समाचारनेपाली कांग्रेस

देउवाविरोधी समूहका नेताहरु एउटै मञ्चमा शशांक कोइराला आउट !

२८ जेठ, काठमाडौं । पार्टी नेतृत्वको विपक्षमा रहेका कांग्रेसका नेताहरु एउटै मञ्चमा देखिएका छन् ।
नेपाल विद्यार्थी संघ काठमाडौंको ब्यानरमा भएको कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, युवा नेताहरु गगन थापा र प्रदीप पौडेल पनि मञ्चमा देखिए ।
कार्यक्रममा १३ औं महाधिवेशनअघिको तत्कालीन संस्थापन समूहका अधिकांश नेता सहभागी थिए । तर, पौडेल समूहबाटै चुनाव जितेका महामन्त्री शशांक कोइराला भने अनुपस्थित रहे । शेखर कोइराला पनि कार्यक्रममा देखिएनन् ।
जिल्ला सभापतिहरुको भेलाको पूर्वसन्ध्यामा भएको यो कार्यक्रमलाई अर्थपूर्ण मानिएको छ ।
चुनावी समीक्षाका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकदेखि नै कांग्रेसमा ध्रुवीकरणको सुरुवात भएको थियो । पदाधिकारी मनोनयनले त्यसलाई थप मलजल गर्‍यो । अहिले भ्रातृ तथा शुभेच्छुक संगठनहरुमा देउवाइतरको समूह एक हुने र नेतृत्वको उम्मेदवारलाई हराउने प्रयास चलिरहेको छ ।
तर, यो सबैमा महामन्त्री कोइरालाको भूमिकालाई लिएर पौडेल समूहमा असन्तुष्टि छ । खासगरी पूर्वमहामन्त्री प्रकाशमान सिंहले खुलेरै उनको विरोध गर्ने गरेका छन् । देउवासँग मिल्ने तर, पुरानो संस्थापन समूहको नेतृत्व गर्न खोजेको भन्दै सिंह समूहले महामन्त्री कोइरालाको आलोचना गर्ने गरेका छन् ।
सोमबार कार्यक्रमको आयोजक नेविसंघ काठमाडौंको सभापति मनोज वैद्य पनि सिंह निकटका हुन् । महामन्त्री कोइरालालाई मञ्चमा नराखेर देउवाविरोधी समूहमा नरहेको सन्देश दिन खोजिएको एक नेताले अनलाइनखबरलाई बताए ।
महामन्त्रीलाई नबोलाएकै हो : वैद्य
नेवि संघ काठमाडौं अध्यक्ष मनोज वैद्यले सोमबारको कार्यक्रममा महामन्त्री शशांकलाई नबोलाइएको स्वीकार गरे । ‘पार्टीमा सुधार गर्नुपर्छ भन्ने मत राख्ने नेताहरुलाई एक ठाउँमा बोलाइएको हो’ उनले भने, ‘महामन्त्री केही बोल्नुहुन्न, त्यसैले बोलाएनौं ।’
तर, नेतृत्वको आलोचना गर्दै आएका शेखर कोइराला पनि देखिएनन् नि भन्ने प्रश्नमा वैद्यले उनलाई आगामी कार्यक्रमहरुमा बोलाउने योजना रहेको बताए ।
कसले के भने ?
कांर्यक्रममा बोल्ने सबै नेताले केपी ओली सरकारसँगै आफ्नै पार्टी नेतृत्वको समेत आलोचना गरेका छन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार समाजिक फासीवादतर्फ उन्मुख भएको आरोप लगाए । दुई तिहाइ समर्थन जुटाउनु र कार्यकारी राष्ट्रपतिको कुरा गर्नुलाई खोरमा बाख्रो हराउनु र जंगलमा बाघ कराउनुजस्तै त होइन भन्दै पौडेलले ६ वर्ष लगाएर बनाएको संविधानलाई चलाएर अर्को प्रयोग नगर्न आग्रह गरे ।
नेताहरुले पार्टी नेतृत्वको पनि चर्को आलोचना गरे । नेता पौडेलले पार्टीभित्रको अन्तरघात र बाहिर घेराबन्दीका कारण कांग्रेस संकटमा परेको बताए । ओलीले कांग्रेस प्रतिपर्धी होइन, सहयोगी दल मात्र हो भनेको केही दिनमा नै नीति तथा कार्यक्रमको विपक्षमा उभिने आँट नगर्नु गलत भएको पौडेलले बताए ।
विगतमा देउवाले संसद दरबारमा बुझाएपछि रामचन्द्र भए यस्तो गर्दैनथेे भनेको स्मरण गर्दै नेता पौडेलले कृष्ण सिटौलातर्फ हेर्दै भने, ‘१३ औं महाधिवेशनको परिणाम भोग्दैछौं ।’
कार्यक्रममा नेता सिटौलाले पनि पार्टी नेतृत्वको आलोचना गरे । कांग्रेसले विपक्षीको भूमिकासमेत निर्वाह गर्न नसकेको भन्दै उनले पनि नीति तथा कार्यक्रमको विरोध नगर्नु गलत भएको बताए ।
सांसद एवं केन्द्रीय सदस्य गगन थापाले संघीयता र समावेशिताका लागि पूर्वराजा र विप्लव भन्दा दुई तिहाइ बहुमत प्राप्त प्रधानमन्त्रीबाटै बढी खतरा भएको बताए ।
नेता थापाले ५ वर्षपछि हुने चुनावलाई ध्यानमा राख्दै संगठन बनाउन लाग्नुपर्ने बताए ।

२०७५ जेठ २८ गते १९:५६ मा प्रकाशित

nema
Show More

Related Articles

Back to top button