समाचारनेपाली कांग्रेस

पार्टी कार्यक्रममा प्रकाशमानले सम्झिए शाहीकाल, देउवाले भनेका थिए– लाइफ तलमाथि हुन सक्छ

२७ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेता कार्यकर्ताहरुलाई निराश नहुन र पार्टीको सुधारमा लाग्न निर्देशन दिएका छन् । नेता कार्यकर्तालाई व्यक्तिगत स्वार्थमा नलाग्न निर्देशन दिँदै उनले सेवाको भावले राजनीतिमा नलाग्ने हो भने फिल्ड छाड्न सुझाव पनि दिए ।
नेपाली कांग्रेस काठमाडौं जिल्ला पार्टीले  आइतबार आयोजना गरेको अगुवा कार्यकर्ताहरुसँगको बैैठक तथा अन्तर्क्रियालाई सम्बोधन गर्दै नेता सिंहले आफ्नो राजनीतिक जीवनमा पार्टीलाई सशक्त बनाउने कुरामा ध्यान दिन आग्रह गरे ।
‘पूरै सेवाको भावना राखेर राजनीतिमा लाग्नुस् । झन्झट लाग्छ भने छोड्दिनुहोस्, अरु मान्छेले ठाउँ लिन्छ,’ कांग्रेस पूर्वमहामन्त्रीसमेत रहेका सिंहले भने, ‘तर राजनीति गर्ने हो भने अलि माथि सोचेर गरौं । जे जति टाइम छ, म्याक्सिमम इफोर्ट लगाएर पार्टीलाई अगाडि बढाउनतिर लागौं ।’
उनले अवसर फेरि पनि आउने बताउँदै निराश नहुन आग्रह गरे । उनले भने, ‘अवसर फेरि आउँछ । त्यो अवसर आउँदाखेरि सोसाइटीले जुन समृद्धिको चाहना राखेको छ त्यसलाई इमिडियट ट्रान्सलेट गर्न सक्ने क्षमता राख्नुपर्छ ।’
पार्टीको अस्तित्व समाप्त भयो भने कहाँ जाने ?
उनले कांग्रेसले अहिलेकै अवस्थामा अरु राजनीतिक दलहरुसँग प्रतिस्पर्धा गर्न नसक्ने बताए । त्यसैले आफूले पार्टी सुधारको कुरा गरेको उनको भनाइ छ । तर पार्टी सुधारको कुरा गर्दा र विधिसम्मत ढंगले चलाउनुपर्ने बताउँदा पक्ष विपक्षमा लागेको आरोप खेप्नुपरेको गुनासो उनले गरे ।
‘कांग्रेसलाई यस्तै लथालिंग राखेर अरु पार्टीहरुसँग पोलिटिकली आइडोलोजीकल्ली फेस गर्न सक्छौं त ? कदापी सक्दैनौं । त्यसकारण पार्टीलाई सुधार्नुपर्यो,’ उनले भने, ‘पार्टी जोगाउन बोल्दाखेरि यो पक्ष विपक्ष भयो भनेर इन्टरप्रिटेसन गर्न मिल्छ ? पार्टीको अस्तित्व नै समाप्त भयो भने हामी कहाँ जाने ? यहाँ पार्टीको अस्तित्वको सवाल आइसक्यो । पार्टीलाई जोगाउन पर्यो नि ।’
उनले भने, ‘पार्टी जोगाउनका लागि यो कमजोर भयो भनेर भन्नासाथै कसैलाई पर्सनली अट्याक गर्यो भनेर जसरी प्रचार गराउन खोजिएको छ, त्यसले नेपाली कांग्रेसको संगठनलाई अगाडि बढाउनका लागि कत्तिको मद्दत मिल्छ ? त्यसमा पनि हामीले अलि सिरियसली सोच्नुपर्छ जस्तो मलाई लागेको छ । नत्र मलाई मात्र केको चिन्ता ? चिन्ता मलाई नै लाग्नुपर्ने, हुटिट्याउँले थामेजस्तो । केहो, केहो अचम्म छ ।’
सभापतिको कार्यकाल बढाउन तयार तर…
उनले कांग्रेसलाई छिटोभन्दा छिटो प्रक्रियागत रुपले संघीयताको ढाँचामा लैजानुपर्नेमा जोड दिए । विधान संशोधन गरेर रिक्त पदपूर्ति गर्ने हो भने सभापतिको कार्यकाल एक वर्ष थप्न कुनै आपत्ती नहुने सिंहले स्पष्ट पारे ।
