समाचार

यौनिक अल्पसंख्यकलाई फरक ढंगले हेदैन ः केन्द्रीय साईवर व्यूरो

काठमाडौं असोज ९ ÷ नेपाल प्रहरीको केन्द्रीय साईबर व्यूरोले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई फरक ढंगले नहेर्ने बताएको छ । व्यूरोले सामाजिक संजाल मार्फत समलिंगी, तेस्रोलिंगी, द्धिलिंगी र अन्तरलिंगी व्यक्तिमाथि हुने आपराधिक क्रियाकलाप रोक्न प्रतिवद्ध रहेको पनि बताएको छ ।
पहिचान मिडियाको समन्वयनमा व्यूरोका प्रमूख प्रहरी नायव महानिरीक्षक विकास श्रेष्ठ, पहिलो संविधान सभाका सदस्य एवं यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकार प्राप्तिका अभियन्ता सुनिलबाबु पन्त सहित भएको छलफलमा व्यूरोले अनुशन्धान गोेप्य हुने जानकारी गराएको छ ।
अनुशन्धान गोप्य हुने भन्दै व्यूरोले यो समुदाय माथि हुने अपराधलाई प्राथमिकतामा राख्ने समेत बताएको छ । कम्प्युटर वा अन्य उपकरणलाई माध्यम बनाएर वा अर्काको कम्प्युटरलाई लक्ष्य बनाएर कानूनले निषेध गरेको कृयाकलाप गर्नुलाई साइबर अपराध भनिन्छ ।
विकसित देशमा डेटिङ एप या साइट मार्फत हुने अपराध नेपालका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायमाथि हुन थालेको पन्तले बताए । पन्तका अनुसार भारत, तीन, बैंकक, बेलायत लगायतका देशमा समलिंगीलाई लक्षित गरेर सुरु भएको केम सेक्स (केमिकल प्रयोग गरेर हुने यौन सम्बन्ध) नेपालमा पनि हुन थालेको छ ।
अनलाइनबाट सम्पर्क स्थापित गर्ने र क्रिष्टल मेथ, जिएचवी लगायतका लागू पदार्थ सेवन गरेर यौन क्रियाकलाप गर्दा मृत्यु हुने खतरा हुन्छ पन्तले भने, नेपालमा विपरितलिंगीबाट सुरु भएको यसको प्रयोग अहिले समलिंगी तेस्रोलिंगीमा समेत सुरु भएको जानकारी पाएको छु ।
पन्तले आफूमाथि भएको चरित्रहत्याका घटना सार्वजनिक गर्दा समाजमा झन अप्ठ्यारो पर्ने ठानेर प्रहरीकोमा यस्ता घटना नआएको हुन सक्ने बताए । खुलेका हुँदैनन्, डेटिङ एप या अनलाइन मार्फत सम्पर्क गरेर सम्बन्ध राख्दा समस्या आउन थालेका छन् उनले भने, यसलाई केन्द्रीय साईवर व्यूरोसम्म ल्याउन र समाधान गर्न सहज वातावरण बन्नु पर्छ ।
व्यूरोका प्रमूख श्रेष्ठले अहिलेसम्म सामाजिक संजाल माफर्त यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्ति माथि हुने अपराधको उजुरी नआएको बताए । प्रहरीकहाँ उजुरी दिन कुनै डर, त्रास मान्नु नपर्ने श्रेष्ठको भनाई छ ।
व्यूरोका बरिष्ठ प्रहरी उपरीक्षक नविन्द अर्यालले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिबारे प्रहरीलाई पनि जानकारी गराउन आग्रह गरे । ९५ प्रतिशतलाई यो समुदायमाथि सामाजिक संजाल प्रयोग गरेर अपराधिक काम हुन्छन् भन्ने जानकारी नहुन सक्छ उनले भने, सामाजिक संजाल प्रयोगबारे यो समुदायका व्यक्तिलाई जानकारी दिन व्यूरो तयार छ । व्यूरोमा डेढ महिनामा २ सय ३६ वटा चरित्र हत्याका उजुरी परेको उनले जानकारी दिए ।
