समाचार

सातवटै प्रदेशद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

सातवटै प्रदेशले आफ्ना नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । प्राकृतिक स्रोतसाधनको उपलब्धतालाई भरपुर सदुपयोग गरी भौगोलिक अवस्था अनुसार विकास गर्ने योजना बनाएका सबै प्रदेशले नागरिकका आवश्यकता र चाहनाअनुसार कृषिको आधुनिकीकरण, पुर्वाधार विकास र पर्यटनलाई मुख्य प्राथमिकतामा राखेका छन् । सर्वोच्च शिखर सगरमाथा सहित विभिन्न हिमाल रहेको प्रदेश नम्बर १ ले आफ्नो समृद्धिको योजनामा पर्यटन र कृषिलाई राखेको छ ।
यसबाहेक जलश्रोत विकास, ऊर्जा र पुर्वाधार निर्माणलाई पनि १ नम्बर प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा समेटेको छ । दाइजो प्रथा, महिला हिंसा, गरीबी र अशिक्षा हटाउने मुख्य चुनौति बोेकेर प्रदेश २ को प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई मुख्य प्राथमिकता दिएको छ । अरु प्रदेशभन्दा विकास र पहुँचका दृष्टिले अगाडी रहेको प्रदेश ३ ले आफ्नो मुख्य प्राथमिकतामा काठमाडौँ–हेटौडा कुलेखानी सुरुङमार्ग, प्राविधिक र स्वास्थ्य शिक्षा कार्यक्रम राखेको छ ।
विश्वकै सस्तो तर उत्कृष्ट पर्यटकीय गन्तव्यमध्ये एक पोखरालाई प्रदेश ४ को सरकारले समृद्धिको मुख्य आधार मानेर आफ्नो नीति तथा कार्यक्रममा समेटेको छ । ५ नम्बर प्रदेश सरकारले कृषि क्षेत्रको विकास, उद्योग, कलकारखानाको स्थापना र विस्तारलाई जोड दिएको छ । कर्णाली प्रदेशमा रहेका राउटे बस्तीमा एकै छानामुनी शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा उपलब्ध हुने गरी राउटे आवास कार्यक्रम सञ्चालन गर्ने योजना पनि कर्णाली प्रदेशले आफ्नो नीति तथा कार्यक्रममा समेटेको छ । प्रदेश ७ को नीति तथा कार्यक्रममा कृषि, पर्यटन, विभिन्न विभेदको अन्त्य र शिक्षा तथा स्वास्थ्यलाई मुख्य प्राथमिकता दिइएको छ ।

nema
Show More

Related Articles

Back to top button