काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बारा र पर्सामा आएको हावाहुरीमा परी घाइतेहरुको उद्धार तथा राहतमा जुट्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।
आइतबार राति आएको आँधीबेहरीमा परी अहिलेसम्म बारा र पर्सामा ३१ जनाको मृत्यु भएको छ । ७ सय भन्दा बढी घाइते भएका छन् । गम्भिर घाइतेहरुको संख्या बढी भएकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ ।
केन्द्र सरकारले राहत र उद्धारका लागि तत्काल व्यवस्था गर्न नसकेको अवस्थामा काँग्रेस सभापतिले विपद्का बेलामा एकजुट भएर उद्धारमा जुट्न आब्हान गरेका हुन् ।
अझै पनि धेरै स्थानमा उद्धारको प्रयास भइरहेको छ । रातिमा भएको घटनाले गर्दा तत्काल उद्धारमा समस्या भएको बताइएको छ ।
हावाहुरीका समयमा जमीनमा कम्पनजस्तो आएकाले अधिकांशका घरमा धारामा पानी सुकेको छ ।
गास र बासको समेत समस्या भइरहेको छ । देउवाले ट्वीटरमार्फत सन्देश दिँदै हावाहुरीमा परी मृत्यु भएकाप्रति हार्दिक श्रद्धाञ्जलीसमेत व्यक्त गरेका छन् ।
यसैबीच, बारा–पर्सामा गएराति गएको भीषण हावाहुरीमा ज्यान गुमाउनेको सूची गृह मन्त्रालले सार्वजनिक गरेको छ ।
सुरक्षा संयन्त्रले उपलब्ध गराएको सूची सोमबार दिउँसो गृहमन्त्रालयले सार्वजनिक गरेको हो ।सूची अनुसार, ज्यान गुमाउनेमा १२ जना पुरुष र १० महिला छन् । त्यसमा ५ जना बालबालिकासमेत छन् । हाल २७ जनाको मात्रै सनाखत भएको गृहले जनाएको छ ।