देउवालाई प्रश्न-बल्ल आएर ‘नाकाबन्दी’ भन्यौ, अरु गल्ती कहिले स्वीकार्ने ?
माओवादीसँग मिल्दा पनि कांग्रेस स्थानीय चुनावबाटै पराजय यात्रामा थियो
तर, उनले त्यो प्रश्न सोध्न नपाउँदै होहल्लाबीच सभापति देउवाले निर्णय भयो भन्दै बैठक टुंग्याए ।
वामपन्थी नमिल्दै हारको शुरुआत
ठीक एक वर्षअघि आफैं सत्तामा रहेर स्थानीय तहको चुनावमा जाँदै गर्दा कांग्रेसले आधाभन्दा बढी स्थानीय तह जित्ने लक्ष्य सार्वजनिक गरेको थियो । उसले भरतपुर, पोखरा, हेटांैडा, बुटवल जस्ता ठूला शहरमा माओवादी केन्द्रसँग चुनावी तालमेल गरेको थियो ।
ताप्लेजुङ, तेह्रथुम, धनकुटा, भोजपुर, दोलखा, धादिङ, अर्घाखाँची, गुल्मी, पाल्पा, अछामलगायत जिल्लाका करीव १९० स्थानीय तहमा तत्कालिन सत्तासहयात्री माओवादीसँग उसले गठबन्धन गरेको थियो । तर, पनि तीनै चरणका स्थानीय तह निर्वाचनमा कांग्रेस पराजित भयो । अर्थात एमाले पहिलो बन्दा कांग्रेस फराकिलो अन्तरमा दोस्रो भयो ।
वास्तवमा कांग्रेसको पराजययात्रा एक वर्षअघि नै शुरु भइसकेको थियो । तीनै तहका निर्वाचनमा पराजय भोगेपछि कांग्रेसले गरेको समिक्षाको दोस्रो बुँदामा भनिएको छ- हालै सम्पन्न संघीय संसद र प्रदेशसभा निर्वाचनमा हामीले पराजय बेहोर्नु परेको छ । एमाले माओवादीले निर्माण गरेको कम्युनिस्ट गठबन्धनले गर्दा समग्रमा तथा मधेस केन्द्रित दलहरु संघीय समाजवादी फोरम र राजपा गठबन्धनले गर्दा प्रदेश नम्बर २ को निर्वाचनमा आशातीत सफलता प्राप्त गर्न सहज थिएन ।
पार्टी बैठकमा पेश भएको र रामचन्द्र पौडेल पक्षको असहमतिका बीच हुलमुलमा पारित भएको यहि बुँदाप्रति कांग्रेसका नेता कार्यकर्ताले आ-आफ्ना फोरमबाट असहमति जाहेर गरिरहेका छन् ।
उनीहरुको प्रश्न छ- ठीक छ, संघ र प्रदेशको चुनावमा वाम गठबन्धनका कारण पराजित भएछौं तर स्थानीय तह चुनावमा वामसँगै तालमेल गर्दा पनि कांग्रेस किन पराजित भयो ? यसको वस्तुनिष्ठ समिक्षा नगरी पार्टीले आउँदा चुनावहरु फेस गर्न सक्दैन ।
देउवा जोगाउन कमजोर र काइते तर्क
देउवा पक्षले भन्ने गरेको ३५ लाख कांग्रेसको मत १६५ निर्वाचन क्षेत्रमा कांग्रेसका प्रत्यक्ष उम्मेदवारले पाएको कुल मत हो । जबकी एमाले स्वतन्त्र सूर्य चिन्हवाहक उम्मेदवारसहित १०२ स्थानमा मात्र प्रत्यक्ष चुनाव लडेको थियो
चुनावी समिक्षा चलिरहेकै बेला देउवा निकट कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्मा प्युठानका कांग्रेस युवा नेता पशुपति डिसीको फेसबुकवालमा सार्वजनिक रुपमै बहसमा उत्रिए । देउवा र उनका ‘हनुमान’हरुका कारण कांग्रेस पराजित भएको भन्ने उनको स्टाटसमा विश्वकर्मा आक्रामक रुपमा प्रस्तुत हुँदै कांग्रेसको प्रत्यक्षतर्फ ३५ लाख मत आउँदा एमालेको ३० लाख रहेकाले कांग्रेस पराजित नभएको उनको तर्क थियो ।