‘विधान संशोधनका लागि प्रक्रियाबाट लगौं । यहि गर्दा पनि लाग्ला जस्तो छ डेढ–दुई वर्ष । यो विधान संशोधनका लागि हामीले जतिसुकै कराए पनि टाइम त लाग्छ,’ कांग्रेस नेता सिंहले भने, ‘एक वर्षमा काम सकिन्छ भने ठीक छ, संशोधित विधानको नयाँ ढाँचाअनुसार फुलफिल गरेर राखिराखौं, टाइम हुँदाखेरि महाधिवेशन गरौं । उहाँलाई चाँडो गरौं भन्ने लाग्छ भने चाँडो गरौं । डेमोक्रेटिक पार्टीमा डेमोक्रेटिक प्रोससबाट जे गर्ने हो त्यो गर्नुपर्छ ।’
जीवनमा गरेको एउटा गल्ती
पूर्वमन्त्रीसमेत रहेका नेता सिंहले आफूले जीवनमा गरेको गल्ती पनि स्मरण गरे । र, त्यो गल्तिबाट पाठ सिकेको पनि बताए । चुनावमा अरु सबै पार्टी उम्मेदवार छानेर प्रचारमा गइसक्दा पनि कांग्रेसले उम्मेदवार छान्न नसकेको स्मरण गर्दै उनले धेरै ढिलो नहोस् भनेर संसदीय समितिमा सहमतिका साथ अगाडि बढेको स्मरण गरे ।  ‘चुनाव आइसक्यो, त्यतिकै बस्दा न्युनतम मिलाएर पनि गर्न नसकिने हो कि भन्ने चिन्ताले ल ठीकै छ नि त पार्टीको एउटा पोलिटिकल अन्डरस्ट्यान्डिङ गरौं न भनेर पोलिटिकल अन्डरस्ट्यान्डिङ गरेको हो । तर, त्योअनुसार बोर्डमा एटमोस्फेयर भएन । मेरो लाइफमा ब्लन्डर गरेको यो एउटा हो ।’
यसबाट सहमतिको नाममा विधान मिच्दा राम्रो नहुने पाठ सिकेको उनले बताए । ‘पार्टीभित्रको समझदारी भन्नुस् या अरु पार्टीसँग कुरा गर्दाखेरि भन्नुस्, हाम्रो पार्टीको आधारभूत सिद्धान्तलाई क्रस नहुने गरी जान सकिन्छ । तर, पार्टीको हित चाहना हुँदाहुँदै पनि विधानलाई मिचेर सर्वदलीय सहमतिमा गयो भने त्यो प्रिय नहुँदो रहेछ,’ उनले भने ।
‘देउवाले भने– लाइफ तलमाथि हुन सक्छ’
कार्यक्रममा नेता सिंहले राजाको प्रत्यक्ष शासनकालमा शाही आयोगले बयान लिन बोलाउँदा पनि आफू नगएको बताए । त्यो अडान लिँदा शेरबहादुर देउवाले बोलाएर जे पनि हुनसक्छ भनेर डर देखाएको तर आफूले जोखिम लिएको उनले स्मरण गरे ।
उनले भने, ‘मलाई सम्झना छ त्यो डिसिजन लिँदाखेरि शेरबहादुर दाइले मलाई बोलाउनु भयो । भाइ तिमीले एकदम अडान लिने भनिराछौ, एकदम सोच्नु, जे पनि हुनसक्छ । धेरै वर्ष जेल बस्न पनि पर्नसक्छ । लाइफ तलमाथि हुनसक्छ भनेर भन्नुभयो ।’
नेता सिंहले भने, ‘तर मैले भनें– पोलिटकल लाइफमा यस्ता चुनौतीहरु आउँदाखेरि सामना गर्नुपर्छ । म कन्भिन्स भएर यो डिसिजन लिइराखेको छु । जेसुकै होस् म अडान लिन्छु भनेर फर्किएर आएँ । राजाले शासन हातमा लिएपछि शाही आयोगको विरुद्धमा अडान मैले नै लिनुपर्ने किन त ? तर लिएँ नि त । कसै न कसैले त रिक्स लिनै पर्छ ।’

२०७५ जेठ २७ गते २१:३४ मा प्रकाशित

nema
Show More

Related Articles

Back to top button