व्यूरोका प्रहरी उपरीक्षक रेवती ढकालले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्ति खुल्नु नखुल्नुसँग सरोकार नहुने बताए । उनले यो समुदायका व्यक्तिलाई फरक ढंगले नहेर्ने समेत बताए । सामाजिक संजाल प्रयोग गर्दा आफू पनि सचेत हुनुपर्ने उनको भनाई छ । डेटिङ साइटको दुरुपयोग गरेर आपराधिक क्रियाकलाप भए व्यूरोमा उजुरी दिन उनले आग्रह गरे ।
छलफलमा सहभागी यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरुले पुरुषबाट पुरुष बलात्कारमा परेका घटना बाहिर नआउने गरेको सुनाए । प्रहरीले यस्तो पनि हुन्छ र भन्ने हो कि भन्दै यस्ता घटना बाहिर नल्याउने गरेको उनीहरुले बताए ।
नेपालमा विद्युतीय कारोबार ऐन २०६३ को परिच्छेद ९ ले कम्प्युटर सम्बन्धी कसूर एवं दण्ड सजाँयको सम्बन्धमा ५० हजार देखि २ लाख रुपैयाँसम्म जरिवाना तथा ६ महिनादेखि ५ बर्षसम्म कैद सजाँयको व्यवस्था गरेको छ । साईवर अपराध भएको थाहा पाएको ३५ दिनभित्र निवेदन दिनुपर्नेछ ।
काठमाडौं उपत्यका भित्रका व्यक्तिहरुले महानगरीय प्रहरी कार्यालय रानीपोखरी, अपराध महाशाखा टेकुमा निवेदन दिन सक्ने केन्द्रीय साईवर व्यूरोले जनाएको छ । व्यूरोका अनुसार काठमाडौं उपत्यका बाहिरका व्यक्तिहरुले आफ्नो नजिकको प्रहरी कार्यालय माफर्त केन्द्रीय साईवर व्यूरोमा निवेदन दिन सक्ने व्यवस्था छ ।
नेपालमा ईमेल मार्फत जथाभाबी धम्की दिने तथा नगद माग गर्ने देखिएको छ । यस्तै सामाजिक संजालमा अन्य व्यक्तिको नाम तथा तस्बीर प्रयोग गरेर, प्रोफाईल पेज खोलेर बेईज्जत गर्ने तथा दुख दिने र बिभिन्न किसिमका नग्न तस्बीरमा व्यक्तिको मुहार जोडी ईन्टरनेटमा राख्ने देखिएको छ । यस्तै सर्जकका मौलिक सिर्जनाहरु चोरी गरी प्रतिलिपि बनाउने तथा बिक्री गर्ने, अश्लिल सामाग्रीहरु ईन्टरनेटमा राख्ने तथा अरुलाई पठाउने जस्ता साईवर अपराधका प्रकृतिहरु देखिएको व्यूरोले जनाएको छ ।
व्यूरोका अनुसार मोवाईल मार्फत धम्कीपूर्ण एस.एम.एस. पठाउने तथा एस.एम.एस. मार्फत जुवा, लट्रि संचालन गर्ने, सरकारी तथा अन्य संस्थाको वेवसाइट ह्याकिङ गर्ने, सामाजिक संजालमा साथी बनाई च्याट गर्ने, बहुमुल्य सामान पठाईदिन्छु भनी फोटो पठाउने र सामान प्राप्त गर्न कष्टम क्लियरेन्स गरे पश्चात सामान आउने भनी बैंकमा नगद जम्मा गर्न लगाई ठगी गर्ने लगायतका साईवर अपराधका प्रकृतिहरु देखिएका छन् ।

nema
Show More

Related Articles

Back to top button