हो । अहिले पार्टी फुटाउनेहरुको हातमा पार्टीको हालीमुहाली भएपछि पार्टीको आत्मा मरिसक्यो । जनताका लागि केही नगर्ने मान्छे पार्टीले टिकट दिंदैमा कसरी चुनाव जितिन्छ र ? फेरि चुनाव हार्ने मान्छेले अरुले हरायो भन्नु त हाँस्यास्पद कुरा हैन र ? मलाई त रामचन्द्रजीले कहिल्यै चुनाव प्रचारमा जाँउ सम्म भन्नुभएन । बरु आफैंबिरुद्ध बागी उम्मेद्वारी दिनेलाई समानुपातिक सूचिमा राख्नुभयो । मलाई त उहाँहरुले समानुपातिकमा पनि राख्नुभएन । अब म उम्मेद्वार नै नभएको मान्छेले कसरी हराएँ होला ? उहाँ आफैं अयोग्यहरुको लिष्टमा पनि पछाडि परेको मान्छे हो ।

तपाईंमाथि पार्टीले अन्याय गरेको हो भने त आम कार्यकर्ताको असन्तुष्टि पनि त सार्वजनिक हुनुपर्ने नि, त्यस्तो त देखिएन त ?
होइन, कार्यकर्तामा निराशा छाएको छ । कांग्रेस केन्द्रिय समितिकै कतिपय साथीहरुले  मलाई टेलिफोन गरेरै आफूहरु गल्ती देख्दा देख्दै पनि बोल्न नसकेको भनेर माफी मागेका छन् । ममाथिको कारबाही बिरुद्ध बोल्दा महाधिवेशनमा टिकट नपाईने डर पनि देखिन्छ कतिपयमा । रामचन्द्रजीको त म भन्न सक्दिन, तपाईंले शेरबहादुरजीलाई पनि एक्लै सोध्नुभयो भने गल्ती स्वीकार्छन् भन्नेमा म विश्वस्त छु ।
तपाईलाई पार्टीले कारबाही ग¥यो । अब तपाईंको यात्रा कसरी अगाडि बढ्छ, सन्यास लिनुहुन्छ राजनीतिबाट ?
राजनीति पेशा र राजनीति सिद्धान्त, संस्कृति दुईटा कुरा हुन्छ । मत राजनीतिलाई पेशा बनाउनु हुन्न भन्ने बिपीको कार्यकर्ता । पेशा भए पो छोड्ने र लिने कुरा आँउदैन । नेपाली कांग्रेस नरहे नेपाल नै रहँदैन, अहिले कांग्रेस जुन बाटोमा हिंडीरहेको छ, कांग्रेसको पतन अपरीहार्य छ । यसलाई बचाउँनुपर्ने छ  । तर बचाउँनका लागि त्यहाँ गएर गर्ने मेरो भूमिका छैन । म आफ्नो तर्फबाट आम कार्यकर्ताहरुलाई सचेत बनाएर कांग्रेसलाई पुरानै स्थानमा पु¥याएर राष्ट्रियता र प्रजातन्त्र जोगाउने अभियानमा लाग्छु । तर तीनवटा कुरा म गर्दिंन–म अर्को पार्टी पनि खोल्दिंन,म अर्को कुनै पार्टी पनि खौल्दिंन र म गल्ती भयो भनेर पार्टी कार्यालय पनि जाँदिन ।
त्यसो भए अब के गर्नुहुन्छ त ? राजनीति छोड्दिन पनि भन्नुहुन्छ , पुनरावेदन पनि गर्न जाँदिन भन्नुहुन्छ, अबको बाटो के त ?
यो जुन अन्याय भएको छ, त्यो अनैतिक अराजनीतिक निर्णय गर्ने विवैकहीन मान्छेहरुको हुलमा गएर अनुनय विनय गर्नु मेरो लागि अत्यन्त दुर्भाग्यपूर्ण हुन्छ ।
तपाईंमाथि यस्तो कारबाही हुँदा पनि तपाईंको समर्थनमा अथवा निर्णय गलत भयो भनेर कसैले बोलिरहेको छैन नि, अथवा कसैले बोलेर निर्णय पुनर्विचार होला ?
किन नबोल्नु ? सबै बोलिरहनुभएकै छ नि । शशांकजी, शेखरजी,मिनेन्द्रजी केबी गुरुङजीहरुले यो गलत भयो भनेर भनिराख्नुभएकै छ । खासमा कारबाही गर्नुपर्ने कुनै कारण नै छैन । रामचन्द्र र शेरबहादुरले भागवण्डाका आधारमा मलाई पनि कारबाहीको भागीदार बनाए । शेरबहादुरलाई पुष्कर ओझालाई कारबाही गर्नुपरेको । बिचरा पुष्करजीको पनि गल्ती हैन, रामचन्द्रले पुष्कर ओझालाई कारबाही गर्नेभए गोविन्दराज जोशीलाई पनि कारबाही गर्नुपर्छ भने । दुईजनाको ब्यक्तिगत स्वार्थका कारण मात्र यो कारबाही गरीएको हो । उनीहरु दुबै पेटमा दाँत भएका मान्छे हुन् । त्यसकारण उनीहरुसंग आशा गर्नुचाहिं बेकार हुन्छ ।

