breakingसमाचारवाग्मती प्रदेश

सहिद दिवस मनाइँदै बाह्रखरी

– 

आइतबार, माघ १६, २०७८

facebook sharing button
twitter sharing button
messenger sharing button
sharethis sharing button

काठमाडौं ।

प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर मनाइँदै छ ।

सहिदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो यस अवसरमा हुने गरेको छ । यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार अधिकारीहरूबाट सहिदको सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरिँदै आएको छ ।

माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ । वि.सं. २०१२ देखि नै तत्कालीन काठमाडौं नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा दिवस मनाउन थालिएको हो ।

स्वतन्त्रताको माग गर्दा वि.सं. १९९७ मा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणाशासकले मृत्युदण्ड दिएका थिए ।

माघ १६ गते आइतबार सहिद दिवसका अवसरमा बिहान शान्तिवाटिका रत्नपार्कदेखि सहिद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिने जनाइएको छ । प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्यान्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरीे सहिद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ । कोरोनाको तेस्रो भेरियन्ट सक्रिय रहेकाले सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर कार्यक्रम गर्ने तयारी काठमाडौं महानगरपालिकाले गरेको छ ।

यसैगरी, लखन थापादेखि पछिल्ला स्वतन्त्रताका आन्दोलनमा सहादत प्राप्त गर्ने सहिदको सम्झनामा मन्त्रिपरिषद्को वि.सं. २०६४ जेठ ११ गतेको निर्णयानुसार उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वरमा निर्माण भइरहेको राष्ट्रिय सहिद स्मारकमा पनि कार्यक्रमको तयारी भइरहेको जनाइएको छ । वन तथा वातावरणमन्त्री रामसहाय यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिने यज्ञडोल (जगडोल) सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सुदर्शन सिग्देलले जानकारी दिए ।

वि.सं. २०६३ अघि सहिद दिवसका दिन राज्यका तर्फबाट सहिदगेटमा विशेष कार्यक्रम गरी दिवस मनाइन्थ्यो । त्यसपछि भने लैनचौरस्थित सहिद स्मारकमा विशेष कार्यक्रम हुन थालेको छ । सहिदगेटमा पनि विभिन्न संघसंस्थाले कार्यक्रम गरी दिवस मनाउने गरेका छन् ।

पछिल्लो समय नारायणहिटी दरबार संग्रहालय परिसरमा निर्माण भएको गणतन्त्र स्मारकमा सहिदप्रति श्रद्धाञ्जली गर्ने स्थल राखिने घोषणा गरिएको छ । त्यो समेत सञ्चालनमा आउन सकेको छैन । स्मारकमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीलगायत उच्चपदस्थले शपथ लिएपछि सहिदलाई श्रद्धाञ्जली अर्पण गर्ने गरी तयारी गरिने जनाइएको छ । विदेशी पाहुना आउँदा समेत स्वतन्त्रताका लागि जीवन अर्पण गर्ने सहिदको सम्झनास्वरूप पुष्पगुच्छा अर्पण गर्ने स्थल बनाइने जनाइएको छ ।

सहिदको स्पष्ट परिभाषा नगरी पछिल्लो समय जोसुकैलाई घोषणा गरिँदा सहिदको गरिमा नै घटेको टिप्पणी पनि हुने गरेको छ ।

साभारः बाह्र खरी

nema
Show More

Related Articles

Back to top button