समाचार

चेन्नाई तेस्रो पटक आइपिएल च्याम्पिएन, शेन वाट्सनले खेले शतकीय पारी

काठमाडौं, जेठ १४ । यो वर्षको इन्डियन प्रिमियर लिग आइपिएल ट्वेन्टी ट्वेन्टी क्रिकेटको उपाधि चेन्नाई सुपर किङ्सले हात पारेको छ ।
आइतवार राति मुम्बईमा भएको फाइनलमा सनराईजर्स हैदरावादलाई ८ विकेटले हराउँदै चेन्नाईले तेस्रो पटक आईपीएल उपाधिमा कब्जा जमाएको हो ।
जितका लागि १ सय ७९ रनको लक्ष्य पछ्याएको चेन्नाईले अष्ट्रेलियन ब्याट्सम्यान सेन वाट्सनको अविजित १ सय १७ रनसँगै १८ ओभर ३ बलमा २ विकेट गुमाएर १ सय ८२ रन जोड्यो ।
वाट्सन र सुरेश रैनाले दोस्रो विकेटका लागि १ सय १७ रनको साझेदारी गर्दै जितको आधार तयार गरेका थिए ।
५७ बल खेलेका वाट्सनले ११ चौका र ८ छक्काको मद्दतमा १ सय १७ रन जोडेका हुन् । उनलाई दरिलो साथ दिएका रैनाले २४ बलमा ३ चौका र १ छक्कासहित ३२ रन जोडे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले नियमित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७८ रन बनाएको थियो ।
उसका लागि केन विलियाम्सनले ४७ रन जोड्दा युसुफ पठानले ४५ रन तथा शिखर धवनले २६ रन जोडेका थिए ।
गएरातिको जितसँगै चेन्नाईले आईपीएल उपाधिमा ह्याट्रिक गरेको छ ।
म्याच फिक्सिङ र खेल भावना विपरित क्रियाकलाप गरेको आरोपमा टोली निलम्बनमा पुर्नअघि उसले दुई उपाधि जितेको थियो ।
यो सिजन उपाधि जित्दै चेन्नाईले आईपीएल क्रिकेटमा आफू सबैभन्दा बलियो टोली भएको प्रमाण दिएको छ ।
चेन्नाईसँगको हारले हैदरावादको भने दोस्रो उपाधि जित्ने अभियान अपुरै भएको छ ।

nema
Show More

Related Articles

Back to top button