समाचारनेपाली कांग्रेस

कांग्रेस भेलामा बोल्न सिण्डिकेट लगाएको भन्दै सिटौलाद्वारा मञ्च बहिस्कार ! मुख्य सचिवको पत्र महामन्त्रीले पढ्दा प्रश्न उठेपछि बैठक नै स्थगित

५ असार, काठमाडौं । नेपाली कांग्रेसको हेटौंडामा शुरु भएको जिल्ला सभापति भेलाको उद्घाटन सत्रमा आफूहरुलाई नियतवश बोल्न नदिइएको भन्दै पूर्वमहामन्त्रीद्धय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले असन्तुष्टि जनाएका छन् ।
सिटौला त मञ्चमै गएनन् ।
पूर्व हामन्त्री बिमलेन्द्र निधि र भर्खरै कांग्रेसमा फर्किएका बिजय गच्छदारलाई देउवाको बचाउमा बोल्नका लागि मौका दिएको तर, आलोचना हुन्छ भनेर प्रकाशमान र सिटौलालाई बोल्न नदिइएको आरोप असन्तुष्ट पक्षले लगाएको छ ।
प्रकाशमान, कृष्ण सिटौला र अर्जुननरसिंह केसीलाई उद्घोषकले मञ्चमा आसन ग्रहण गर्न आग्रह गरेका थिए । तर, सिंह र केसी गए पनि सिटौला मञ्चमा गएनन् ।
एक नेताले भने ‘कम्युनिस्टले अधिनायकवाद ल्याउँदैछन् भने देउवा आफैंले पार्टीमा अधिनायकवाद देखाएका छन् । उनले आफ्नो आलोचना हुन्छ भनेर बोल्न समेत सिण्डिकेट लगाए ।
मनोनित महामन्त्री पूर्णबहादुर खड्का भने आमाको निधन भएको ६ महिना नपुगुन्जेल सार्वजनिक सभा समारोहमा सहभागी नहुने भन्दै होटल एभोकाडोमै बसेका थिए ।
जिल्ला सभापतिहरुको भेलाको उद्घाटन समारोहमा सभापति देउवा, वरिष्ठ नेता पौडेल, महामन्त्री सशांक कोइराला, उपसभापति विमलेन्द्र निधिका साथै बिजय गच्छदार र मकवानपुर जिल्ला सभापति इन्द्रबहादुर बानियाँले सम्बोधन गरेका थिए ।
जिल्ला सभापति भेलाको पूर्वसन्ध्यामा हेटौंडामा सोमबार बसेको केन्द्रीय कार्य समिति बैठकमा मुख्य सचिवको पत्र महामन्त्री कोइरालाले पढेर सुनाउँदा प्रश्न उठेपछि बैठक नै स्थगित भएको स्रोतले जनाएको छ ।
बैठकको शुरुमै महामन्त्री कोइरालाले केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले जिल्ला सभापतिहरुलाई जारी गरेको परिपत्र पढेर सुनाएका थिए ।
केही केन्द्रीय सदस्यले मुख्य सचिवको पत्र महामन्त्रीले पढ्ने प्रणाली कहिलेबाट शुरु भयो भन्दै प्रश्न उठाएपछि सभापति देउवाले बैठक स्थगित गरेको एक केन्द्रीय सदस्यले बताए ।

nema
Show More

Related Articles

Back to top button