समाचारअन्तर्वार्ता

१ सय ४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाको  विद्युत खरिद सम्झौता सम्पन्न 


१५ असार, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले पहलो पटक जलाशययुक्त आयोजनासँग विद्युत खरिद सम्झौता (पीपीए) गरेको छ । शुक्रबार प्राधिकरणले १ सय ४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाको पीपीए गरेको हो ।
प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजनाको प्रवर्द्धक कम्पनीका तर्फबाट प्रवन्ध-सञ्चालक प्रदिप कुमार थिकेले पिपिएमा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार प्राधिकरणले यो आयोजनाको बिजुली अबको ३० वर्षसम्म खरिद गर्नेछ । साथै यो आयोजनाले २०८० को चैत ३० सम्ममा उत्पादन थालिसक्नु पर्नेछ । प्राधिकरणले आयोजनाबाट उत्पादित ऊर्जा सुख्खायाममा प्रतियुनिट १२ रुपैयाँ ४० पैसा र वर्षायाममा ६ रुपैयाँ ०८ पैसामा खरिद गर्ने छ ।तर, कुनै वर्षमा आयोजनाबाट उपलब्ध गराइएको सुख्खायामको उर्जा कुल वाषिर्क उपलब्ध गराइएको उर्जाको ३५ प्रतिशत भन्दा कम भएमा उक्त वर्षको लागि आयोजनाले जलाशययुक्त आयोजनाको सट्टा अर्ध-जलाशययुक्त आयोजना को लागि तोकिएको खरिद दर लागू हुने व्यवस्था आयोजनाका सञ्चारविज्ञ सचेन गौतमले जानकारी दिए ।
प्राधिकरणले अर्ध-जलाशययुक्त आयोजनाका लागि सुख्खायामका लागि १०.५५ र वर्षायामका लागि प्रतियुनिट ४.८० रुपैयाँ खरिद दर निर्धारण गरेको छ ।
साथै उक्त दरमा कम्पनीले वाषिर्क ३ प्रतिशतका दरले ८ पटकसम्म साधारण मूल्यबृद्धि पाउने व्यवस्थाअनुसार मुल्यबृद्धि पश्चात अर्थात ९७ औं महिनादेखि आयोजना अवधिभर खरिद दर प्रतियुनिट सुख्खायाममा १५.३८ र वर्षायाममा ७.५४ रुपैयाँ कायम हुने सञ्चारविज्ञ गौतमले बताए ।
त्यसैगरि आयोजनाको शुख्खायाममा १७ करोड ८९ लाख र वषर्ायाममा ३२ करोड ३६ लाख युनिटलाई सम्झौता ऊर्जा कायम गरिएको छ ।
आयोजनाबाट उच्पादन हुने विद्युत ऊर्जा दमौली-भरतपुर २ सय २० केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाहित गरिने छ ।
आयोजनाको पूर्वाधार निर्माण कार्यहरु सम्पन्न हुने अवस्थामा रहेका छन् भने मुख्य संरचना निर्माणको लागि खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।आयोजनाको मुख्य संरचनाहरुको निर्माण कार्य नोभेम्बर २०१८ बाट सुरु गर्ने र ५ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य तय गरिएको छ ।
आयोजनाको कुल लागत अमेरिकी डलर ५० करोड ५० लाख आँकलन गरिएको छ । यसमध्ये एसियाली विकास बैंक(एडीबी)ले अमेरिकी डलर १५० मिलियन, जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका)ले अमेरिकन डलर १८४ मिलियन, युरोपियन इन्भेस्टमेन्ट बंैक -ईआईबी)ले अमेरिकन डलर ८५ मिलियन र नेपाल सरकार/नेपाल विद्युत प्राधिकरणले अमेरिकी डलर ८७ मिलियन व्यर्होने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।
यसको लागि सम्बन्धित दातृ निकायहरु र नेपाल सरकारबीच ऋण सम्झौताहरु तथा नेपाल सरकार र प्राधिकरण एवं प्राधिकरण र यस कम्पनीबीच सहायक ऋण सम्झौताहरु सम्पन्न भइसकेको आयोजनाले जानकारी दिएको छ ।

२०७५ असार १५ गते १५:४३ मा प्रकाशित

nema
Show More

Related Articles

Back to top button