‘गलबन्दी’ विवाद संसदमा,जातीय द्वन्द्व भड्काउने काममा सरकार लागेको आरोप
काठमाण्डौ –नेपाली कांग्रेसका सांसद मिनबहादुर विश्वकर्माले जातीय द्वन्द्व भड्काउने काममा सरकार लागेको आरोप लगाएका छन्। पूर्वमन्त्री समेत रहेका विश्वकर्माले संसदमा ‘गलबन्दी’ गीतको विवाद बारेमा बोलेका छन्। तीस दिनमा डेढ करोड पटक हेरिनु चानचुने कुरा होइन भन्दै यो गीतका सर्जक प्रकाश सपूत र गायिका शान्ति श्री परियारलाई सरकारले उचित सम्मान गर्नु पर्नेमा सत्तारुढ दलका समर्थक शम्भु राईले गीत चोरी भएको आरोप लगाएको भन्दै सांसद मीनले विरोध गरेका हुन् ।
‘मेरो लय नक्कल गरिएको भनेर मुद्दा हालेछन्’ विश्वकर्माले भने, ‘हामीले ख्याल गर्नुपर्ने कुरा भनेको लोकलय पुर्खाले गाएको गीतलाई पछिल्लो पुस्ताले सिक्दै पछिसम्म जीवित राख्ने हो।’ उनले एक पुस्ताले एकपल्ट गाएको गीत एकपल्ट मात्र रेकर्ड हुन्छ भने लोक भाका नहुने उल्लेख गरे ।
उनले गाउँघर, रोदि, मेलापातमा जाँदा यो गीत स्वतः गाउने भाका नै लोक लय हुन्छ भन्दै प्रकाश सपूतको गीतको समर्थन गरे। उनले प्रकाश सपूतको गीत कुनै पनि भाकासँग मेल नखाने समेत दाबी गरेका छन्। शम्भू राईले सामान्य कलाकारले गरेको काममा चोरी गरेको भन्नु लज्जास्पद रहेको उनले बताए।
राईका मतियारहरुले सामाजिक सञ्जालको प्रयोग गर्दै प्रकाश सपूतलाई अति निच गाली गर्दै जातीय विभेदपूर्ण शब्द प्रयोग गरेको भन्दै मीनले निन्दा गरे। संविधान, सदभाव र कानूनको विरुद्ध हुने गरी दलित समुदायलाई अपमानित हुने गरी अपमान गरेको हुनाले साइबर कानून अन्तर्गत जातीय छुवाछुत तथा भेदभाव कसुर सजाय ऐन २०६८ अन्तर्गत र संविधानको धारा २४ अन्तर्गत कारवाहीको माग गरे ।
उनले आरोपीलाई कानूनी कारवाहीमा नल्याए सम्पूर्ण दलितहरु आन्दोलनमा उत्रने चेतावनी पनि दिएका छन्।