समाचार

पहिरो खस्दा देशका बिभिन्न स्थानमा सडक अवरुद्ध, जनजिवन प्रभावित

२७ असार, काठमाडौैँ÷ अविरल वर्षाका कारण काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापन जटिल बनेको छ । उपत्यकाका साँघुरा सडक समयमा कालोपत्रे नहुँदा र अविरल वर्षाका कारण सवारी साधन ओहोर दोहोरमा समस्या भएको हो । राजधानीको चाबहिल–साँखु, कलङ्की–नागढुङ्गा, बल्खु–दक्षिणकाली, सामाखुशीचोक–टोखा र भित्री सडकमा पानी जमेका कारण यातायात सञ्चालनमा कठिनाई भएको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ ।
उता, सिन्धुलीको रातामाटा र काभ्रेको नेपालथोक लगायत विभिन्न स्थानमा पहिरो झरेपछि वीपी राजमार्ग अवरुद्ध भएको छ । बिहानैदेखि राजमार्ग बन्द हुँदा गाडीहरु बीचबाटैमा रोकिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । भारी वर्षाका कारण पहिरो पन्छाउन समस्या भएका राजमार्ग सुचारु गर्न सकिएको छैन । पहिरोका कारण गोलन्जोर गाउँपालिका अन्तर्गत मध्यपहाडी लोकमार्ग पनि बनेको छ ।
यस्तै बुटवलबाट पाल्पा जाने बाटो, लमजुङबाट मनाङ जाने बाटो तथा भोजपुरबाट धरान जाने बाटो पनि पहिरोका कारण बन्द भएको राष्ट्रिय आपतकालिन उद्धार केन्द्रले जनाएको छ । अविरल वर्षापछि रौतहटको चन्द्रपुर लच्कामा आएको बाढी सडकमा पसेपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बनेको रौतहट प्रहरीले जनाएको छ । पहिरोका कारण प्रभावित नारायणगढ मुग्लिन सडकखण्ड भने दुईतर्फी रुपमा सन्चालनमा आएको छ ।
यस्तै प्रतिकुल मौसमका कारण आन्तरिक उडानहरु पनि प्रभावित भएका छन । लगातार मेघगर्जनसहित वर्षा भएपछि उडानहरु प्रभावित भएको हो । जहाजहरुको उडान प्रभावित भएपछि काठमाडौँ आउने र काठमाडौँबाट बाहिर जाने यात्रुहरु विमानस्थलमै रोकिनु परेको छ ।
यसैबिच यती एयरलाइन्सको विमान अवतरणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिदाँ दुइ जना यात्रु घाइते भएका छन । नेपालगञ्जबाट यात्रु बोकेर आएको यती एयरलाइन्सको एटीआर–७२ को जहाज आज बिहान धावनमार्गमा चिप्लिएको हो ।

nema
Show More

Related Articles

Back to top button