नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठक सम्पन्न
काठमाडौं, भदौ ५ । नेपाल र भारतबीच परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको पाँचौं बैठक सम्पन्न भएको छ ।
बैठकको अध्यक्षता परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका विदेशमन्त्री सुब्रमन्यम जयशंकरले संयुक्त रुपमा गरेका थिए । बैठकमा दुबै मुलुक व्यापार, पारवहन र रेल सेवाहरुसम्बन्धी सन्धि–सम्झौताहरु पुनरावलोकन गर्ने प्रारम्भिक निष्कर्षमा सहमत भएका छन् । दुबै मुलुकले स्थल, हवाई र जलमार्गको कनेक्टिभिटीलाई बढाउने प्रतिबद्धता पनि जनाएका छन् ।
रक्सौलदेखि काठमाडौंसम्म विद्युतीय रेलमार्ग निर्माण गर्ने कामलाई अघि बढाउने, नेपालका पाँच नाकासम्म रेलमार्ग विस्तार गर्ने र कोलकाता बन्दगाहबाट गंगा नदी हुँदै नेपालको कोशी र नारायणीसम्म मझौला खालको पानी जहाज संचालन गर्ने काममा भएका प्रगतिमा दुबै पक्ष सन्तुष्ट भएको बैठकपछि परराष्ट्रमन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
त्यसैगरि जलस्रोत, पारवहन, वाणिज्य, शिक्षा, कृषि क्षेत्रमा भएको साझेदारीलाई पनि अघि बढाउने सहमति गरेको छ । बैठकमा भारतीय विदेशमन्त्री जयशंकरले लामो समयपछि नेपालमा राजनीतिक स्थिरता आएको र यसको निरन्तरता भारतको इच्छा भएको बताए ।
बैठककै क्रममा भूकम्पपछिको पुनःनिर्माणका लागि भारत सरकारले दुई अर्ब ४५ करोड रुपैंयाको चेक नेपाललाई हस्तान्तरण गरेको छ । पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई नेपालका लागि भारतका राजदूत मञ्जिवसिंह पुरीले चेक हस्तान्तरण गरेका हुन ।
यसैगरी हुलाकी राजमार्ग निर्माणका लागि भारतले १ अर्ब २९ करोड रुपैंयाको चेक नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । त्यसैगरी बैठकमा नेपाल र भारतबीच खाद्य सुरक्षा तथा गुणस्तरसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर पनि भएको छ ।