विचारनेपाली कांग्रेस

नेताहरुबीच सर्वसम्मत भए पनि पार्टीको संरचनामा मनोनित हुन सक्दैन ः प्रदिप पौडेल

काठमाण्डौ – नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक जारी छ । आइतबारदेखि सुरु भएको बैठकमा विभिन्न १४ वटा एजेण्डामा छलफल हुँदै छ । बैठकमा नियमावली मस्यौदा समितिले तयार पारेको नियमावलीको मस्यौदामा विशेष छलफल हुन्छ । लामो समयदेखि नेपाली कांग्रेसको तलको संचरनालाई पूर्णता दिने विषयमा आवश्यक निर्णय बैठकले गर्छ ।
कांग्रेसको विधानले पनि तलका संरचनालाई पूर्णता दिने विषयमा संक्रमणकालिन व्यवस्था गरेको छ । ४ महिनाअघि मात्रै ल्याएको विधानबाट हामीले ती संरचनालाई पूर्णता दिनुपर्ने छ । विधान भन्दा बाहिरबाट तलको संरचनाले पूर्णता पाउन सक्दैन । तलको संरचनालाई पूर्णता दिनका लागि संक्रमणकालिन व्यवस्थाको प्रयोग गर्ने सन्दर्भमा केन्द्रीय समितिले आवश्यक निर्णय गर्छ । अर्को भनेको भ्रातृ संगठनहरुलाई पनि पूर्णता दिनुपर्ने अवस्था छ । पार्टीका भ्रातृ संगठन कतिपय विघटित अवस्थामा छन् । कतिपयको लामो समयदेखि अधिवेशन हुन सकेको छैन । त्यसका बारेमा पनि बैठकमा आवश्यक छलफल हुन्छ । केन्द्रीय समितिले आवश्यक निर्णय गर्छ ।
नियमावलीको मस्यौदा समितिले सर्वसम्मत तयार पारेर केन्द्रीय समिति बैठकमा पेश गरेकोे छ । तर केन्द्रीय कार्यसमितिमा पुगेको मस्यौदामा नेताहरुले त्यसमा रहेका विभिन्न व्यवस्थाका बारेमा आफ्नो अवधारणा राख्ने क्रम जारी छ । त्यसक्रममा नेताहरुबाट फरक कुरा आउन पनि सक्छ । केन्द्रीय समितिले त्यसलाई सबैको राय समेट्दै अघि बढ्छ । तर समितिले त्यो मस्यौदा सर्वसम्मत ल्याएको हो ।
पार्टीका संरचनाको पूर्णता मनोनयनबाट हुँदैन
तर अहिले बाहिर चर्चामा भए जस्तो तल्लो तहका संरचनालाई पूर्णता दिन मनोनयन गर्ने भन्ने कुरालाई विधानले संभव देखेको छैन । हुन त यसबारेमा चर्चा नभएको होइन । समितिमा पनि यसबारेमा चर्चा भएकै हो ।
मस्यौदा तयार पार्दा हाम्रा बीचमा मनोनयनका कुरा नचलेको होइन । तर विधानले जे व्यवस्था गरेको छ त्यो भन्दा बाहिर गएर नियम बन्न सक्दैन । मूल विधानमा आधारित भएर विधान बनाउने हो । नियमावलीले विधानलाई गाइड गर्न सक्दैन । त्यस कारणले विधानमा नै नभएको व्यवस्था नियमावलीमा प्रस्तुत गर्ने कुरा स्वभाविक हुन सक्दैन भन्यौँ । बैठकमा चर्चा भयो तर यो विषयले प्रवेश पाएन । त्यसैले नियमावली ले पनि मनोनयन गर्ने, तदर्थ समिति गठन गर्ने व्यवस्था गरेको छैन । विधानले त त्यो अवधारणा नै सोचेको छैन ।
