समाचार

मुगलिङ–नारायणगढ सडकले सिकाएको पाठ नेपालका लागि ठूला र फराकिला सडकभन्दा धेरैवटा साना सडक उपयुक्त हुने देखिन्छ

केही दिन पहिले एकसरो कालोपत्रे सकिएलगत्तै खोलिएको मुगलिङ–नारायणगढ सडकको तुरुन्तै विकल्प खोज्न लागिएको छ । भरपर्दो वैकल्पिक सडक बनाउनका लागि विकल्प खोज्न लागिएको भने होइन । अहिले तत्काल पहिरोले यातायात अवरुद्ध र जोखिमपूर्ण भएपछि पूर्व र पश्चिमबाट काठमाडौं आउन जान अरू सडकहरू प्रयोग गर्न सरकारका सम्बन्धित अधिकारीले आग्रह गरेका छन् । मुगलिङ नारायणगढ सडकको यात्रा जोखिमपूर्ण र अनिश्चित भएकाले उपलब्ध अरू सडकहरू प्रयोग गर्न बुद्धिमानी हुने उनीहरूको तर्क छ । त्यसो गरिएमा पश्चिमबाट आउने यात्रु बुटवलबाट पोखरा हुँदै र पूर्वका यात्रु हेटौँडाबाट त्रिभुवन राजपथ हुँदै आउन सक्छन् । यसैगरी हेटौँडाबाट दक्षिणकाली, बर्दिवासबाट बनेपा हुँदै पनि काठमाडौं आउन सकिन्छ । यद्यपि, बुलवल पोखराको केही भागमा भने पहिरोको उत्तिकै जोखिममा छ ।

मुगलिङ–नारायणगढ सडक सडक पहिले पनि धेरै वर्षसम्म पहिरोका कारण अनिश्चित र जोखिमपूर्ण रहिआएको थियो । बल्लतल्ल धेरै ठाउँमा पहिरो थामिएको के थियो स्तरोन्नतिका नाममा फेरि खोलत्ने काम गरियो । ठेकेदारको लापरबाहीका कारण सडक विस्तार कार्य ढिलो भएको त हो तर त्यहाँको भौगोलिक अवस्थाको ख्याल नगरी बनाइएको विस्तार योजना पनि ढिलाइ र जोखिमका लागि जिम्मेवार छ । त्यसमाथि सडक विस्तारमा ठूला मेसिनको प्रयोग गरिँदा पनि पहिरोलाई निम्ता गरेजस्तो भयो । यिनै सबै कारणले मुगलिङ–नारायणगढ सडक विस्तार कार्य पूरा भएपछि पनि आगामी केही वर्ष यसबाट हुने यात्रा अनिश्चित र जोखिमपूर्ण रहिरहनेछ । यसबाट भएको मानवीय र अन्य क्षतिको हिसाब गर्ने हो भने यो सडक विस्तार धेरै महँगो साबित हुनेछ । सडक विस्तारको योजना बनाउँदा सायद अहिलेको अवस्थाको अनुमानै गरिएको थिएन ।

मुगलिङ – नारायणगढ सडक विस्तार गर्नुको साटो उतिबेलै विकल्प खोजिएको भए सायद यति धेरै जीउधनको क्षति सहनुपर्ने थिएन । मुगलिङबाट नारायणगढ जान तनहुँपट्टिको किनारबाट नयाँ सडक बनाउनु बुद्धिमानी हुन्थ्यो । त्यसो गरिएको भए कम्तीमा एउटा सडक त निर्बाध चालु हुन्थ्यो । तर, ठूला र फराकिला सडकको सपना देख्नेहरूले नेपालको भौगोलिक, समाजिक तथा आर्थिक यथार्थको उपेक्षा गर्दैआएका छन् । यस्तै लापरबाही चक्रपथ विस्तारका क्रममा पनि गरियो । अहिले एउटा खण्डमा बल्लबल्ल काम सकिँदा नसकिँदै सडक विभागले सडक विस्तारको डिनाइन नमिलेको भन्दै भत्काउने योजना बनाउन सुरु गरिसकेको छ । यसले हाम्रो समग्र विकास चिन्तन नै अव्यावहारिक भएको पुष्टि हुन्छ । विडम्बना, अझै पनि त्यही ठूलो र फराकिलो सडककै पक्षमा सरकार र योजनाकारहरू रहेको देखिएको छ

नेपालको भूगोल र आर्थिक क्षमतासमेत हेर्दा एउटै सडकलाई धेरै फराकिलो बनाउन खोज्नुभन्दा धेरैवटा ससाना सडक बनाउनु उपयुक्त, किफायती र लाभदायक हुने देखिन्छ । काठमाडौं उपत्यका आउन जानका लागि त झन् यस्ता धेरै सडक बनाउनु रणनीतिक दृष्टिले पनि उचित हुनेछ । यस्ता साना सडक वातावरणीय दृष्टिमा पनि उपयुक्त हुनेगरी बनाइनुपर्छ । मुगलिङ – नारायणगढ सडकको अवस्थाबाट पाठ सिकेर ठूला योजना र तिनबाट पाइने मोटो कमिसनको मोह त्यागी साना तर धेरै योजना निर्माण गर्ने र श्रम प्रधान एवं वातावरण मैत्री प्रविधि अपनाई जोखिम कम गर्नेतर्फ सरकारले ध्यान देला ?

nema
Show More

Related Articles

Back to top button