कांग्रेस बैठकले पारित गरेको निर्णयमा पनि यहि आशयमा २०७० सालको भन्दा कांग्रेसको मत बढेको तर्क गरिएको छ । देउवा पक्षले पार्टी पराजित नभएको तर्क गरिरहँदा प्रत्यक्ष उम्मेदवारहरुले पाएको समग्र मत, समानुपातिकमा एमाले बराबर प्राप्त भएको मत र २०७० को चुनावमा भन्दा बढेको मतलाई आधार बनाएको देखिन्छ । जबकी यी तीनै तर्कलाई कांग्रेसका युवा नेताहरुले पेश गरेको फरक मतले खण्डन गरिसकेको छ ।
देउवा पक्षले भन्ने गरेको ३५ लाख कांग्रेसको मत १६५ निर्वाचन क्षेत्रमा कांग्रेसका प्रत्यक्ष उम्मेदवारले पाएको कुल मत हो । जबकी एमाले स्वतन्त्र सूर्य चिन्हवाहक उम्मेदवारसहित १०२ स्थानमा मात्र प्रत्यक्ष चुनाव लडेको थियो । एमालेभन्दा ६३ स्थानमा बढी उम्मेदवार भएको कांग्रेसले प्रत्यक्षतर्फ बढी मत पाउनु स्वाभाविक भए पनि देउवा पक्षले कांग्रेस हारेको छैन भनेर यसलाई बलियो तर्कका रुपमा प्रस्तुत गरेको छ ।
समानुपातिकमा कांग्रेसले एमालेभन्दा एक सिटमात्र कम पाएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको १० लाख बदर मतमा सूर्य र गोलाकारभित्रको हँसिया हथौडा दुवैमा स्वस्तिक छाप लगाइएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले पटक-पटक भन्ने गरेका छन्, ‘मतदाता झुक्किएर दुवै पार्टीका चिन्हमा छाप लगाउँदा समानुपातिकतर्फ कम्तिमा १० सिट घाटा भयो ।’
प्रत्यक्षतर्फको मतपत्रमा एमाले वा माओवादीको एउटामात्र चुनाव चिन्ह भएकाले बदर मत कम भयो भने समानुपातिकमा दुवै दलले आ-आफूलाई भोट मागेका थिए । मतगणनाका क्रममा सबै जिल्लामा ९० प्रतिशत बदर मत सूर्य र गोलाकारभित्रको हँसिया हथौडामा लगाइएका भेटिएका थिए । जसले गर्दा समानुपातिकतर्फ कांग्रेसलाई राहत मिलेकै हो ।
देउवा पक्षले २०७० सालकोभन्दा आफ्नो मत बढेको भनेर केन्द्रीय समिति बैठकमा प्रस्ताव पारित गरेको छ ।
जबकी कांग्रेसकै नेता गगन थापाले केन्द्रीय समिति बैठकमा पेश गरेको २०१५ सालदेखिका चुनावको फिगरले कांग्रेसको मत क्रमशः घटिरहेको र कम्युनिस्टको बढिरहेको देखाएको छ । मतदाता बढेपछि केही मत बढ्नु स्वाभाविक हो, तर कांग्रेसले वामपन्थीको मत बृद्धि रोक्न नसक्दासम्म उसले अरु पराजय भोग्नुपर्ने खतराको घण्टी पनि बजेको छ ।
यहि शब्द कांग्रेसले नाकाबन्दीका नेपाली जनता अक्रान्त भएका बेला प्रयोग गरेको भए सायद स्थानीय तहको चुनावमै कांग्रेसको त्यो ढंगको पराजय हुने थिएन होला । तर, कांग्रेसको तत्कालीन केन्द्रीय कार्यसमिति बैठकमा भारतले नाकाबन्दी लगाएको भन्नै हुँदैन भनेर कडा स्वरमा बोल्ने केन्द्रीय सदस्यहरु अहिले पनि निर्णायक ठाउँमा छन्
कांग्रेसले पहिलो पटक भन्यो- नाकाबन्दी
कांग्रेस पराजयको जिम्मा शेरबहादुर देउवाले लिन मानेनन् । उनले जिम्मा लिए पनि, नलिए पनि आफ्नै नेतृत्वमा गराइएको तीनै तहका चुनावमा कांग्रेस पराजित भएको सत्य हो । देउवाले जिम्मा लिँदैमा अब कांग्रेस अर्को चुनावमा विजय उन्मुख हुने र जिम्मा नलिँदा ओह्रालो लाग्ने होइन होला । तर मुख्य कुराः कांग्रेसले पराजयको मूल कारण समिक्षा गर्दै विगतका गल्तीबाट पाठ सिक्ने हो कि होइन ? कांग्रेसजनले गरिरहेको प्रश्न चाहिँ यो हो ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले एउटा सच्चाई पहिलोपटक स्वीकार गरेको छ । त्यो के भने, कांग्रेसले आधिकारिक रुपमा भारतले लगाएको नाकाबन्दीलाई ‘नाकाबन्दी’ नै भनेर आफ्नो दस्तावेजमा लिपिबद्ध गरेको छ । संविधान जारी भएलगत्तै भारतले नाकाबन्दी लगाउँदा कांग्रेसले आधिकारिक रुपमा त्यसलाई नाकाबन्दी भनेको थिएन ।