विधानले संक्रमणकालिन धारा उल्लेख गरेको छ । त्यो धाराको बारेमा त्यो धारा प्रयोग नभएसम्म केन्दीय समितिले वैकल्पिक निर्णय गर्न सक्ने, आवश्यक निर्णय गर्न सक्ने भन्ने विषय नियमावलीमा राख्ने कि भन्ने चर्चा हामीबीच भएको थियो । तर छलफलपछि हामीले मस्यौदामा त्यो बारेमा कुनै कुरा राखेनौँ ।
हुन त कसैलाई मनोनयन गर्ने इच्छा होला । इच्छा भए पनि नेपाली कांग्रेसको अहिलेको विधानले मनोनयन गर्ने कुरा संम्भव नै नभएको अवस्था छ । जुन संक्रमणकालिन व्यवस्था गरेको छौँ, त्यो व्यवस्थाले मनोननय गर्न तदर्थ समिति बनाउन दिँदै दिँदैन ।
महाधिवेशन आउन समय नजिक छ । यो छोटो समयमा बाँकी रहेका संरचनाहरुलाई पूर्णता दिन किन चुनावमा जानु पर्यो ? तदर्थ समिति बनाएर भए पनि सहमतिबाट काम गरौैँ भन्ने कुरा चर्चामा थियो । तल्लो तहको कमिटी सहमतिबाटै गरौँ भन्ने थियो । तर त्यो चर्चामा मात्रै सीमित रह्यो । त्यसले कार्यान्वयनको रुप लिने अवस्था अब छैन ।
सर्वसम्मत भए पनि विधान विपरित जान मिल्दैन
केन्द्रीय समितिमा पनि यो विषयमा चर्चा गरिन सक्छ । तर चर्चा गरिँदैमा व्यवस्था नै नभएको कुरा कसरी कार्यान्वयन गर्न सकिन्छ र ? विधानमा नभएको कुरा केन्द्रीय समितिको सबै मिल्दा पनि कार्यान्वयन त गर्न मिल्दैन नि । विधानमा भएको विषयालाई मात्रै केन्द्रीय समितिले कार्यान्वयन गर्ने हो । त्यसैले विधानमा नै नभएको व्यवस्था केन्द्रीय कार्य समितिमा सर्वसम्मत हुँदा पनि कार्यान्वयन गर्न सकिँदैन । नेताहरुको सहमति विधानभन्दा ठूलो हुँदै होइन । हुन सक्दैन ।
पार्टीको चौधौँ महाधिवेशन समयमै सुरु गर्ने हो अर्थात अबको फागुनमा नै सुरु गर्ने हो भने हामीले साविककै संरचना कायम राख्न सक्छौँ । देशको संरचना एउटा छ, तर कांग्रेसको संरचना अर्को छ । त्यही कायम रहेको संरचना अनुसार हामी अघि बढ्न सक्छौँ । १४ औँ महाधिवेशनका लागि अहिलेको संरचना मुताविकको नेतृत्व ल्याउने भन्ने कुरा बैठकमा हुन सक्छ । तर अहिलेको संरचनाका लागि तदर्थ समिति गठन गर्ने भन्ने कुरा सहमति गरेर पनि कार्यान्वयन गर्न मिल्दैन ।
तलको वडा समिति गाउँसमिति भागवण्डा गरेर अघि बढ्ने विषय हुनै सक्दैन । भ्रातृ संगठनको तदर्थ समिति बनाउने विषय पनि बैठकको एजेण्डा हो । त्यसमा भागबण्डा हुन सक्ला । शक्ति सन्तुलनको हिसाबले भागबण्डा गरिएला । यस्तै विभागहरु पनि बनाउनु पर्ने छ । यसमा पनि भागबण्डा हुन सक्ला । तर देशभरीका संरचनालाई पूर्णता दिने कुरा भागबण्डाका आधारमा हुनै सक्दैन ।
तलको संरचना नबनाएसम्म अबको जागरण अभियान हुन सक्दैन । दोस्रो चरणको जागरण अभियानको मिति तय भइसकेको छ । तर तय भइसके पनि यदि त्यो समयअघि तलका संरचना नबने अभियानको मिति सार्नु पर्छ । मुख्य कुरा भनेको तलको संरचना हो । पहिलो अभियानका क्रममा तलका संरचना नहुँदा हामीलाई समस्या पर्यो । हामीले भोगिसकेका छौँ नि । मुख्य कुरामा काम नगर्ने अनि अरु विषय ल्याएर भयंकर भइरहेको छ भनेर देखाएर त्यसको केही अर्थ रहँदैन ।
