काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा लोकतन्त्र र गणतन्त्र समाप्त पार्ने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् ।
पद्यकन्या क्याम्पसको ६९ औं बार्षिकोत्सवको आज काठमाडौमा उद्घाटन गर्दै देउवाले सरकारका कारण मुलुकमा अराजकता र भ्रष्टाचार मौलाउँदै गएको बताए ।
उनले लामो संघर्षपछि प्राप्त उपलब्धिको संरक्षण गर्न सबै राजनीतिक दल एक हुनु पर्नेमा जोड समेत दिएका छन् ।
लोकतन्त्रको सुदृढिकरण गर्दै जनचाहना अनुसारको काम गर्ने प्रतिवद्धता राजनीतिक दलले गर्नुपर्ने सभापति देउवाको भनाई छ ।
मानव अधिकारको संरक्षण र प्रेस स्वतन्त्रताको लागि कांग्रेस प्रतिबद्ध रहेको उहाँको भनाइ थियो ।
सभापति देउवाले महिला मैत्री संविधान निर्माण भएको र मुलुकको समृद्धिको लागि महिला पुरुषको समानता अनिवार्य रहेकोमा जोड दिए ।
क्याम्पस प्रमुख धनप्रसाद पण्डितले शिक्षाको क्षेत्रमा पद्यकन्या क्याम्पसले महत्वपूर्ण भूमिका निर्वाह गरेको जानकारी दिए । कार्यक्रममा उत्कृष्ट शिक्षक र कर्मचारीलाई सम्मानित गरिएको थियो ।