कांग्रेसले भनेको छ, ‘विपक्षी कम्युनिस्ट गठबन्धनले भारतले लगाएको नाकावन्दीका कारण पीडित नागरिकको मत आफ्नो पक्षमा प्रभावित पार्न सफल भयो । केही नेताले भाषणमा नाकाबन्दी भने पनि कांग्रेस पार्टीले आफ्नो माइन्युटमा नाकाबन्दी शब्द पहिलोपटक प्रयोग गरेको छ ।’
यहि शब्द कांग्रेसले नाकाबन्दीका नेपाली जनता अक्रान्त भएका बेला प्रयोग गरेको भए सायद स्थानीय तहको चुनावमै कांग्रेसको त्यो ढंगको पराजय हुने थिएन होला । तर, कांग्रेसको तत्कालीन केन्द्रीय कार्यसमिति बैठकमा भारतले नाकाबन्दी लगाएको भन्नै हुँदैन भनेर कडा स्वरमा बोल्ने केन्द्रीय सदस्यहरु अहिले पनि निर्णायक ठाउँमा छन् ।
देउवाको घमण्डले स्वीकार नगरेका अरु गल्ती
कांग्रेसले चुनावी पराजयको समिक्षा गर्ने क्रममा अझै पनि गल्ती स्वीकार नगरेका केही घटना छन्, जसले गर्दा यो ५ वर्षभरि वाम गठबन्धनको सरकारलाई प्रश्न उठाउने नैतिक धरातल समेत देउवाले गुमाएका छन् । तत्कालिन प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको औचित्यहीन र प्रतिशोधी महाअभियोग तथा नेपाल प्रहरीको आइजीपी नियुक्ति काण्डले कांग्रेसलाई स्थानीय चुनावमै खतराको घण्टी बजाइसकेका थिए ।
शेरबहादुर देउवाको अभिमान छोप्न इतिहासमा भएका गल्ती सच्याउनु हुँदैन भन्ने छैन । सुशीला कार्कीमाथिको महाअभियोग गल्ति थियो भनेर आत्मालोचना नगरेसम्म देउवाले केपी ओलीमाथि न्यायपालिका र संवैधानिक अंगमा हस्तक्षेप नगर भनेर औंलो ठड्याउने नैतिक हैसियत राख्दैनन्
ललितपुर महानगरमा कांग्रेसबाट मेयरको उम्मेदवार बनेका चिरिबाबु महर्जनले पार्टी नेतृत्वको गलत निर्णयका कारण आफूहरुले मतदातासामू जवाफ दिन नसकेको गुनासो उतिबेलै गरेका थिए । ‘भ्रष्टाचार विरोधी प्रधानन्यायाधीशलाई किन महाअभियोग लगाएको ? एक नम्बरको व्यक्तिलाई फालेर चार नम्बरमा रहेकालाई किन आइजीपी बनाएको ? भनेर जनताले मतदाताले प्रश्न गर्दा मसँग जवाफ थिएन,’ महर्जनले पत्रकारहरुसँग भनेका थिए ।
कांग्रेसले यी दुई प्रश्नको जवाफ अझै दिन सकेको छैन । शेरबहादुर देउवाको अभिमान छोप्न इतिहासमा भएका गल्ती सच्याउनु हुँदैन भन्ने छैन । सुशीला कार्कीमाथिको महाअभियोग गल्ति थियो भनेर आत्मालोचना नगरेसम्म देउवाले केपी ओलीमाथि न्यायपालिका र संवैधानिक अंगमा हस्तक्षेप नगर भनेर औंलो ठड्याउने नैतिक हैसियत राख्दैनन् ।
