breakingसमाचार

तनहुँको स्थान तनहुँ जिल्लाको विकास र राष्ट्रिय राजनीतिमा कमजोर बन्योः जोशी

४ असोज, तनहुँ÷नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री गोविन्दराज जोशीले तनहुँ जिल्लाको स्थान राष्ट्रिय राजनीति तथा विकासका दृष्टिले कमजोर बनेको टिप्पणी गरेका छन् । सामुदायिक रेडियो दमौली एफएम ९४.२ र दमौली खबर दैनिकको सञ्चालक संस्था तनहुँ सञ्चार सहकारी संस्था लि.को ११ औं वार्षिक साधारण सभा तथा पाचौं अधिवेशनको उद्घाटन गर्दै उनले जिल्लामा आफू नेतृत्वमा रहँदा शैक्षिक तालिम केन्द्र, भीमादमा सीटीइभीटीको प्राविधिक शिक्षालय, आदिकवि भानुभक्त क्याम्पसलगायतका संरचना स्थापना गरे पनि यसबीचमा ठूला संरचना स्थापना हुन नसकेको दाबी गरे । दमौली अस्पतालको स्तरोन्नती तथा नयाँ अस्पताल स्थापनाका लागि आफूले मणिपाल शिक्षण अस्पताललाई सम्झौता गराएको भए पनि यसपछिका समयमा त्यसमा कसैले चासो नदिएको उनले बताए ।
अहिले नेपाली कांग्रेस तथा सरकार र राजनीति कुनै पनि ठाउँमा प्रभावशाली भूमिकामा रहेर जिल्लाले फाइदा हुने अवस्था नआएको उनले दुखेसो गरे । ‘दमौलीमा सदरमुकाम स्थापना भैसकेपछि यस ठाउँमा चहलपहल बढाउनुपर्छ भनेर सकेसम्म धेरै संरचना बनाउने काम त्यसबेला भएको थियो,’ लामो समय प्रभावशाली मन्त्रालयको नेतृत्वमा रहिसकेका नेता जोशीले भने,‘तर अहिले आफूलाई शक्तिशाली भन्नेहरुले केही नगरेको देख्दा दुःख लाग्छ ।’ उनले नाम नलिइकन कांग्रेसको ठूलो पदमा रहेको दाबी गर्नेहरुले पनि केही गर्न नसक्दा जिल्लाको उचाइ घटेको र विकासको दर पनि निकै घटेको जिकिर गरे । ‘अहिलेसम्म एउटा ठूला योजना पर्न सकेका छैनन्,’ उनले भने,‘आफू बन्ने अरुलाई बन्न नदिने प्रयत्नले क्षति पुगेको छ ।’
हाल आएका कानूनको विरोध भएको प्रसंगमा नेता जोशीले आफू सहि र अरु सबै खराब भन्ने राजनीतिक नेतृत्वका कारण जनतालाई असर पर्ने खालका ऐन कानून निर्माण भएको बताए ।
तनहुँ सञ्चारका संरक्षकसमेत रहेका नेता जोशीले दमौलीलाई सबै हिसाबले चहलपहलको केन्द्र बनाउन सूचना तथा सञ्चारका क्षेत्रबाट योगदान दिनका लागि दमौली एफएम स्थापना गरिएको स्मरण गरे । अब एफएम र दमौली खबर दैनिकलाई प्रदेशस्तरको प्रभावकारी सञ्चारमाध्यम बनाउन शुभेच्छा प्रकट गरे ।
कार्यक्रममा बोल्दै संस्थाका संस्थापक अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले तटस्थ सञ्चारमाध्यमका रुपमा सहकारीका प्रकाशन तथा प्रसारणले पहिचान बनाएको बताए । उनले सहकारीलाई थप प्रगति गर्दै चाँडो आफ्नै भवन निर्माण सम्पन्न गर्नका लागि शुभकामना दिए । संस्थाका सञ्चारमाध्यमले सूचना र मनोरञ्जनसँगै चाडबाड र संस्कृति जोगाउन भूमिका खेलेको बताए ।
सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले सहकारीका रेडियो तथा प्रकाशनले सूचना तथा सञ्चारका क्षेत्रमा सकारात्मक योगदान दिएको भन्दै थप योगदानको अपेक्षा गरेको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य वृषराज श्रेष्ठले दमौली एफएम र दमौली खबर आम जनताको आवाज बनेको भन्दै सफलताको शुभकामना दिए । नेपाल रेडक्रस सोसाइटी तनहुँका सभापति कृष्णहरि वाग्लेले सहकारीका रेडियो र पत्रिकाले समाजका विभिन्न क्षेत्र समेटेको बताए । कार्यक्रममा तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठ, जिल्ला सहकारी संघका अध्यक्ष श्रीप्रसाद भट्टराई, तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाईका सभापति राजकुमार श्रेष्ठ ‘राकु’, पत्रकार महासंघ तनहुँका निवर्तमान अध्यक्ष प्रकाशचन्द्र भट्टराई, महिला नेतृ बालकुमारी लोहोनीलगायतले सहकारीका रेडियो र पत्रिकाले समाजमा सूचनाका क्षेत्रमा अलग पहिचान बनाएको बताए ।
सहकारीका कार्यवाहक अध्यक्ष परशुराम गिरीले कठिन अवस्थाबाट संस्थाले केही सुधार गर्दै आफ्नै भवन बनाउने अवस्थामा पुगेको भन्दै शेयर सदस्यको साथबाट सम्भव भएको बताए । सहकारीका सचिव हरिशरण पण्डितले जिल्लामै संस्थाका प्रकाशन तथा प्रशारणले अलग पहिचान बनाएको बताए । कोषाध्यक्ष चिनु पोख्रेलले भवन निर्माणका लागि श्रोत जुटाउने कामले धेरै हदसम्म सफलता पाएको भन्दै अब चाँडै थप काम थालिने बताइन् ।

nema
Show More

Related Articles

Back to top button