नेपाली कांग्रेस

कांग्रेस जिल्ला सभापतिको भेला र स्थल अझै टुंगो लागेन

केन्द्रीय समिति बैठकले निर्णय गरेको १५ दिन बिते पनि कांग्रेसले अझै जिल्ला सभापतिको भेला र स्थलको टुंगो लगाउन सकेको छैन । भदौ मसान्तभित्र महासमिति बैठक गर्नुअगाडि जेठ मसान्तमा जिल्ला सभापतिको भेला गर्ने निर्णय गत १६ वैशाखमा सकिएको केन्द्रीय समिति बैठकले गरेको थियो । तर, केन्द्रीय समिति बैठक सकिएको दुई साता बित्दासमेत कांग्रेसले स्थान र मिति तोक्न नसकेको हो । पहिले जिल्ला सभापतिले भेला र भदौमा महासमिति बैठक गर्ने निर्णय यसअघि नै भइसकेकाले भेला सर्दा महासमिति बैठक पनि प्रभावित हुनेछ ।

 कुन–कुन जिल्लाको दाबी ?
जिल्ला सभापति भेलाका लागि मकवापनपुर, भक्तपुर, ललितपुर, काठमाडौं, मोरङ र नुवाकोटले दाबी गरेका छन् । तर, पार्टी केन्द्रले मकवानपुरको हेटौँडामा स्थल तोक्ने तयारी भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । ‘दाबी गर्ने जिल्ला धेरै छन्,’ उनले भने, ‘सम्भवतः अब केही दिनमै हेटौँडामा गर्ने गरी पार्टीले मिति तोक्नेछ ।’ भेला जेठको अन्तिम साता गर्ने तयारी कांग्रेसको छ । तर, भेला बोलाउनेबारे कांग्रेसको औपचारिक बैठक बसेको छैन । केही दिनअघि पदाधिकारीको अनौपचारिक बैठक बसे पनि ठाउँको विषयमा निर्णय गर्न सकेको थिएन । प्रवक्ता शर्माका अनुसार अब केही दिनमै भेलाको मिति र महासमितिका लागि विधान मस्यौदा समितिको नाम सार्वजनिक हुनेछ ।
 के गर्छ सभापतिको भेलाले ?
जिल्ला सभापतिको भेलामा ७५ वटै केन्द्रीय समितिका सदस्यहरू, जिल्लाका सभापति, उपसभापति, सचिव गरी झन्डै पाँच सयजना सहभागी हुनेछन् । भेलामा केन्द्रले कुनै राजनीतिक प्रतिवेदन प्रस्तुत नगरे पनि जिल्ला सभापतिले निर्वाचनमा पराजयपछिको संगठनको अवस्थाबारे प्रतिवेदन प्रस्तुत गर्नेछन् ।
‘जिल्ला संगठनको अवस्था कस्तो छ भन्ने रिपोर्ट सभापतिहरूले प्रस्तुत गर्नुहुन्छ,’ प्रवक्ता शर्माले भने, ‘अब निर्वाचनमा पराजयपछि संगठनलाई कसरी अघि बढाउने, समस्या के छन् र केन्द्रको सुझाबसमेत समेटेपछि एउटा धारणा तय हुन्छ ।’ जिल्ला सभापतिसहित प्रदेशस्तरबाट पनि विषय आउने जानकारी उनले दिए । भेलाले संगठनको नयाँ कार्यक्रम, पराजयपछिको तयारीसँगै केन्द्र र जिल्लाबीचको समन्वयलाई व्यवस्थित गर्ने, केन्द्रलाई ‘फिडब्याक’ दिने गर्छ ।
नया पत्रिकाबाट साभार ।

nema
Show More

Related Articles

Back to top button