वास्तवमा स्वतन्त्र न्यायपालिकामाथि नांगो हस्तक्षेप गर्ने काम देउवा र उनको उक्साहटमा तत्कालीन प्रधानमन्त्री प्रचण्डले गरेका थिए । जुन हस्तक्षेपको सिलसिला भरतपुर महानगरपालिकाको चुनावमा मतपत्र च्यात्ने अपराधलाई निर्वाचन आयोग र सर्वोच्च अदालतबाट बैधानिकता दिने क्रमसम्म चलिरहृयो । देउवाले सर्वेन्द्रनाथ शुक्लको रिटमाथि टेकेर प्रतिनिधिसभा र प्रदेशसभा चुनाव रोक्न आफूमाथि दबाव दिएको तर, नमान्दाको कसैको पनि हुन नसकेको खुलासा तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीले गरिसकेका छन् ।
देउवासँग कांग्रेस कार्यकर्ताले खोजेका जवाफ
जसरी करीव ३ वर्षपछि आएर कांग्रेसले भारतले नाकाबन्दी लगाएको आधिकारिक रुपमा पुष्टि गर्दै नाकाबन्दीको विपक्षमा उभिन नसक्दा चुनावमा जनताको मत नपाएको स्वीकार गरेको छ, त्यसैगरि ढिलोचाँडो उसले महाअभियोग काण्डमा पनि आफ्नो गल्ती स्वीकार गर्नेछ । शेरबहादुर देउवाको घमण्ड चूर नभएसम्मका लागि यो आत्मसमिक्षा थाती रहेको मात्र हो । भदौमा आयोजना हुने भनिएको महासमिति बैठकसम्म पुग्दा कांग्रेसले यो काण्ड पनि नाकाबन्दीको विरोध गर्न नसक्नुजस्तै गल्ती थियो भनेर लिपिबद्ध गर्नेछ ।
देउवालाई राज्यसत्ताबाट जनताले गलहत्याएर लगभग तेस्रो शक्तिमा झार्दा पनि उनले पार्टी सत्तामा आफ्नो पकड बलियो बनाउन पूरानै तरिका अबलम्बन गर्दैछन् । शिक्षक संघ, इन्जिनियर्स संघ जस्ता शुभेच्छुक संगठनहरुमा देउवा पक्षको पराजयले उनका कर्मको समिक्षा कार्यकर्ताले मैदानबाट गरिरहेका छन् भन्ने संकेत गरेका छन्
देउवाले गत वर्ष प्रधानमन्त्री भइसकेपछि राज्यकोषमा गरेको ब्रम्हलुट र कांग्रेस नेता कार्यकर्ताले जनतासामू जवाफ दिनै नसक्ने गरी गरेका बहुलठ्ठीपूर्ण निर्णयहरु कांग्रेस पराजयका कारण हुन् । जुन कुरा देउवा बहुमतमा रहेको केन्द्रीय कार्य समितिले स्वीकार गर्न चाहेको छैन । सम्भवतः देउवाले शशांक कोइरालाको साथ लिएर रामचन्द्र पौडलमाथि अझै पेलान दिनेछन् । त्यसको छनक पदाधिकारी मनोनयनबाटै देखिन्छ ।
सत्ता, शक्ति र घमण्डको पनि एउटा सीमा हुन्छ । देउवालाई राज्यसत्ताबाट जनताले गलहत्याएर लगभग तेस्रो शक्तिमा झार्दा पनि उनले पार्टी सत्तामा आफ्नो पकड बलियो बनाउन पूरानै तरिका अबलम्बन गर्दैछन् । शिक्षक संघ, इन्जिनियर्स संघ जस्ता शुभेच्छुक संगठनहरुमा देउवा पक्षको पराजयले उनका कर्मको समिक्षा कार्यकर्ताले मैदानबाट गरिरहेका छन् भन्ने संकेत गरेका छन् ।
यसबीचमा उनलाई सभापति बन्ने सन्दर्भमा अलग उम्मेदवारी दिएर सहयोग पुर्याएका कृष्ण सिटौलाको तेस्रो धार पनि देउवाका बहुलठ्ठीपूर्ण कार्यशैलीकै कारण पार्टी पराजित भएको निष्कर्षमा पुगेको छ । खुमबहादुर खड्काको निधनसँगै उनले संरक्षण गरेको एउटा समूह तितरबितरको अवस्थामा छ । तर, अझै पनि देउवा भने ‘सुध्रिने मुडमा’ छैनन् ।
कांग्रेस पराजयका समिक्षा धेरै भइसकेका छन् र महासमिति बैठकसम्म जारी रहने नेताहरुले बताइसकेका छन् । त्यसैले यहाँ कांग्रेस किन पराजित भयो भनेर समिक्षा गर्न खोजिएको होइन । बरु कांग्रेसले पराजयका कारण पहिल्याएर पनि नाकाबन्दी बाहेक अरु कारण स्वीकार गर्न नसक्नु र अन्य कृत्रिम कारणको कम्मल ओढाएर देउवाका गलत कामहरुलाई ढाकछोप गर्न खोज्नु आगामी दिनका लागि पनि राम्रो होइन ।