समाचारनेपाली कांग्रेस

प्रतिपक्षविहीन प्रदेश सात, कांग्रेसले अझै छान्न सकेन दलको नेता

धनगढी- सरकार गठन भएको तीन महिनासम्म पनि प्रदेश नम्बर ७ का प्रतिपक्षी दलले संसदीय दलको नेता छान्‍ने सकेका छैन।
प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले अझैसम्म नेता छान्‍न सकेका छैनन्। प्रदेश सरकारको काम कारबाहीमा समर्थन र विरोध गर्ने भूमिका प्रतिपक्षी दल रहने भएपनि संसदीय दलको नेता छान्‍न नसक्दा कांग्रेस र राजपा अन्यौलमा छन्।

नेता छान्दै काँग्रेस


तीन महिनासम्म संसदीय दलको नेता छान्न नसकेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भने नेता छान्ने तयारीमा जुटेको छ। नेपाली कांग्रेसका सांसद कर्ण मल्लले जेठ ५ गतेसम्म ससदीय दलको नेता र कार्यसमिति चयन हुने दाबी गरे।
त्यसका लागि केन्द्रीय प्रतिनिधि कांग्रेस नेता एनपी साउद विहीबार धनगढी पुगेका छन् भने निर्वाचन अधिकृतमा अधिवक्ता प्रयागदत्त भट्टलाई तोकिएको छ।
‘ससदीय दलको नेता ५ गतेसम्म सर्वसम्मत हुन्छ। तर, विधान अनुसार चुनावी प्रक्रिया भने पूरा गर्छौ,’ मल्लले भने, ‘ढिला किन भयो भनेर नसोध्नुस् केन्द्रीय पार्टी सभापतिलाई सोध्नुस्।’

यस्ता छन् आकांक्षी


सरकारको पहरेदार मानिने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस नेता विहीन हुँदा संसदमा अपेक्षाकृत रुपमा प्रस्तुत हुन सकेन। करिव ३ महिना बसेको ससदको पहिलो अधिवेशनमा कहिल्यै पनि विरोधका आवाज सुनिएन।
संसदीय दलको नेताको टुंगो नलाग्दा संसदको सूचना जानकारीदेखि पार्टीका काम कार्वाहीहरु प्रभावित भएको स्वयम् कांग्रेसका सांसदहरुले गुनासो गर्ने गरेका छन्। संसदीय व्यवस्थामा संसदीय दलका नेता दलको कार्यकारी हुने हुँदा नेपाली कांग्रेसमा अहिले ३ जना आकांक्षी रहेका छन्।
कैलालीको टीकापुरबाट निर्वाचित सांसद डाक्टर रणबहादुर रावल, डोटीबाट निर्वाचित सांसद भरतबहादुर खड्का र डडेल्धुराबाट निर्वाचित सांसद कर्ण मल्लले दलको नेताका लागि दाबी गर्दै आएका छन्। उनीहरु संसदीय दलको नेता बन्नलाई पार्टी नेतृत्वसँग लविङ गरिरहेका छन्।
पार्टीको महासमिति सदस्य, राष्ट्रिय विकास परिषद्को सदस्य हुँदै विगत लामो समयसम्म निरन्तर पार्टीमा रहेकाले पार्टीले जिम्मेवारी दिए आफू पछाडि नपर्ने डा.रावलले बताउँदै आएका छन्।
यस्तै अर्का आकांक्षी कर्ण मल्लले पार्टीको २ पटक सभापति भइसकेकोले दलको नेता पाउनु पर्ने दाबी गरेका छन् भने पार्टीको सबै भन्दा पुरानो नेता, सबैलाई समेट्ने क्षमता भएको भन्दै नेता खड्काले संसदीय दलको नेतामा दाबी गर्दै आएका छन्।
यसअघि पनि नेता छान्न प्रयास गरिएपनि आकांङक्षी पछि नहटेपछि उक्त प्रयास असफल भएको थियो। गत माघ महिना अन्तिम साताबाट केन्द्रीय कमिटी सदस्य एनपी साउदलाई खटाएर कांग्रेसले संसदीय दलको नेता छनोटको प्रक्रिया सुरु गरेको थियो। प्रदेश ७ मा काग्रेसका प्रत्यक्षबाट ४ र समानुपातिकबाट ८ गरी १२ सांसद छन्।

दुईसिटे राजपा अलमलमा


दुई जना प्रदेश सभा सदस्य भएको राजपासमेत संसदीय दलको नेता छान्नमै अल्मलिएको छ। राजपाबाट कृष्ण चौधरी र मालामती राना दुई जनाको प्रदेश सभामा प्रतिनिधित्व छ। आपसी रस्साकस्सीले दुई जनाबीच पनि सहमति हुन सकेको छैन।
पार्टी नेतृत्वले समेत संसदीय दलको नेता कसलाई बनाउने भन्ने विषयमा निर्णय गर्न सकेको छैन। दुवै सासदले आफूलाई नेता बनाउनुपर्ने अडान राख्दै आएका छन्।
संसदको सबैभन्दा ठूलो दल एमालेले प्रकाशबहादुर शाहलाई संसदीय दलको नता चयन गरिसकेको छ भने माओवादी केन्द्रले त्रिलोचन भट्टलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको थियो।
एमाले संसदीय दलका नेता शाह आन्तरिक मामिला तथा कानुन मन्त्री छन् भने माओवादी केन्द्रका ससदीय दलका नेता भट्ट मुख्यमन्त्री छन्।

जेष्ठ ४, २०७५ मा प्रकाशित
nema
Show More

Related Articles

Back to top button