विश्व

साउदीको अभा विमानस्थलमा हुथी विद्रोहीको आक्रमण गर्दा ९ जना घाइते

१७ असार÷ साउदी अरेबियाको अभा अन्तर्राष्ट्रिय विमानस्थलमा यमनमा संघर्षरत हुथी विद्रोहीहरुले आक्रमण गरेका छन् । आक्रमणबाट नौ जना सर्वसाधारण घाइते भएको साउदी अरवका अधिकारीहरुले बताएका छन् ।
यमनका विद्रोही विरुद्ध संघर्षरत साउदी गठबन्धनका प्रवक्ता कर्णेल तुर्की अल मलिकीले घाइतेमध्ये आठ जना साउदी नागरिक रहेको जानकारी दिए । अर्का घाइते हुनेमा भारतीय नागरिक रहेका छन् । उनको परिचय खुल्न बाँकी रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन । घाइतेहरु सबैलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।
यो विमानस्थलमाथि हुथी विद्रोहीहरुले पटकपटक आक्रमण गरेका छन् । गत महिना भएको यस्तै आक्रमणमा एक जना सिरियाली नागरिकको ज्यान गएको थियो भने अरु सात जना घाइते भएका थिए ।
प्रवक्ता अल मलिकीले अन्तर्राष्ट्रिय मानवीय कानुन बमोजिम सुरक्षित गरिएका निहत्था नागरिकमाथि नै हुथी विद्रोहीले आक्रमण गरिरहेको बताए ।
नागरिक र उनीहरुको सम्पत्ति सुरक्षाका लागि गठबन्धनले हुथी विद्रोही विरुद्ध जस्तोसुकै कारबाही गर्न सक्ने पनि मलिकीले चेतावनी दिएका छन् ।
पछिल्ला दिनहरुमा साउदी अरेबियाका दक्षिणी क्षेत्रमा रहेका विमानस्थलहरुमा हुथी विद्रोहीहरुले ड्रोनबाट आक्रमण गरिरहेका छन् ।

nema
Show More

Related Articles

Back to top button