नेतृत्व विधान विपरित
हाम्रो नेतृत्व केही विषयमा विधान विपरित हिँडिरहेको छ । प्रष्ट ढंगले विधान मिचिएको देख्न सकिन्छ । पछिल्लो चरणको सन्दर्भलाई नै हेर्ने हो भने यो देखिन्छ । महासमिति बैठकका निर्णय केन्द्रीय समिति उल्टाइनु विधान विपरित थियो । पदाधिकारी दुई महिनाभित्र बनाउनु पर्ने थियो ।
समितिहरु दुई महिनाभित्र बनाइसक्नु पर्ने थियो । त्यो बनाउन सकिएन । विधि विधानसम्मत रुपमा पार्टी चल्नु पर्छ भन्ने कुराको दबाब पार्टीभित्र उठाउन जरुरी भइसकेको छ । नेतृत्वलाई अब बोध गराउन आवश्यक छ ।
नेतृत्व के चाहन्छ भने परम्परागत रुपमा चल्यो भने अलि सजिलो हुन्छ । परम्परा आफ्नो सुविधा अनुसारको हुन्छ । तर अब पार्टी त्यसरी चल्नु हुँदैन ।  विधानसम्मत ढंगबाट अगाडि बढ्नु पर्छ ।
महाधिवेशन सार्नु पार्टी हित विपरित हुन्छ
पार्टीको महाधिवेशन समयमै गरौँ भन्ने हाम्रो माग हो । महाधिवेशनको बारेमा पनि दुई वटा कुरा छ । अहिले हाम्रो पार्टी प्रतिपक्षमा छ । प्रतिपक्षको भूमिका त्यतिबेला मात्रै प्रभावकारी हुन सक्छ, जति बेला संगठन सशक्त हुन सक्छ ।
हाम्रो भूमिका देखिने भनेको संगठनका आधारमा हो । त्यसैले कांग्रेसको अहिलेको काम भनेको संगठन बनाउने हो । संगठन बनाउने कुरामा महाधिवेशनले ठूलो सहयोग पुर्याउँछ । महाधिवेशन समयमै गरेर हामीले संगठन बनाउने विषयलाई प्राथमिकता दिने ठाउँमा महाधिवेशन नै सार्ने कोशिस गर्ने कुरा पार्टीका हित अनुरुप हुनै सक्दैन ।
पार्टीभित्र एकथरीले समयमा अधिवेशन गर्नु पर्छ भनेर भनिरहेको अवस्था छ । अर्कोथरीले चाहिँ होइन विधानले दिएको सुविधा प्रयोग गरेर एक वर्ष लम्ब्याउनु पर्छ भन्ने छ । अब विधानले पनि कसैले चाहँदैमा समय लम्ब्याउने सुविधा दिएको छैन ।
यदि देशमा संकटकाल भएको अवस्थामा, विशेष परिस्थिति रहेको अवस्थामा, महाधिवेशन गर्न नसक्ने बातावरण बनेको अवस्था छ भन्ने भए मात्रै त्यो व्यवस्था हुन सक्छ । तर अहिले देशमा संकटकाल पनि छैन, कांग्रेसले अधिवेशन गर्नै नसक्ने अवस्था पनि होइन । त्यसकारण हाम्रो भनाई कांग्रेसलाई चुस्त दुरुस्त बनाउन यो कार्यकालभित्रै अधिवेशन गराऔँ भन्ने हो । यो ‘अर्ली’ महाधिवेशन होइन । समयभित्रै गर्ने अधिवेशन भनेको हो ।
समयभित्र महाधिवेशन हुने कुरा टारेर अन्य कुरा गर्ने विषय पार्टीको हितमा हुँदैन भनेर हामीले पार्टीभित्र आवाज उठाइरहेका छौं । तर पनि  त्यो सार्ने कुराका निम्ति पनि पार्टीभित्र मत छ । तर यो विषयमा के हुन्छ भन्ने अहिले नै भन्न सकिँदैन । बैठकले केही निर्णय गर्ला ।
गुट बनाउन कसैले बाँकी राखेनन्
