मास्क नलगाउनेलाई पक्राउ गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
‘निश्चित सर्तका आधारमा सरकारले लकडाउन खुकुलो बनाएको हो,’ अधिकारीले भने, ‘तर, सामाजिक दूरी तथा स्वास्थ्य मापदण्ड कार्यान्वयनको नियम धेरैले उल्लंघन गरकाले यस्तो निर्देशन दिइएको हो ।’ कोरोना संक्रमण भयावह रूपमा फैलिने जोखिम बढेपछि गृह प्रशासन कठोर बन्नुपरेको अधिकारीले बताए ।
रेस्टुरेन्ट र सैलुनसमेत खुले
लकडाउन खुकुलो बनाए पनि सरकारले सैलुन खोल्न रोकेको छ । तर, उपत्यकाका धेरैजसो सैलुन खुलेका छन् ।
कतिपयले न्यूनतम स्वास्थ्य प्रोटोकलसमेत पालना गरेका छैनन् । सैलुन बन्द गराउन पनि प्रशासनले चासो दिएको छैन ।
त्यस्तै, रेस्टुरेन्टहरूलाई ‘टेक अवे’ सुविधा मात्र दिन भनिए पनि भिडभाड हुने गरेको छ । गृह मन्त्रालयका उपसचिव अधिकारीले सैलुन र रेस्टुरेन्ट खोल्ने निर्णय नभएकाले स्थानीय प्रशासनले कारबाही गर्नुपर्ने बताए ।
त्यस्तै, बैंकहरूमा पनि भिडभाड हुने गरेको छ । यातायात, मालपोतजस्ता सरकारी कार्यालयमै सामाजिक दूरीको नियम पालना गरिएको छैन । जसबाट संक्रमणको जोखिम बढेको छ ।
जोर–बिजोर उल्लंघन गर्नेे ४१ हजार सवारीसाधन कारबाहीमा
लकडाउन खुकुलो भएसँगै सवारीसाधन सञ्चालनमा लागू गरिएको जोर–बिजोर प्रणाली उल्लंघन गर्ने ४१ हजारभन्दा धेरै सवारीसाधन कारबाहीमा परेका छन् ।
३० जेठदेखि सोमबारसम्म ४१ हजार पाँच सय आठ सवारीसाधन कारबाहीमा परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
सोमबार मात्रै एक हजार ६ सय ११ वटा दुईपाङ्ग्रे, चार सय १५ भाडाका ट्याक्सी र तीन सय १९ वटा साना तथा ठूला सवारी गरी दुई हजार तीन सय ४५ सवारीसाधनलाई उपत्यकाको विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताए ।
सोमबार नै दुईजना सवार दुई हजार ८३ वटा मोटरसाइकललाई पनि नियन्त्रणमा लिई सम्झाइबुझाई गरी छाडिएको महाशाखाले जनाएको छ ।