भारत प्रशासित जम्मू कश्मीरमा सुरक्षाकर्मीले सर्वसाधरणमाथि ब्यापक हातपात गरेको आरोप लागेको छ ।
सर्बसाधारणलाई बिजुलीको झट्का दिइनुका साथै लाठी र तारहरुको प्रहार गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले दाबी गरेका हुन्।
तर भारतीय सेनाले भने उक्त आरोप झुटो र वास्तविक्ताभन्दा टाढा रहेको टिप्पणी गरेको छ।
अगस्ट ५ मा भारतको केन्द्र सरकारले जम्मू कश्मीरले पाउँदै आएको विशेष राज्यको दर्जा समाप्त गर्दै जम्मू कश्मीरलाई विभाजन गरेको थियो। त्यसयता कश्मीरमा हजारौंको संख्यामा सेना तैनाथ गरिनुका साथै मानिसको हिँड्डुलमा प्रतिबन्ध लगाइदै आएको छ।
केन्द्र सरकारले विस्तारै प्रतिबन्धहरु फुकुवा गरेको बताएपनि अझैपनि कश्मीरमा शान्ति स्थापना हुन सकेको छैन ।
विभिन्न रिपोर्टहरुका अनुसार कश्मीरमा पूर्व मुख्यमन्त्रीहरुलाई नजरबन्दमा राखिनुका साथै करिब ३ हजार व्यक्तिलाई नियन्त्रणमा लिइएको छ।
कश्मीरमा शान्ति कायम गर्न ती व्यक्तिहरुलाई नियन्त्रणमा राखिएको केन्द्र सरकारको तर्क छ। भारतको केन्द्र सरकारले संविधानको धारा ३७० खारेज गरेपछि तनाव उत्पन्न भएको हो ।
