समाचारनेपाली कांग्रेस

गल्ती स्विकार्दै शीर्ष नेता : २१ बुँदे घोषणापत्र जारी

गल्ती स्विकार्दै शीर्ष नेता : २१ बुँदे घोषणापत्र जारी
सभापति भेलामा सहभागी कांग्रेस शीर्ष नेता र तस्बिरः अन्नपूर्ण
author-image

नवीन झा
राजनीति

 ०९ असार २०७५ ०६:४९:००

केन्द्रीय समिति बैठक तथा जिल्ला सभापति भेलामा निर्वाचन पराजयको जिम्मा सभापति देउवाले लिनुपर्ने विषय पनि उठेपछि देउवाले समापनमा स्पष्टीकरण दिँदै टिकट वितरणदेखि जिल्ला सभापतिको अधिकारसम्ममा आफूले हस्तक्षेप गरेको स्विकारेका हुन् ।
‘संविधान कार्यान्वयनका लागि तीन तहको निर्वाचन सम्पन्न गर्न आफू लाग्दा पार्टीलाई चाहे जस्तो गरी अगाडि बढाउन सकिएन’, सभापति देउवाले भने, ‘मबाट गल्ती भएका छन् ।’ बन्दसत्रमा जिल्ला सभापतिले देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका केन्द्रीय सदस्यको कार्यशैलीप्रति चर्को आलोचना गरेका थिए । उनीहरूले पार्टीको केन्द्रीय तहमा देखिएको गुटबन्दीप्रति पनि तीव्र असन्तुष्टि व्यक्त गरेका थिए ।
समापन समारोहमा वरिष्ठ नेता पौडेलले आफ्नो कुनै गुट नभएको स्पष्टीकरण दिँदै अबदेखि पार्टी सभापतिसहित अन्य पदाधिकारीको आलोचना नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सभापति देउवा र वरिष्ठ नेता पौडेलले आगामी निर्वाचनमा पार्टीलाई बहुमत ल्याउने अभियानका लागि देश दौडाहामा जाने उद्घोष पनि गरेका छन् ।
पार्टी पदाधिकारी मनोनयनपछि देउवाविरुद्ध जिल्ला दौडाहामा निस्किएका पौडेल सभापति भेलाको समापनमा भने पृथक् भावभंगीमा प्रस्तुत भए । ‘म अब पार्टी संगठन विस्तार र कम्युनिस्टहरूको पर्दाफासका लागि जिल्ला दौडाहामा जान्छु’, उनले भने, ‘देउवाबाट केही साथी हेपिएको महसुस भएकाले मात्रै मैले उहाँको विरोध गर्ने गरेको हुँ । अब सभापतिलाई पूर्ण सहयोग गर्ने वाचा गर्छु ।’
तीन तहको निर्वाचनमा पराजय भोग्न बाध्य कांग्रेस गुटबन्दीमा फसेको कांग्रेस शुभेच्छुकको विश्लेषण छ । पौडेल पक्षधर धेरै केन्द्रीय नेता सभापति देउवाले बनाएको जिल्ला भेला उद्घाटनसत्रको कार्यक्रमप्रति असन्तुष्टि जनाएका थिए ।
देउवा इतर पक्षका प्रायः सबै प्रभावशाली केन्द्रीय सदस्य भेलाको बन्दसत्रमा सहभागी नहँुदै काठमाडौं फर्किएका थिए । कांग्रेस नेता कृष्णप्रसाद सिटौला उद्घाटन सत्रको मञ्चमै गएनन् । सञ्चारकर्मीसँग हेटौंडामा उनले सभापति देउवा भेलालाई कर्मकाण्डी बनाउन लागेको आरोप लगाएका थिए । उनले नेकपा नेतृत्वको सरकारसँग जुध्न कांग्रेसमा व्यापक सुधारको खाँचोसमेत आंैल्याए ।
यसैबीच हेटौंडामा मंगलबारदेखि सुरु भएको कांग्रेस जिल्ला सभापति भेला २१ बुँदे घोषणापत्र जारी गर्दै शुक्रबार सकिएको छ ।
सभापति भेलाले पार्टी महासमितिबाट विधान संशोधन र परिमार्जन गरेर पार्टीको तलदेखि माथिल्लो निकायलाई पुनर्संरचना गर्ने, निर्वाचनपछिको अवस्थामा पार्टी एक भएर अघि बढ्ने, देशभर कांग्रेसले पुनर्जागरण अभियान सञ्चालन गर्ने घोषणा गरेको छ ।
आगामी वर्षलाई प्रशिक्षण वर्षका रूपमा मनाउने कांग्रेसले महासमिति भेलाको मिति र स्थान चाँडै तोक्ने, हरेक दुई वर्षमा जिल्ला सभापतिको भेला गर्ने र पार्टीका हरेक तहमा विधानसम्मत काम गर्नुपर्नेलगायत प्रतिबद्धता पनि भेलाले गरेको छ ।
पार्टी सुधारका लागि १० ओटा घोषणा गर्दैै कांग्रेसले नेकपा नेतृत्वको सरकारको सन्दर्भमा समेत १० बुँदा सार्वजनिक गरेको छ । उसले सरकार र नेकपा सर्वसत्तावादतर्फ उन्मुख रहेको भन्दै सञ्चारमाध्यममाथि अकुशक लगाउन खोजेको आरोपसमेत लगाएको छ ।
संविधान संशोधनको मुद्दामा मधेसवादीलाई पुनः अलमल्याएर कम्युनिस्टहरूले अर्को षड्यन्त्र रच्न थालेको कांग्रेसको आरोप छ । पार्टीले कठिन परिस्थितिमा सभापति भेला गरेकाले यसको दूरगामी महत्व हुने उपसभापति विमलेन्द्र निधिले बताए । जिल्ला सभापतिले दिएको सुझावले पार्टी विधानदेखि संगठनसम्मका विषयमा महासमितिले लिने निर्णयमा मधत पुग्ने उनको भनाइ छ ।
पार्टीको नयाँ संरचनामै पनि कांग्रेसमा दुई थरी धार देखिएको छ । महासमितिले नयाँ विधान बनाएपछि सभापति देउवा तत्काल प्रदेशदेखि स्थानीय तहसम्म तदर्थ समिति बनाएर अधिवेशनमा जाने मनस्थितिमा छन् । उनीबाहेकका नेताको भने विधान बनेसँगै अधिवेशनबाटै नयाँ संरचना खडा गर्नुपर्ने माग छ ।
गगन थापा, प्रदीप पौडेलसहितका आठ युवा नेताले केन्द्रीय समितिको बैठकदेखि पार्टी सुधारका लागि छुट्टै दस्तावेज सार्वजनिक गर्दै पार्टीको तलदेखि तत्काल अधिवेशन प्रक्रिया अघि बढाउन माग गरेका छन् ।
भेलामा सहभागी पर्साका सभापति अजय द्विवेदी भन्छन्, ‘एउटा लोकतान्त्रिक पार्टीभित्र थरीथरी विचार हुनु स्वाभाविक हो । हेटौंडा भेलाको बन्दसत्रमा खुलेर सबै पक्षमाथि छलफल भएको छ । यसले पार्टीलाई दीर्घकालीन फाइदा पुग्छ

nema
Show More

Related Articles

Back to top button