हाम्रो पार्टीभित्र समूह समूह अर्थात गट उपगुटको प्रचलन पुरानो हो । बैठकमा जानुअघि पनि विभिन्न गुटका नेताहरु पहिला छुट्टै कोठामा बस्ने अनि बल्ल बैठकमा जाने प्रवृत्ति छ । यस्तो खालको अभ्यास हाम्रोमा पहिलेदेखि नै हो । नेतृत्वले सबैको कुरा सुन्नु पर्नेमा केहीलाई आफ्नो मान्छे ठान्ने अनि अरुलाई वास्ता नगर्नेे खालको मनोविज्ञान छ । त्यो गलत हो । गुट उपगुटको कुरा संस्थापन इतरको मात्रै छैन ।
संस्थापन पक्ष भनिएको पनि त्यसैगरी कोठे भेला बस्छ । गुट बनाउन कसैले बाँकी नै राखेको छैन । संस्थापन पक्ष जो बनेको छ त्यो पनि गुटै बनाएर बनेको हो । संस्थापन इतरको पक्ष पनि गुट बनाएर संस्थापन पक्षमाथि प्रहार गर्ने सोचमा छ । यो कुरालाई स्वभाविक रुपमा लिन सकिन्छ । तर परिस्थिति के भयो भन्दा यसलाई स्वभाविक रुपमा लिँदा पार्टी गुटमा अल्झिने अवस्था भयो । गुट रहित कुनै राजनीतिक दल हुन्छ भन्ने होइन । तर गुट निर्माण प्रकृया हाम्रोमा गलत छ ।
व्यक्तिलाई केन्द्रभागमा राखेर व्यक्तिलाई बलियो बनाउने गरी गुट बनाउने प्रकृया गलत छ । यसले विचारसँग निरपेक्षता हुने र व्यक्तिसँग सापेक्ष हुने अवस्था ल्याएको छ । त्यसैले कांग्रेसमा व्यक्तिपिच्छे गुट बनाउने कुरा स्वभाविक होइन । बीपी कोइरालाले चेतनाको स्तर कमजोर रहेको अवस्थामा पनि विचारको आधारमा पार्टी निर्माण गर्नुभएको थियो । त्यस्तो पार्टी आज व्यक्तिसँग जोडिएर विभिन्न गुट बनाएर चलिरहेको छ । त्यो कुरा स्वभाविक हुनै सक्दैन । अब गुट निर्माण प्रकृया बदल्नु पर्ने अवस्था छ ।
हामीसँग अहिले पनि विचारगत पक्षबाट बहस गर्नुपर्ने विषय थुप्रै छन् । आजको दिनमा समाजवादको परिभाषा कसरी गर्छौँ, समाजवादभित्र के–के कन्टेन्ट पर्छन्, देशको शिक्षा, स्वास्थ्य कस्तो बनाउन खोजेका छौँ । देशलाई समृद्ध कसरी बनाउन खोजेका छौँ । बाहिर रहेका नेपालीलाई कसरी आकर्षित गर्न खोजेका छौँ । देशमा गुणस्तरीय शिक्षा लिएको एउटा विद्यार्थीको डेस्टिनेशन सात समुद्र पारी बनेको छ त्यसलाई बदल्न हामी कसरी सक्छौँ । भन्ने कुराका बारेमा छलफल गर्ने गरी गुट निर्माण गर्न सक्छौँ । पार्टीभित्र यस्ता विषयले प्राथमिकता पाउनु पर्नेमा व्यक्तिगत कुरामा नै अल्झिरहेको छ ।
यस्ता विषयहरु पार्टीभित्र छलफल भएको छ भनेर भन्न सकिने अवस्था छैन । तर अब भने यस्ता कुराहरुले पार्टी विचारसँग जोडिने छ भनेर धेरैलाई लाग्न लागेको छ । आशा गरौँ यस्ता विषयमा पार्टीभित्र छलफल हुन थाले अवश्य नै पार्टीले जीवन्त पाउने छ ।

पाैडेल नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुनुहुन्छ ।

उज्यालो अनलाइनबाट साभार

nema
Show More

Related Articles

Back to top button