इन्डोनेसियामा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या एक सय नाघ्यो
२२ साउन , काठमाडौैँ÷इन्डोनेसियाको लोम्बोक द्वीपमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेहरूको संख्या १०० पुगेको छ । इन्डोनेसियाको लोकप्रिय पर्यटकीय प्रान्त लोम्बोकमा आइतबार बेलुका ६ दशमलव ९ म्याग्नीच्युडको भूकम्प गएको इन्डोनेसियाली भूगर्व सर्वेक्षण संस्थाले जनाएको छ । तर अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले भने यस भूकम्प ७ म्याग्नीच्यूडको मापन गरिएको बताएको थियो ।
भूकम्पको केन्द्रविन्दु लोम्बोकबाट १८ किलोमिटर उत्तरपश्चिममा जमिनको सतहबाट करिब १५ किलोमिटर गहिरो रहेको बताइएको छ ।
भूकम्पमा परी २ सयभन्दा बढी व्यक्ति घाइते भएका छन् भने २० हजार आफ्नो घरवास गुमाएका छन् । भूकम्पको कारण घरवास गुमाएका व्यक्तिहरुलाई शिविर बनाएर राखिएको र उद्धारकर्ताहरुले मानवीय सहयोग गरिरहेका छन् ।
इन्डोनेसियाको मौसम विज्ञान विभागले समुद्री सतहको अध्ययनपछि सुनामीको भने खतरा नरहेको जनाएको छ । सोहि क्षेत्रमा गत साता आएको ६ दशमलव ४ म्याग्नीच्यूडको भूकम्पमा परी १६ जनाको मृत्यु भएको थियो । सन् २००४ डिसेम्बरमा इन्डोनेसियाको सुमात्रामा ९ दशमलव १ म्याग्नीच्यूडको शक्तिशाली भूकम्पपछि सुनामी आएको थियो । जसका कारण एक दर्जन तटीय क्षेत्रका दुई लाख ३० हजार भन्दाबढी मानिसको मृत्यु भएको थियो ।