विश्व

शंकराचार्यलाई आज काठमाडौैँमा नागरिक अभिनन्दन गरिँदै

काठमाडौं– जगन्नाथपुरीस्थित श्रीगोवर्द्धन मठका पीठाधीश्वर शंकराचार्य निश्चलानन्द सरस्वतीलाई आज(मंगलवार) नेपालमा नागरिक अभिनन्दन गरिने भएको छ । काठमाडौँको टुँडिखेलमा नागरिक अभिनन्दन गरिने भएको हो । नागरिक अभिनन्दनपछि उहाँले टुँडिखेलमा प्रवचन दिने कार्यक्रम छ । यसअघि सोमबार पशुपति क्षेत्र विकास कोषले उहाँलाई अभिनन्दन गरेको थियो।
नेपालको साताव्यापी धार्मिक यात्रामा रहेका शंकराचार्य निश्चलानन्द सरस्वतीले वैदिक दर्शनको संरक्षण र प्रवर्द्धनमा पुर्याएको योगदानको कदर गर्दै अभिनन्दन गरिएको हो।
उहाँले वैदिक दर्शनलाई आधार मानेर १ सय ६७ वटा पुस्तक लेख्नुभएको छ । शंकराचार्य निश्चलानन्द सरस्वतीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका रवीन्द्रप्रसाद अधिकारीले फूलमाला र अभिनन्दन पत्रसहित सम्मान गर्नुभयो ।
यसअघि सोमबार बिहान पशुपतिनाथ मन्दिरमा वैदिक विधिपूर्वक विशेष पूजा गरेका कोषका सदस्य सचिव डा प्रदीप ढकाल जानकारी दिनुभयो । पशुपतिमा विशेष पूजापछि उपस्थित भक्तजनलाई आशीर्वचन दिँदै सरस्वतीले नेपाल हरिहर र शालग्राम भूमि भएकाले धार्मिकरुपमा धेरै महत्व रहेको उल्लेख गर्नुभयो ।
‘सनातन वैदिक आर्य संस्कृतिका मूल्यमान्यतालाई आधुनिक विज्ञानले प्रमाणित गर्दै गएको छ। विज्ञानको खोजको अन्त्यपछि वैदिक दर्शनको सुरुवात हुने सरस्वतीले बताउनुभयो ।

nema
Show More

Related Articles

Back to top button