तपाईंसंग सभापति शेरबहादुर देउवाले पछिल्लो पटक कुनै सम्वाद गर्नुभएको छ ?
छैन संवाद भएको, एकवर्षभन्दा बढी भइसक्यो होला । संवाद हुने कारण पनि त हुनुप¥यो नि । पछिल्लो पटक निर्वाचनको टिकट दिनेबेलामा जिल्लाका साथीहरुसंग गएको थिएँ । त्यतिखेर संसदीय बोर्डले दिनुपर्ने टिकट रामचन्द्रजीले मेरो जिल्लाको टिकट मै लैजान्छु भने र उनलाई खाली टिकट दिएको हुँ भने । पार्टीकौ विधानविपरीत एउटा ब्यक्तिलाई खाली टिकट दिएँ भन्ने सभापतिबाट पार्टीले देशले केही अपेक्षा गर्नु गलत हुन्छ भन्ने लागेर त्यसयता मैले भेटेको छैन ।
तपाईंसंगको यो दुश्मनीले रामचन्द्र पौडेलका लागि तनहुँको राजनीति अझ कठीन बन्ने देखियो होईन ?
त्यस क्षेत्रको लागि मात्र हैन, हेर्दैजानुहोला–उहाँले त कहिं पनि चुनाव जित्नुहुन्न । उहाँलाई कसैले पनि उदार मान्छे, राजनीतिक मान्छे भन्दैनन् । तनहुँमा त उहाँले चुनाव त हैन, अब बास बस्ने ठाँउ पनि पाउनुहुन्न ।
नेपाली कांग्रेसको आगामी महाधिवेशनसम्म पुग्दा कांग्रेसको राजनीति अब कसरी अगाडि बढ्ने देख्नुहुन्छ ?
राजनीतिक मुद्धाको आधारमा त्यो अधिवेशनले खासै तात्विक अन्तर राख्दैन । उम्मेद्वारहरुले पनि राजनीतिक एजेण्डाभन्दा अरु खराब र आफू असल भन्दै भोट माग्ने माहोल देखिन्छ । र सिद्धान्तबाट पछि हट्दै जाँदा यसको परिणाम काग्रेस खिईंदै जान्छ भन्ने लाग्छ । कांग्रेसको युवा भनिनेहरु पनि एउटा एउटा नेताको पुच्छर समातेर हिंडेकाले उनीहरुबाट पनि खासै अपेक्षा गर्ने ठाँउ दैखिंदैन । सबै शेरबहादुर र रामचन्द्रको पुच्छरको फेर समातेर हिंडिराखेका छन् । गर्दा त नहुने के छ र ?
बर्तमान सरकार र राजनीतिको बाटो चाहिं अब कसरी अगाडि बढ्ने देख्नुहुन्छ ?
नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी दल भएको हुनाले सरकारका गलत कामको विरोध गर्नुपथ्र्यो । कांग्रेसले आफ्नो नीति छोडिसक्यो । स्वार्थको लागि गर्न हुने नहुने सबै काम गर्छ । नेकपामा पनि त्यस्तै किसिमको अराजकता देखिएको छ । जे गतिविधि देखिईरहेको छ नि, पार्टीहरुले राम्ररी काम गर्न सकिरहेको देखिन्न । कांग्रेसको पनि आफ्नो भिजन छैन, नेकपा बिग्रिए हामी जित्छौं भन्ने दृष्टिकोणबाट कसरी अगाडि जान सकिन्छ र ? काँग्रेस नेतृत्वको सोचाई नै उल्टो भयो ।
नेता गाविन्दराज जोशीको अबको भूमिका चाहिं के हुन्छ ?
म फेरि पनि आम जनता पार्टी कार्यकर्ताकै साथमा रहन्छु । हिजोकै जस्तै म दुःख पर्दा उहाँहरुको साथमा नै हुन्छु । उहाँहरुसंग सल्लाह गरेर नै अगाडि बढ्छु ।
 

प्रतिकृया दिनुहोस
nema
Show More

Related Articles

Check Also
Close
Back to top button