समाचार

संसदमा विमान दुर्घटना देखि सामाजिक सञ्जालका कुरा

काठमाडौं, जेठ २ । प्रतिनिधिसभाको बुधबारको विशेष समयमा भाग लिने अधिकांश सदस्यले आ–आफ्नो जिल्लाका समसामयिक विषयवस्तु र घटनाकाबारेमा जानकारी गराएका छन् ।
सांसद भरतबहादुर सिंहले बझाङ जिल्लामा केही दिनयता परेको असिना–पानीले गहुँ, जौ, फलफूललगायतका अन्नबाली नस्ट गरेकाले ‘असिनापीडित जिल्ला’कारुपमा घोषणा गरी कृषकलाई क्षतिपूर्ति र राहत उपलब्ध गराउन माग गरे ।
असिना–पानीपछि आएको पहिरोबाट जयपृथ्वी राजमार्ग अवरुद्ध भएको, एकै परिवारका पाँचजना पहिरोमा परेको जनाउँदै उनले मृतकका परिवारलाई राहत उपलब्ध गराउन अनुरोध गरे ।
सांसद दिलेन्द्रप्रसाद बडूले सुर्खेतबाट हुम्लाका लागि उडेको मकालु एअरको विमान दुर्घटनामा चालक दलका सदस्यको निधन भएको विषय सदनलाई जानकारी गराउँदै विमान दुर्घटनाका घटनालाई दोहोरिन नदिने उपाय अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद अन्जना विशंखेले अन्तरजातीय विवाह भएकै कारण मृत्युवरण गर्ने अवस्थालाई सरकारी संयन्त्रले बल र्पुयाइरहेको आरोप लगाउँदै काभ्रेका कल्पना पराजुली र अजित मिजारबीचको अन्तरजातीय विवाहले निम्त्याएको घटनाक्रमको फेहरिस्त सुनाइन् ।
सांसद प्रमोद साहले ‘नवलपुर–मलंगवा सडक निर्माण सुरु भएको ८ वर्षसम्म पनि ज्यूँका त्यूँ अवस्थामा रहेकाले सरकारले त्यस सडक निर्माणमा विशेष चासो देखाउनुर्पयो’–भने ।
अर्का सांसद विमल श्रीवास्तवले मुलुकमा राजनीतिक परिवर्तन भएपनि हाम्रो सोच र दृष्टिकोणमा परिवर्तन हुन नसकेको भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणकाक्रममा देखिएको बताए ।
सांसद प्रेम सुवालले ‘संसद सन्चालनसम्बन्धी नियमावलीमा फौजदारी अपराधमा संलग्न हुने सांसदलाई निलम्बन गर्ने कि नगर्ने भन्ने विवाद गरेर नियमावली प्रस्तुत् हुन नसक्नु बेठीक हो’–भने ।
सांसद नवराज रावलले सुर्खेतमा सिमेन्ट उद्योग सन्चालनमा देखिएको व्यवधान सुल्झाउन तथा सुर्खेत अस्पताललाई सुव्यवस्थित तुल्याउन तथा कारागारको अवस्था निकै दयनीय रहेकाले सुधार गर्न सरकारसँग अनुरोध गरे ।
सांसद भरतकुमार शाहले भैरहवा अन्तर्रा्ष्ट्रिय विमानस्थलमा पश्चिमबाट विमान अवतरण गर्ने रुट अनुमतिका लागि समयमै पहल गर्न आग्रह गरे ।
सांसद इन्दुकुमारी शर्माले यो सरकार पुरानो सलकारको निरन्तरता नभएर जनताको निकै आशा र भरोसाको सरकार भएकाले चुरे शृंखलाको दोहनलाई रोक्न ठोस कार्यक्रम सन्चालन गर्न आग्रह गरिन् ।
अर्का सांसद छक्कबहादुर लामाले आज हुम्लामा हवाई दुर्घटनामा ज्यान गएका चालक दलका सदस्यप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै हुम्लामा वर्षाअगावै खाद्यान्न ढुवानीको व्यवस्था मिलाउन आग्रह गरे ।
सांसद झपट रावलले केही दिनअघि कैलालीमा आएको हावाहुरीबाट केही व्यक्ति घाइते भएको, धेरै विद्यालयका छाना उडाएको, बालीनाली नस्ट भएको जानकारी गराउँदै घाइतेको उपचार र पीडितलाई क्षतिपूर्तिका लागि माग गरे ।
राष्ट्रसेवक कर्मचारी जनताको काम गर्नुको साटो सामाजिक सञ्जालमा रमाउने गरेको घटना बढेकाले कार्यालय समयमा सामाजिक सञ्जाल चलाउन नपाइने नीति बनाउन सरकारलाई उनले सुझाव दिए ।
सांसद लक्ष्मी परिवारले प्रतिनिधिसभाको निर्वाचनकाक्रममा बम आक्रमणमा परेर घाइते भएका पूर्वसांसद नारायण कार्कीलगायतलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरिन् ।
अर्का सांसद दुर्गा पौडेल र निरु पालले महेन्द्रनगर अस्पताललाई व्यवस्थित तुल्याउन तथा दोधरा र चाँदनीमा भारतीय पक्षबाट हुँदै आएको थिचोमिचोबाट नेपाली जनताले दुःखकस्ट खेप्नुपरेको बताए । राससबाट साभार

nema
Show More

Related Articles

Back to top button