गुटबन्दीमै रूमल्लिएको कांग्रेस हेटौंडा घोषणापत्रले कार्यकर्तालाई उत्साह र समर्थकलाई आश्वस्त तथा जनसाधारणलाई आकर्षित तुल्याउन सकेन
- २०७५ असार ९ शनिबार १४:१९:००
समयमा चुनावी हारको समीक्षासम्म पनि गर्न नसकेको नेपाली कांग्रेस पार्टीलाई पुनजीवन दिने सबै अवसर गुमाउन कृतसंकल्प देखिएको छ । निर्वाचनमा पार्टीमात्र हैन यसका वरिष्ठ नेताहरू पनि नराम्ररी परास्त भए । तर, चुनाव हार्नेहरूले मात्र हैन पार्टी सभापतिले समेत हारको जिम्मेवारी सकारेनन् । चुनावी समीक्षाका लागि केन्द्रीय समितिको बैठक नै ढिलो डाकियो । बल्लबल्ल बसेको बैठक पनि हारको समीक्षामा भन्दा गुटहरूबीच आरोपप्रत्यारोपको रणनीतिमा व्यस्त भयो । पार्टी महासमितिको बैठक बोलाउनै संस्थापन पक्ष बल्लतल्ल राजी भयो । असन्तुष्ट पक्षले यसैलाई ठूलो उपलबिध ठानेको देखियो । यसैबीच असन्तुष्ट समूहकै मागअनुसार पार्टीका जिल्ला सभापतिहरूको भेला बोलाइयो । तर, देशभरका जिल्ला सभापतिहरू भेलालाई उपलब्धिमूलक बनाउन भने खासै प्रयास गरिएको देखिएन ।
जनतासँग प्रत्यक्ष सम्पर्क र संवाद हुने जिल्ला सभापतिहरूको भेलाले दिशा र गतिहीन देखिएको केन्द्रीय समितिलाई यथार्थपरक रणनीति अपनाउन मार्गदर्शन गर्नसक्थ्यो । तर, हेटौंडा भेला पनि शिथिल पार्टीलाई ऊर्जा दिन सफल भएको देखिएन । जिल्ला सभापतिहरू पनि गुटभन्दा माथि उठ्न सकेनन् । भेलापछि जारी घोषणापत्रमा पार्टीलाई ‘थप सबल, सुदृढ, आधुनिक एवं प्रभावकारी बनाउने‘ अठोट व्यक्त गरिएको छ । तर, पार्टी किन कमजोर र प्रभावहीन भयो भन्ने विषयमा भने घोषणापत्रमा विवेचना गरिएको छैन । यस्तै, कांग्रेसलाई ‘संगठन थप सबल, सुदृढ, आधुनिक एवं प्रभावकारी बनाउने‘ कुनै उपाय वा मार्गचित्र पनि जिल्ला सभापतिहरुको राष्ट्रिय भेलाले प्रस्तुत गरेको देखिएन । बन्द सत्रमा भएका छलफलहरू प्रायः आरोपप्रत्यारोपमा केन्द्रित रहेको समाचार सार्वजनिक भएको छ । गुटबन्दीबाट माथि उठेर हारको समीक्षा गर्न र पार्टीलाई जीवन्त बनाउन सदुपयोग गर्नुपर्ने अवसर कांग्रेसले फेरि गुमायो ।
गौरवमय इतिहासले मात्रै भविष्य सुनिश्चित रहने हैन । सान्दर्भिक भइरहन चाहने हो भने नेपाली कांग्रेस समय सापेक्ष गतिशील हुनैपर्छ । पार्टीको इतिहास मतभेद र विभाजनबाट मुक्त कहिल्यै रहेन । तर, सधैँ नै नेपाली कांग्रेस नेपालको राजनीतिको केन्द्रमा थियो । कांग्रेसकै विचारअनुसार त्यसको पक्ष वा विपक्षमा देशको राजनीति विभाजित हुन्थ्यो । कांग्रेसका नेताको कद समसामयिक अरू राजनीतिक नेताको भन्दा उचा रहने गथ्र्यो । यसैले वैचारिक र सांगठनिक पक्षमा धेरै परिश्रम नगर्दा पनि नेपाली कांग्रेस विगत सात दशकसम्म देशको प्रमुख राजनीतिक शक्ति रहिरहन सकेको थियो । अहिले कांग्रेस नेतृत्व र विचार दुवै दृष्टिमा पछाडि परेको छ । यसैले कांग्रेसले अरू दलले भन्दा बढी परिश्रम गर्नुपर्ने हो । तर, चुनावपछिका क्रियाकलाप हेर्दा नेपाली कांग्रेसले गुमाएको स्थान पुनः हासिल गर्ला भनेर विश्वास गर्ने आधारसम्म पनि देखिँदैन ।
हेटौंडा घोषणापत्रको अधिकांश बुँदाहरू कम्युनिस्ट सरकारको ‘सर्वसत्तावादी‘ चरित्र र प्रवृत्तिको विरोधमा केन्द्रित छ । लोकतन्त्रप्रति सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रतिबद्धतामा सन्देह सधैँ नै रहिरहन्छ । सरकार गठन भए यताका क्रियाकलापले पनि त्यसलाई बढाएकै छ । संसद्मा दुई तिहाइ बहुमत भएको कम्युनिस्ट पार्टीको नेतृत्वको सरकार अधिनायकवादी हुँदै सर्वसत्तावादतर्फ लाग्नु अनपेक्षित पनि होइन । तर, नेपाली कांग्रेसजस्तो जनाधार र लोकतान्त्रिक साख भएको दल सशक्त हुने हो भने देशलाई सर्वसत्तावादको भासमा पर्नबाट जोगाउन सक्नेथियो । लोकतन्त्रको रक्षाका लागि पनि कांग्रेस सुदृढ र सबल हुनुपर्छ । अनिमात्र अधिनायकवादीको निगरानी गरी लोकतन्त्रमाथि आक्रमण हुँदा सत्ताविरुद्ध संघर्षको नेतृत्व गर्न सक्छ । दुर्भाग्य, कांग्रेसको नेतृत्व कुनै पनि दृष्टिबाट त्यसका लागि तत्पर र समर्थ देखिँदैन । नेतृत्व लिन अग्रसर हुनुपर्ने युवा नेताहरू पनि गुटभन्दा माथि उठ्न नसकेको सन्देश प्रवाहित भएको छ । घोषणापत्रमा लेखेर पार्टी एकताबद्ध र सुदृढ हुने हैन ।
नेपाली कांग्रेसका युवा नेताले लोकतन्त्र, राष्ट्रियता र आफ्नोसमेत भविष्यको संरक्षण गर्ने हो भने आगामी महाधिवेशनमा गुटबन्दीबाट पार्टीलाई मुक्त गर्न नयाँ नेतृत्व चयन हुने वातावरण बनाउन अग्रसर हुनुपर्छ । तत्काल नेतृत्व परिवर्तन गर्न नसके संगठनमा निर्णायक हस्तक्षेप गरेर देशभरका कार्यकर्तामा उत्साह र विश्वास जगाउने अभियान चलाउनु आवश्यक देपखन्छ । संगठन विस्तारको परम्परागत शैली छाडेर उदार लोकतान्त्रिक दलको जस्तो जनतामा आधारित पार्टीको अभ्यास अपनाउनु जरुरी देखिन्छ । नत्र, आगामी केही वर्षभित्रै परम्परागत मतदाताले समेत नेपाली कांग्रेसलाई माया गर्नेछैनन् ।