अन्तर्वार्तानेपाली कांग्रेस
बीपीले कम्युनिस्टसँग मिल्नु हुँदैन भनेको अहिले बुझ्दैछुः देउवा
६ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बीपी कोइरालाले ‘कम्युनिस्टहरुसँग मिल्नु हुँदैन’ भनेको कुरा अहिले बुझेको बताएका छन् ।बीपी स्मृति दिवसको अवसरमा आइतबार पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले भने, ‘बीपीले कम्युनिस्टहरुलाई पहिल्यै चिन्नुभएको रहेछ । तर, हामीले अहिले मात्रै चिन्यौं । उनीहरु जनताका लागि हुँदै होइनन् ।’
काठमाडौंका विभिन्न क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेकोमा विरोध जनाएका उनले कम्युनिस्ट सरकारले जनताको अधिकारलाई कुण्ठित गर्ने काम गरेको बताए । ‘एकलौटी निर्णय गरेर जनताको शान्तिपूर्ण बिरोध गर्ने अधिकारलाई रोक्न सरकारले निषेधित क्षेत्र घोषणा गरेको छ’, देउवाले भने, ‘यो अप्रजातान्त्रिक हो । उनीहरु जनताको लागि होइनन् भन्ने यसबाट पुष्टि हुन्छ ।’
‘उनीहरुले एकदलीय तानाशाही, सर्वसत्तावादी शासन स्थापना गर्न खोजका छन् । उनीहरुले बोल्न दिँदैनन् । लेख्न दिँदैनन् । त्यसैले उनीहरु जनताका लागि होइनन् ।’
डा. गोविन्द केसीको माग जायज भएको उनले बताए । ‘उनको मागमा हाम्रो समर्थन छु, देउवाले भने, ‘उहाँलाई बचाउन हामी एकजुट हुनुपर्छ ।’
कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले हतियार प्रयोग गरेर सत्ता चलाउने कुरा धेरै नटिक्ने बताएका छन् । उनले भने, ‘डा. गोविन्द केसीले जुन माग उठाउनु भएको छ, त्यसको पछाडि एउटै कुरा छ- गुणस्तरीय शिक्षा दूरदराजको गाउँमा पुगोस् । तर, सरकारले उनको मागलाई विल्कुलै उपेक्षा गरेको छ ।’
‘सरकार जनहितको मागलाई विल्कुलै उपेक्षा गरेर दमन गरेर सत्ता चलाउन चाहन्छ । तर, दमनकारी हतियारले सत्ता चलाउने कुरा धेरै टिक्दैन ।’
उनले पैसाको राजनीति नेपाली कांग्रेसले अन्त्य गर्नु पर्ने बताए । ‘पैसाको राजनीति हाम्रो पार्टीले निरुत्साहित गर्नुपर्छ । त्यसो भयो भने हामी बीपीप्रति सच्चा अनुयायी हुनेछौं’, पौडेलले थपे ।
२०७५ साउन ६ गते २०:११ मा प्रकाशित
